सवारी साधनमा लगानी घट्दा राजस्व असुलीमा असर



वीरगन्ज, (नेस)
बैंक तथा वित्तीय संस्थाले सवारी साधनमा ऋण लगानी कम गरेपछि त्यसको असर वीरगन्ज भन्सार कार्यालयको राजस्व असुलीमा परेको भन्सार कार्यालयका अधिकारीले बताएका छन्।

विशेषगरी भारत तथा तेस्रो मुलुकबाट नयाँ सवारी साधनको आयातमा कमी आएका कारण वीरगन्ज भन्सार कार्यालयले गएको वैशाख महिनामा भन्सार विभागले लिएको लक्ष्य पूरा असफल भएको हो।

भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७३÷७४ को वैशाख महिनामा लक्ष्यभन्दा ८० करोड २५ लाख ७५ हजार रुपियाँ कम राजस्व संकलन गरेको हो।

गएको वैशाख महिनामा भन्सार विभागले ९ अर्ब ७ करोड २६ लाख ९० हजारको लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले लक्ष्यको ९१ प्रतिशत मात्र अर्थात ८ अर्ब २७ करोड एक लाख १५ हजार रुपियाँमात्रै राजस्व संकलन गरेको भन्सार कार्यालय प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो।

अघिल्लो आर्थिक वर्ष २०७२÷७३ को वैशाखमा भने वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा पाँच प्रतिशत अर्थात ४५ करोड ८८ लाख रुपियाँ बढी राजस्व संकलन गरेको थियो।

भारत तथा तेस्रो मुलुकबाट नयाँ सवारी साधनको आयातमा कमी आएपछि वैशाख महिनामा लक्ष्य अनुसारको राज्य संकलन गर्न नसकिएको भन्सार कार्यालय प्रमुख पोखरेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्