चालू तथा पुँजीगत बजेट खर्च हुन बाँकी



विमल विष्ट, डोटी

डोटीमा विनियोजित कुल बजेटको चालूगततर्फ ४० प्रतिशत र पुँजीगत तथा विकासे बजेट ५५ प्रतिशत खर्च हुन बाँकी रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ। सरकारले विकास निर्माणको कार्य समयमै सम्पन्न गर्न डेढ महिना अगाडि बजेट ल्याए पनि, डोटीमा बजेट खर्चको अवस्था विगतभन्दा खासै फरक देखिएको छैन।

चालू आर्थिक वर्षको १० महिना र बजेट विनियोजन भएको समय जोड्दा साढे ११ महिनाको समय बितिसके पछि डोटीमा ४५ प्रतिशतमात्रै पुँजीगत बजेट र चालूतर्फ ६० प्रतिशत खर्च भएको डोटीका कोष तथा लेखा नियन्त्रक ईश्वरप्रसाद श्रेष्ठले बताउनुभयो ।
डोटीमा गत वर्षभन्दा यो आर्थिक वर्षमा झण्डै डेढ महिनापछि बजेट ल्याइएको थियो। गत आर्थिक वर्षमा बजेट ल्याइएको करिब यसै अवधिमा ६६ प्रतिशतभन्दा बढी बजेट खर्च भएकोमा यसपटक अहिलेसम्मको अवधिमा ६३ प्रतिशतमात्रै बजेट खर्च भएको बताइएको छ। यस वर्ष डोटीमा राष्ट्रिय गौरवका आयोजना नभए पनि केहि महत्वपूर्ण कार्यक्रम आएका छन्। जसमध्ये लघु उद्यम विकास कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना रहेको कोष तथा लेखा नियन्त्रक श्रेष्ठले बताउनुभयो।

चालू आर्थिक वर्षमा डोटीका लागि चालूगत र पुँजीगततर्फ गरी कुल ५ अर्ब ५० करोड ६२ लाख ७ हजार ७ सय ५२ रुपियाँ विनियोजित गरिएको थियो। जसमा हालसम्म ३ अर्ब ४७ करोड ४१ लाख ४६ हजार ७ सय १९ खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्