बृहत् सुधारले नेपालको अर्थतन्त्र उक्सन्छ – विश्व बैँक



काठमाडौँ, ९ जेठ । नेपालको गरिबी उल्लेख्य रुपमा घटे पनि आर्थिक वृद्धिदर उच्च हुन नसक्दा नीतिगत बृहत् सुधारका कार्यक्रमले अर्थतन्त्रलाई उकास्ने एक प्रतिवेदनले औँल्याएको छ ।

विश्व बैंकले आज यहाँ सार्वजनिक गरेको ‘मध्यआयको मार्गमा नेपाल’ नामक उक्त प्रतिवेदनले उत्पादकत्व वृद्धि र लगानी प्रवद्र्धन गर्न नीतिगत सुधार अपरिहार्य भएको देखाएको छ । पूर्वाधार र सार्वजनिक क्षेत्रमा लगानी वृद्धि, दक्ष जनशक्ति उत्पादन तथा मानव पुँजी निर्माण, लगानीमैत्री नीति, विद्युत् उत्पादनमा विशेष प्राथमिकता, एकीकृत कृषि विकास र व्यावसायिक तथा सीपयुक्त शिक्षाको विकासबाटै आर्थिक वृद्धिदर बढोत्तरीमा मद्दत पुग्ने प्रतिवेदनले सुझाएको छ ।

बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोसिकले नीतिगत व्यवधानको अन्त्य, आर्थिक वृद्धिका नयाँ स्रोतको निर्माण, उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग र जनतामा लगानी बढाउन सके आर्थिक वृद्धिको बाटामा अग्रसर हुन सकिने बताउनुभयो । “कतार जानुभन्दा नेपालकै विद्युत् परियोजनामा काम गर्ने वातावरण निर्माण गर्न अपरिहार्य भएको छ”, खाडी मुलुक र मलेसियाका वैदेशिक रोजगारीबाट भन्दा अहिले नेपालमा नै रोजगारीका अवसर निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो । भूकम्पपछिको पुनःनिर्माणलगायत नेपालमा कामका अवसर रहेका र थप रोजगारीका क्षेत्र सिर्जना गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्