१० महिनामा २ खर्ब नाघ्यो भन्सार राजस्व



हेमन्त जोशी, काठमाडौं

चालू आर्थिक वर्ष २०७३⁄७४ को १० महिना अवधिमा भन्सारमार्फत् २ खर्ब ११ अर्ब ७ करोड २२ लाख रुपियाँ बराबरको राजस्व संकलन भएको छ। भन्सार राजस्वको कुल लक्ष्यमा ८६ दशमलब ५ प्रतिशत राजस्व असुली भएको भन्सार विभागले जनाएको छ।

हालसम्मको कुल राजस्व संकलनमा वैशाख महिनामा मात्र ८ दशमलब ४२ प्रतिशत राजस्व संकलन भएको छ। वैशाखसम्म १० महिना अवधिमा भन्सार राजस्व असुली लक्ष्यभन्दा ६ दशमलब २३ प्रतिशत बढी राजस्व उठेको भन्सार विभागका तथ्यांक शाखा प्रमुख विनोदशरण आचार्यले जानकारी दिनुभयो। यस अवधिमा लक्ष्यभन्दा करिब १२ अर्ब ४२ करोड ३० लाख ४८ हजार रुपियाँ बढी संकलन भएको हो। गत आर्थिक वर्ष २०७२⁄७३ को सोही अवधिसम्मको तुलनामा भने यस वर्ष राजस्व असुली ४६ दशमलव ६५ प्रतिशतले वृद्धि भएको छ।

देशका विभिन्न २३ वटा भन्सार कार्यालयमार्फत् उक्त रकम असुली भएको हो। चालू आर्थिक वर्षमा २ खर्ब ४६ अर्ब ४ करोड ९० लाख ८८ हजार राजस्व भन्सारमार्फत् संकलन गर्ने सरकारको लक्ष्य छ। राजस्व असुली रकम चालू आर्थिक वर्षको वार्षिक लक्ष्यभन्दा ३४ अर्ब ३२ करोड ६२ लाख ७८ हजार रुपियाँले कम हो भने वैशाख महिनासम्मको राजस्व असुली लक्ष्यभन्दा ६ दशमलब २३ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ। जसअन्तर्गत वैशाख महिनामा मात्र २० अर्ब ७१ करोड ४ लाख ८३ हजार रुपियाँ संकलन भएको छ।

चालू आर्थिक वर्षको चैत महिनासम्म ९ वटा भन्सार कार्यालयले लक्ष्यभन्दा निकै कम राजस्व असुली गरेका छन्। भन्सार विभागको तथ्यांक अनुसार त्रिभुवन विमानस्थल, तातोपानी, सर्लाही, सिराहा, राजविराज, विराटनगर र सुनसरी भन्सार कार्यालयले लक्ष्यभन्दा कम राजस्व संकलन गरेका छन्। वार्षिक रूपमा ५० अर्ब रुपियाँ बराबरको व्यापारिक कारोबार र झण्डै ४ अर्ब राजस्व संकलन गर्ने तातोपानी भन्सार नाकाको राजस्व संकलन दुई वर्षदेखि शून्य छ।
विराटनगर भन्सार कार्यालयले लक्ष्यभन्दा ४८ करोड ८५ लाख ७७ हजार रुपियाँ कम राजस्व संकलन गरेको छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले लक्ष्यभन्दा करिब १९ करोड ४ लाख ९ हजार रुपियाँ कम राजस्व असुल गरेको छ।

रसुवा, नेपालगन्ज, भैरहवा, जलेश्वर, कैलाली लगायतका भन्सार कार्यालयबाट भने लक्ष्यभन्दा बढी राजस्व संकलन भएको छ। भैरहवा भन्सार कार्यालयले लक्ष्यभन्दा १९ दशमलब ७८ प्रतिशतले बढी राजस्व संकलन गरेको छ। जुन रकम चालू आर्थिक वर्षको वैशाखसम्ममा ११ अर्ब ११ करोड २८ लाख ९० हजार रुपियाँले बढी हो।

भन्सार प्रशासनले मूल्य अभिवृद्धि कर, भन्सार शुल्क र अन्तःशुल्क करमार्फत् सो रकम असुली गरेको हो। चालू आर्थिक वर्षमा १ खर्ब ४ अर्ब ७४ करोड ६८ हजार रुपियाँ लक्ष्य लिइएको भन्सार शुल्कमार्फत् वैशाख मसान्तसम्ममा ९२ अर्ब ६८ करोड ८५ लाख ६४ हजार रुपियाँ संकलन भएको छ। जुन रकम वैशाखसम्मको लक्ष्यमा ८ दशमलब ५० प्रतिशत तथा गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४८ दशमलब ३२ प्रतिशतले वृद्धि भएको हो।

मूल्य अभिवृद्धि कर (भ्याट) मार्फत १ खर्ब ५ अर्ब ३९ करोड १६ लाख २५ हजार असुली लक्ष्य लिइएकोमा ८७ अर्ब १२ करोड ४७ लाख ३७ हजार रुपियाँ संकलन भएको छ। यो असुली रकम वार्षिक लक्ष्यमा ८८ दशमलब ४९ प्रतिशत हो। भ्याटमार्फत् राजस्व असुली वैशाखसम्मको लक्ष्यमा २ दशमलब ६ प्रतिशत र गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा ४४ दशमलब ३१ प्रतिशतले बढी हो।

त्यस्तै अन्तःशुल्क करमार्फत् ३५ अर्ब ९१ करोड ७३ लाख ९५ हजार वार्षिक लक्ष्य लिइएकोमा १० महिना अवधिमा ३१ अर्ब ९० करोड ९५ लाख ९ हजार रुपियाँ संकलन भएको भन्सार विभागले जनाएको छ। अन्तःशुल्क करमार्फत् वार्षिक लक्ष्यमा वैशाखसम्मको ८८ दशमलब ८४ प्रतिशत असुल भइसकेको भन्सार विभागले जनाएको छ। अन्तःशुल्कमार्फत् हालसम्म असुली भएको राजस्व लक्ष्यमा ९ दशमलब ६८ प्रतिशत र गत आर्थिक वर्षको वैशाखसम्मको ४८ दशमलब ३९ प्रतिशतले वृद्धि भएको छ। भन्सारमार्फत् संकलन भएको राजस्वले मुलुकको कुल राजस्वको ४४ प्रतिशत र कर राजस्वको ५० प्रतिशत प्रतिनिधित्व गर्छ।

प्रतिक्रिया दिनुहोस्