उपभोक्ता मुद्रास्फीति बढ्यो



नेपाल र भारतबीच मुद्रास्फीति अन्तर शून्य दशमलब ८ प्रतिशत
नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको नौ महिनामा उपभोक्ता मुद्रँस्फीति ३ दशमलब ८ प्रतिशत कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अघिल्लो महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलब ९ प्रतिशत रहेकोमा यस महिनामा वृद्धि भएको हो।

गत वर्षको सोही अवधिमा भने ९ दशमलब ७ प्रतिशत रहेको थियो। गत वर्षको आधार मूल्यको प्रभाव र आपूर्ति व्यवस्थामा आएको सुधारका कारण गत वर्षको तुलनामा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा कमी आएको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति शून्य दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ९ दशमलब ३ प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको दलहन तथा गेडागुडीको मूल्यमा १० प्रतिशत, तरकारीको मूल्यमा ९ दशमलब ७ प्रतिशत, घ्यू तथा तेलको मूल्यमा ३ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यमा शून्य दशमलब ३ प्रतिशतले कमी आएकाले समग्र खाद्य मुद्रास्फीति न्यून रहन गएको हो। समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १३ दशमलब ९ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै गैर–खाद्य मुद्रास्फीति ६ दशमलब ३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा गैर–खाद्य मुद्रास्फीति १० प्रतिशत रहेको थियो। यस समूहअन्तर्गतको लत्ताकपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा, सञ्चार, यातायातलगायतका वस्तुहरूको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकाले गैर–खाद्य मुद्रास्फीति कम रहन गएको हो।
यसैगरी क्षेत्रगत आधारमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५ दशमलब ६ प्रतिशत, तराईमा ३ दशमलब ४ प्रतिशत, हिमालमा २ दशमलब ८ प्रतिशत र काठमाडौं उपत्यकामा २ दशमलब ७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर पहाडमा १० प्रतिशत, तराईमा ८ दशमलब ३ प्रतिशत, हिमालमा ८ प्रतिशत र काठमाडौं उपत्यकामा ११ दशमलब ७ प्रतिशत रहेको थियो।

उता भारतको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३ प्रतिशत रहेकोमा नेपालको मुद्रास्फीति ३ दशमलब ८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा यी दुई मुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर शून्य दशमलब ८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोहीमुलुकबीचको उपभोक्ता मुद्रास्फीति अन्तर ४ दशमलब ३ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति दर १ दशमलब २ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलब ५ प्रतिशत रहेको थियो।

थोक मूल्यअन्तर्गत कृषिजन्य वस्तुको मूल्य सूचकांक शून्य दशमलब १ प्रतिशत, स्वदेशमा उत्पादित वस्तुको मूल्य सूचकांक ४ प्रतिशत र आयातित वस्तुको मूल्य सूचकांक १ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कृषिजन्य वस्तुहरूको मूल्य सूचकांक ९ दशमलब २ प्रतिशत र स्वदेशमा उत्पादित वस्तको मूल्य सूचकांक ६ दशमलब २ प्रतिशतले वृद्धि भएको थियो भने आयातित वस्तुको मूल्य सूचकांक २ दशमलब ९ प्रतिशतले घटेको थियो

प्रतिक्रिया दिनुहोस्