फोहोर व्यवस्थापन गर्न किसानलाई क्रेट वितरण



दीपेन्द्र थापा, काठमाडौं

उपत्यकामा भित्रीने बन्दा र काउलीबाट निस्कीने फोहोर व्यवस्थापन गर्न कृषि मन्त्रालयले किसानलाई क्रेट वितरण गर्ने भएको छ । राजधानीबासीले झेल्दै आएको तरकारीबाट निश्किने फोहोरमा कमि ल्याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कालिमाटी फलफूल तथा तरकारी बजार विकाश समितिले क्रेट किन्ने तयारी थालेको हो।

कृषि विकाश मन्त्रालयले प्रधान्मन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत क्रेट खरीदका लागि करिब ४५ लाख रुपियाँ छुट्याएको कालिमाटी फलफूत तथा तरकारी बजार विकाश समितिका अध्यक्ष काशीराज दाहालले बताउनुभयो । उपभोक्ताले काउलीमा फूलको भन्दा पातको मात्रा बढी भएको भन्दै गुनासो गर्ने गरेको भन्दै दाहालले यसरी काउलीको पात किसानकै बारीमा छोडेर आउँदा किसानले कम्पोस्ट मलका रुपमा प्रयोग गर्न सक्ने र उपोभोक्तालाई पात मार्फतको मुल्य पनि कम पर्ने बताउनुभयो।

बन्दा र काउली बिक्री वितरणका लागि बजारमा ल्याउँदा ठुलो मात्रामा पात पनि बजारमा आउने हुँदा त्यसले फोहोर व्यवस्थापनमा निम्ताएको समस्या न्युनीकरणका गर्न, गुणस्तर र स्वच्छता कायम गर्न उक्त कदम चालिएको कालिमाटी फलफूल तथा तरकारी बजार विकाश समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेले बताउनुभयो । यसअघि किसानहरुले उपत्यकामा तरकारी पठाउँदा डोको प्रयोग गर्ने गरेका थिए । क्रेटमा तरकारी राख्दा तरकारी सफा र सुरक्षित रहनुका साथै उपत्यकामा ती वस्तुहरुबाट सिर्जीत फोहोर मा कमी आउने पौडेलले बताउनुभयो ।

पहिलो चरणमा काउली र बन्दा उत्पादन बढी भएका क्षेत्रहरुबाट खरीद गर्ने क्रममा नै उनीहरुलाई सहकारी र समुह मार्फत क्रेट वितरण गरिने छ। उक्त कार्यको व्यवस्थापनका लागि प्याकेजिङ र ग्रेडिङ केन्द्र स्थापना गरिने छ भने उक्त केन्द्रहरुको अनुगमन कार्यका लागि कालिमाटी फलफुल तथा तरकारी बजार विकाश समितिले छुट्टै अनुगमन समिति समेत बनाउने छ।

कृषक हरुलाई क्रेट निशुल्क रुपमा उपलब्ध गराउने वा सहुलियत मुल्य तोकेर वितरण गरिने भन्ने कुराको निर्क्यौल भर्ईनसकेको कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले बताउनुभयो । नेपाल समाचारपत्रसंग कुरा गर्दै उहाँले भन्नुभयो ‘ निशुल्क रुपमा भन्दा निश्चित मुल्य राखेर सहुलियतमा क्रेट बेच्दा किसानहरु बढी उत्तरदायी हुने भएकोले २५ प्रतिशतसम्म शुल्क राखेर वितरण गरिनेछ ।’

वितरण गर्न लागिएका क्रेटहरु २० देखि २५ किलो ग्राम क्षमताका रहनेछन भने प्रतिक्रेट मुल्य हजार देखि १५ सयसम्म पर्नेसक्ने अनुमान गरिएको छ । किसानलाई विरतरण गर्न लागिएको क्रेटहरु कृषि विकाश मन्त्रालयले खरिद गरेर कालिमाटी बजार विकाश समितिलाई हस्तान्तरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्