खोटाङलाई फेरि प्रबासबाट एम्बुलेन्स उपहार



खोटाङ, (नेस)
प्रबासी खोटाङेहरुले जिल्लाको लागि एम्बूलेन्स उपलव्ध गराएको छ । खोटाङ सेवा समाज यूकेले एकैसाथ ७ वटा एम्बूलेन्स उपलब्ध गराएको महिना दिनपछि खोटाङ सेवा समाज दोहा कतारले पनि थप एक वटा एम्बूलेन्स जिल्लालाई उपलब्ध गराएको हो ।

अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनुपर्ने दुरदराजका सर्वसाधारणको बाध्यता अन्त्यका लागि प्रबासबाट एम्बूलेन्स प्रदान गरिएको खोटाङ सेवा समाज दोहा कतारका सचिव पर्शुराम श्रेष्ठले बताउनुभयो । कतार, मलेसिया, साउदी, कोरिया लगायतका देशमा कार्यरत युवाबाट संकलन गरेको १८ लाख रकमबाट एम्बुलेन्स खरिद गरिएको हो ।

खोटाङ सेवा समाजले शुक्रबार दिक्तेलस्थित श्रेष्ठ होटलमा एक कार्यक्रम गरेर जिल्लामा सञ्चालन गर्न खोटाङ एकता सेवा समाजलाई एम्बूलेन्स हस्तान्तरण गरेको छ । दुर्गम गाउँमा बसोबास गर्ने निम्न आर्थिक स्तरका बिरामीलाई आकस्मिक उपचारका लागि प्राथमिकताका साथ अस्पतालसम्म पुर्याउने व्यवस्थाका लागि एम्बूलेन्स जुटाइएको खोटाङ सेवा समाज दोहा कतारका उपाध्यक्ष रुद्र शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्