भारु सटही अझै अन्योल



दिपेन्द्र थापा, काठमाडौं
प्रतिबन्धित पाँच सय र हजार दरका भारु नोट सटहीका लागि भारत सरकार अझै मौन रहँदा ती नोट साटिने विषय अझै टुंगो लागेको छैन।

नेपाली पक्षले औपचारिक पत्र पठाएको एक महिना बितिसक्दा पनि भारत सरकारले यस विषयमा निर्णय नगर्दा नेपालमा रहेका ती भारतीय रुपियाँ सटही प्रक्रिया अन्योलमा परेको हो।

नेपाल राष्ट्र बैंकले एक महिनाअगाडि नै प्रतिबन्धित भारु सटहीको पत्र रिजर्व बैंक अफ इन्डियालाई पठाएको नेपाल राष्ट्र बैंकका वैदेशिक विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले जानकारी दिनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘भारतीय पक्षले ३ दिन भित्रै पत्र पठाउनुपर्ने भने पनि हामीले १ हप्तापछि मात्र पत्र पठाएका थियौं। नेपाल सरकारसँग सहमति लिएर पत्र पठाउँदा ढिला भएको कारण भारतले अझै प्रतिक्रिया दिएको छैन।’

भारतमा ती दरका नोटमा प्रतिबन्ध लगाएको ६ महिना बितिसक्दा पनि नेपालमा रहेको प्रतिबन्धित नोट कहिले सटही हुने भन्ने विषय अझै टुङ्गो लागेको छैन। दोस्रो चरणमा गत चैत १५ आएको भारतीय टोलीले ३ दिनभित्रै सटहीको प्रक्रियाका लागि औपचारिक पत्र पठाउन भनेको थियो। तर राष्ट्र बैंकले ढिला गरी १ हप्तापछि प्रतिव्यक्ति ४ हजार ५ सय भारु सटहीका लागि औपचारिक पत्र पठाएको थियो।

यस विषयमा छलफल गर्न गत चैत १५ गते रिजर्व बैंक अफ इन्डिया (आरबीआई)का कार्यकारी निर्देशक डा. दिपाली पन्त जोशीको नेतृत्वमा नेपाल आएको एक टोलीले प्रतिव्यक्ति ४ हजार ५ सय दरमा भारु सटहीको प्रस्ताव राखेको थियो। तर नेपाली पक्षले जनही २५ हजार भारु सटहीका लागि माग गरेपछि त्यतिको मात्रामा साट्न नसकिने भन्दै स्वदेश फर्किएको थियो।
यस विषयमा रिजर्व बैंक अफ इन्डियाले सटहीको सिफारिस फाइल भारत सरकारलाई पठाइसकेको भए पनि भारत सरकारबाट निर्णय नहुँदा सटही प्रक्रिया अगाडि बढ्न नसकेको हो।

पहिलो चरणमा वार्ताका लागि फागुन १७ गते आरबीआईको टोली नेपाल आएको थियो। अनधिकृत र अवैध कालोधन निर्मूल पार्ने नाममा भारत सरकारले गत कात्तिक २३ गते पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो। भारतले नेपालमा साना दरका नोटमासमेत कडाइ गरेपछि भारु संकट थप जटिल बनेको हो। राष्ट्र बैंकका अनुसार हाल नेपाली बैंकिङ प्रणालीमा पाँच सय र १ हजार दरका ७ करोड ८४ लाख भारतीय रुपियाँ रहेको छ भने बैंकिङ प्रणाली बाहिर ठूलै परिणाममा हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्