आईओसीसँग सहमति भएको छैन ः निगम



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल आयल निगमले नमुना पम्प निर्माणका लागि कुनै खालको समझदारी भारतीय आयल निगमसँग नभएको जनाएको छ। नेपालमा स्मार्ट पम्प निर्माणमा भारतीय पक्षले प्राविधिक सहयोग रहेपनि साझेदारी नरहने नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताउनुभयो।

खड्काले आईओसीसँग कुनै किसिमको साझेदारी र सम्झौता गरेको नभई नयाँ प्रविधि र प्रयोगका बारेमा अनौपचारिक छलफल भएको बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘आईओसीले प्राविधिक सहयोग गर्ने हो, अरू सबै नेपाल आयल निगमले आन्तरिक व्यवसायीहरूबाट नै निर्माण गराउने हो। यसमा स्वदेशी लगानीकर्ताहरूले किन विरोध गरेको हो हामीले बुझ्न सकेका छैनौं।’

खड्काले आफ्नो कार्यकालमा कुनै मुलुकसँग पनि पेट्रोलियम पदार्थको आयात, ढुवानी, भण्डारण र वितरणमा एकाधिकार र साझेदारी हुन नदिने भन्दै आईओसीको टोलीले नेपालमा पेट्रोल पम्महरूमा प्रविधि र गुणस्तर विकाशका लागि प्राविधिक रूपमा मात्रै सहयोगका लागि चासो देखाएको स्पष्ट पार्नुभयो।

त्यस्तै निगमले सुरक्षाका लागि पेट्रोलपम्पहरूमा बीमालाई अनिवार्य गर्ने कार्यका लागि आन्तरिक तयारीसमेत थालेको छ। व्यस्त सडक र मानव बस्ती भएका ठाउँमा निर्माण गरिएका पम्पहरूबाट सम्भावित घटना घट्न नदिन पम्पहरूको बीमा अनिवार्य गर्न लागिएको निगमले जनाएको छ। आगल निगमले निर्माण गर्नलागेका नमुना पम्पहरू सडक र मानवबस्तीबाट केही टाढा खुला ठाउँमा निर्माण गरिनेछन्। जसले गर्दा सवारी आवत जावतमा समस्या हुनेछैन भने सम्भावित आगलागीलगायतका घटनाहरूबाट हुनसक्ने भौतिक र मानवीय क्षतिलाई पनि ध्यानमा राखेको निगमले जनाएको छ।

गत चैतमा आपूर्ति मन्त्रालय र आईओसीबीच भएको पाँच वर्षे इन्धन नवीकरण सम्झौताका क्रममा स्मार्ट पम्प निर्माणका लागि नेपालले चासो देखाएको थियो। सोही कुराको सम्भाव्यता अध्ययनका लागि भारतीय टोली यो साता नेपाल आएको हो।

आपूर्ति मन्त्रालयका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले आईओसीको टोलीले भ्रमणका क्रममा ३ देखि ५ वटा नमुना पम्म निर्माणमा चासो देखाएको तर नेपाली टोलीले १ सयवटा भन्दा बढी पम्प निर्माण गर्न आग्रह गरे पनि त्यति ठूलो लगानी गर्न आईओसीले नचाहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्