रसुवागढी नाका ४ दिन बन्द



काठमाडौं, (नेस)
आसन्न स्थानीय तहको निर्वाचनको पहिलो चरणमा सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै रसुवागढी भन्सार नाका पूर्णरूपमा बन्द भएको छ। रसुवा जील्लाका प्रमुख जिल्ला अधिकारी चोलेन्द्र न्यौपानेले केन्द्रीय सुरक्षा नीतिअनुसार नाका ४ दिनसम्मका लागि पुर्णरूपमा बन्द गरेको बताउनुभयो।

निर्वाचनलाई शान्तिपुर्ण, मर्यादित र घुसपैठ हुन नदिन निर्वाचनका क्रममा कर्मचारीलगायत सबै व्यक्ति मतदानमा खटिने हुँदा अवैध र गैरकानुनिक रूपमा वस्तु निकासी पैठारी हुनसक्ने र आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति सीमापारी भाग्न सक्ने भएकाले चिनियाँ सुरक्षाकर्मीहरूसँग पनि निरन्तर सूचना आदान प्रदान भइरहने न्यौपानेले बताउनुभयो।

गत मंगलबार रसुवाका प्रमुख जिल्ला अधिकारी र चिनियाँ समकक्षीबीच निर्वाचनका क्रममा सम्भावित अमर्यादित र घुसपैठका घटनाहरू रोक्न वैशाख २७ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म नाका पूर्णरूपमा बन्द हुने भनी सहमति भएको थियो।

भन्सार विभागका सूचना अधिकारी कुलराज ज्ञवालीले तराईका जिल्लाहरू छोएको प्रदेशहरूमा आगामी जेठ ३१ गतेका लागि निर्वाचन तय भएकाले भारतीय सीमा भने बन्द नहुने बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै ज्ञवालीले भन्नुभयो– ‘दोस्रो चरणको निर्वाचनका लागि मात्र भारतीय सीमाहरू बन्द हुनेछन्, अहिले रसुवागढी नाकामात्र बन्द हुने हो।’ द्विपक्षीय व्यापारका लागि चीनसँगको नाका बन्द भए पनि भन्सार यार्डमा आइपुगेका सामान जाँचपासका लागि भन्सार कार्यालय भने खुला रहने रसुवागढी भन्सार कार्यालय प्रमुख केदार पनेरुले बताउनुभयो

प्रतिक्रिया दिनुहोस्