घट्दै चिनीको मूल्य



हेमन्त जोशी, काठमाडौं

साल्ट ट्रेडिङ कर्पोरेसनले भन्सार छुट मार्फत ल्याउन लागेको ३० हजार मेट्रिक टन चिनी जेठ पहिलो साताभित्र आइपुग्ने भएपछि आकासिएको चिनीको मूल्य घट्ने भएको छ। आयातित चिनी साल्ट ट्रेडिङले प्रतिकिलो ८० देखि ८२ रुपियाँसम्ममा बिक्री वितरण गर्नेभएपछि हालको मूल्यमा ५ देखि १० रुपियाँसम्म मूल्य घट्ने छ।

साल्ट ट्रेडिङले १ प्रतिशत भन्सार छुट मार्फत ल्याउन लागेको ५० हजार मेट्रिक टन चिनी आइतबारसम्म नेपाल भित्रिने भएको छ। साल्ट ट्रेडिङ कर्पोरेसनका प्रवक्ता कुमार राजभण्डारीले चिनी ढुवानीका क्रममा रहेको र आइतबारसम्म वीरगन्ज नाकासम्म आइपुग्ने बताउनुभयो।

यसअघि गत माघमा उखुको मूल्य बढेको र बजार मागअनुसार चिनी आपूर्ति हुन नसकेको भन्दै निजी क्षेत्रका व्यवसायीहरूले चिनीको मूल्य प्रतिकिलो ९५ देखि १ सय रुपियाँसम्म पु¥याएका थिए। अहिले भन्सारछुट मार्फत ल्याउन लागिएको चिनीको मूल्य प्रतिकिलो ८० देखि ८५ रुपियाँ पर्ने राजभण्डारीले बताउनुभयो। उक्त बढेको मूल्य घटाउन साल्ट ट्रेडिङले सरकारसँग भन्सार छुटमा चिनी आयातका लागि अनुमति मागेको थियो।

गत माघदेखि बजारमा चिनीको अभाव भएको भन्दै निजीक्षेत्रले मनोमानी रूपमा मूल्य बढाएपछि साल्ट ट्रेडिङले सरकारसँग ५० हजार मेट्रिक टन चिनी १ प्रतिशत भन्सार छुटमा आयातका लागि अनुमति मागे पनि ३० हजार मेट्रिक टन चिनीको आयातका लागि मात्रै अनुमति पाएको थियो।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग र उद्योग विभाग र उपभोक्ताकर्मीले गरेको गरेको अध्ययन अनुगमनमा भने उखुको मूल्य बढेको भन्दै मूल्य बढाएको उद्योगहरू र निजीक्षेत्रले अत्याधिक रूपमा चिनीको मौज्दात राखेको र बजारमा कृत्रिम अभाव देखिएको भनि प्रतिवेदन बुझाएको छ। चिनी उद्योगहरूले लागतमा अत्याधिक नाफा खाएको खाएको भेटिएको प्रतिवेदनमा उल्लेख छ।

मागअनुसार बजारमा चिनी कम भएको र स्वदेशी उद्योगहरूले उखुको मूल्य बढेको भन्दै चिनीको मूल्य घट्ने प्रवक्ता राजभण्डारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्