विश्वप्रसिद्ध वेब सिरिज ‘स्ट्रेन्जर थिङ्स’को पाँचौँ तथा अन्तिम सिजन सार्वजनिक भएपछि दर्शकमाझ ठूलो उत्साह देखिएको छ। नयाँ सिजन हेर्न एकैपटक ठूलो सङ्ख्यामा दर्शक नेटफ्लिक्समा प्रवेश गर्दा स्ट्रिमिङ प्लेटफर्ममा प्राविधिक समस्या आएको चर्चा भएको थियो।
‘स्ट्रेन्जर थिङ्स’को पाँचौँ सिजनका पहिलो चार एपिसोड २६ नोभेम्बर २०२५ मा अमेरिकी समयअनुसार साँझ ५ बजे सार्वजनिक भएका थिए। नेपाललगायत एसियाली देशमा भने नोभेम्बर २७ देखि हेर्न मिल्ने गरी सार्वजनिक गरिएको थियो। यो सिरिजको अन्तिम सिजन हो।
सिजन सार्वजनिक भएको केही मिनेटमै अमेरिकामा नेटफ्लिक्स प्रयोगकर्ताले स्ट्रिमिङमा समस्या भोगेका थिए। केही दर्शकको टेलिभिजनमा सिरिज नचलेको, स्क्रिनमा त्रुटिको सन्देश देखिएको र अकाउन्ट जोडिन नसकेको गुनासो आएको थियो।
आउटेज निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार समस्या सार्वजनिक हुनासाथ नेटफ्लिक्सबारे उजुरीको सङ्ख्या तीव्र रूपमा बढेर करिब १४ हजार २९० पुगेको थियो। तर केही मिनेटमै धेरै प्रयोगकर्ताका लागि सेवा पुनः सञ्चालनमा आएको थियो।
नेटफ्लिक्सले पनि आफ्ना केही सदस्यले टेलिभिजन डिभाइसमा छोटो समयका लागि स्ट्रिमिङ समस्या भोगेको स्वीकार गरेको थियो। कम्पनीका अनुसार पाँच मिनेटभित्रै सबै प्रभावित अकाउन्टमा सेवा सामान्य अवस्थामा फर्किएको थियो।
‘स्ट्रेन्जर थिङ्स’को पाँचौँ सिजनलाई तीन भागमा विभाजन गरेर सार्वजनिक गरिएको थियो। पहिलो भागमा चार, दोस्रो भागमा तीन र अन्तिम भागमा एउटा लामो एपिसोड समावेश थियो। सिरिजको अन्तिम कथामा इलेभेन र उनका साथीहरूले भेचनाविरुद्ध निर्णायक लडाइँ लडेको देखाइएको छ








तपाईंको विचार लेख्नुहोस्