कुलुङ भाषा साहित्यमा एक इँटा ‘रिदुम सम्सुराम’


भाषा तथा जातिसम्बन्धी जानकारहरु के भन्ने गर्छन् भने, विश्वमा नयाँ जाति र भाषा बन्न कम्तीमा पनि हजार–बाह्र सय वर्ष लाग्ने गर्छ । मूल विषयतिर लागौं । हाम्रो देशमा चाहिँ ‘जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग’ आदि विविधता हुनु कतै घातक पो हो कि ! भनी प्रश्न गर्नुपर्ने र गम्भीर भएर घोत्लिनुपर्ने देखिन्छ । किनभने, विगतका राष्ट्रिय जनगणनामा आएका जातजाति, भाषाभाषी र धार्मिक समूहको फरक–फरक तथ्याङ्कलाई कतिपय अवस्थामा सरकारले लुकाउने गथ्र्यो ।

ऊ बेला कताकति नेपालमा बोलिने भाषाभाषी र धार्मिक समूहको तथ्याङ्क प्रकाशित गर्ने गरेको देखिए पनि धेरैजसो समयमा जातजाति एवं धार्मिक समूहको तथ्याङ्कचाहिँ प्रकाशित गरिँदैनथ्यो । वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछिको राष्ट्रिय जनगणनाको तथ्याङ्क सार्वजनिक गर्ने क्रममा बल्ल जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग आदिको तथ्याङ्कलाई सार्वजनिक रुपमा प्रकाशित गर्न थालियो ।

सो अनुसार वि.सं. २०५८ को १० औं राष्ट्रिय जनगणनामा आएका ६० जातजाति एवं ९१ भाषाभाषीको तथ्याङ्क सार्वजनिक भएको थियो । फलतः वि.सं. २०६८ मा भएको ११ औं राष्ट्रिय जनगणनामा १२५ जातजाति र १२३ भाषाभाषीको तथ्याङ्क प्रकाशित भएको थियो भने वि.सं. २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ १४२ जातजाति, १२४ भाषाभाषी र १० वटा धार्मिक समूहको तथ्याङ्क प्रकाशित भएको छ ।

हो, वि.सं. २०६८ मा भएको ११ औं राष्ट्रिय जनगणनामा उल्लिखित १२५ जातजाति र १२३ भाषाभाषी एवं वि.सं. २०७८ को १२ औं राष्ट्रिय जनगणनामा आएका १४२ जातजाति अनि १२४ भाषाभाषीको तथ्याङ्कले देखाएको जातिमध्ये एक हो ‘कुलुङ जाति ।’ तैपनि तत्कालीन श्री ५ को सरकार, स्थानीय विकास मन्त्रालयमातहत गठन गरिएको, पहिले जनजाति विकास समिति र पछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) को ६१ र ५९ जाति (जनजाति विकास समिति हुँदा ६१ र पछि आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भएपछि ५९) को सूचीमा नपरेको हुनाले गर्दा अहिलेसम्म नेपालका प्राध्यापक, डाक्टर, प्राज्ञ, विज्ञ आदिले कुलुङ जातिलाई चिन्दैनन् ।

त्यसो भएपछि भुइँ तहका मानिसले झनै कसरी चिनून्–जानून्, किराती महाजातिभित्रका कुलुङ जातिलाई ?
यसरी हेर्दा कुलुङ जातिलाई नेपालका विज्ञ अर्थात् प्राध्यापक, डाक्टर, प्राज्ञ, विद्, कार भनिनेहरुले नै नचिने तापनि कुलुङ जातिका अगुवा, बुद्धिजीवी, जिज्ञासु अनि कुलुङ जातिको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गुसखम)’ ले चाहिँ जति सकेको काम गर्दै आएको छ, आफ्नो जातिको जातीय स्वपहिचान, चिनारी, भाषा, संस्कार, संस्कृति, भेषभूषा, चाडपर्व, रहनसहन, पम्परागत कानुन, ऐतिहासिक स्थल, सम्पदा संरक्षण, बाजागाजा, गीत, कथा, कविता, नाटक, वंश–परम्परा आदिको चिनारी, संरक्षण र संवद्र्धन एवं अभिलेकीकरण गर्दै आएको छ । यसै सन्दर्भमा यो छोटो लेखमा कुलुङ भाषाको (सम्भवतः पहिलो) नाटक ‘रिदुम सम्सुराम’ (संस्कृति संरक्षण गरौं) नामक नाटकबारे थोरै लेखिनेछ ।

धेरै वर्षअघिदेखि कुलुङ जातिका लागि हरेक क्षेत्रबाट जे सकेको काम गर्दै आउनुभएका एक होनहार र कर्तव्यनिष्ठ युवा दीपेन्द्रकुमार थोप्पा कुलुङले लेख्नुभएको कुलुङ भाषाको (माथि नै भनियो सम्भवतः पहिलो) नाटक ‘रिदुम सम्सुराम’ (संस्कृति संरक्षण गरौं) नामक नाटकबारे थोरै चर्चा गरौं । खासमा यो नाटक वि.सं. २०५७ को वैशाख महिनामै मञ्चन गरिएको थियो । जति बेला धरानको सैनिक मञ्चमा सो नाटक मञ्चन गरिएको थियो, त्यो बेलाको समयमा पनि लगभग ५५ हजार नगद संकलन भएको थियो । यातायात र खाजा खर्च कटाएर बचत भएको पैसाले ‘लाईस्पी तूम्खाम् हूक्छो’ (पहिलो भेटको उपहार) नामको कुलुङ मातृभाषाको दोस्रो गीति क्यासेट बजारमा (श्रोताहरुमाझ) ल्याइएको थियो ।

अहिलेसम्म कुलुङ भाषामा कुलुङ जातिको उत्पत्ति कथा, लोककथा, मिथक, वंशावली, संस्कार, संस्कृति, रीतिथिति, थर, उपथर, दप्पनीङ÷दप्स्नीङ, दोहोरो बोलीचाली कुलुङ–नेपाली, शब्दकोश, गीत, कविता, ललै, स्थान परिचय, व्यक्तित्व आदिबारे किताब वा स–साना पुस्तिका प्रकाशित भएको देखिन्छ । तर, नाटक, कथा, संस्मरण, यात्रा संस्मरण, निबन्ध, प्रबन्ध आदि अझै पनि किताब वा स–सानो पुस्तकाकारमा प्रकाशित भएका छैनन् जस्तो लाग्छ, यो पङ्तिकारलाई ।

त्यसैले गर्दा ढिलै भए पनि कुलुङ भाषाको नाटक ‘रिदुम सम्सुराम’ प्रकाशित हुनु आफैँमा राम्रो काम हो । यसका लागि धेरै वर्षअघिदेखि कुलुङ जातिका लागि हरेक क्षेत्रबाट जे–जति सकेको काम गर्दै आउनुभएका एक होनहार अनि कर्तव्यनिष्ठ युवा दीपेन्द्रकुमार थोरेप्पा कुलुङलाई हार्दिक नमन छ ।

यो नाटक (रिदुम सम्सुराम) लाई पुनः मञ्चन गर्नुपर्ने देखिन्छ । यसका लागि विभिन्न निकायहरुसँग समन्यय गरेर अगाडि बढ्नुपर्ने देखिन्छ । त्यो बेलाको समयमा संखुवासभा जिल्लाको विभिन्न विकट गाउँबाट पैदल यात्रा गरी धनकुटाको हिलेसम्म आई हिलेबाट धरानको बस यात्रा गरेर नाटकमा उत्साहपूर्वक भाग लिने कलाकारहरु– भरत थोरेप्पा, चन्द्रिका बार्सी, तुलाराम रीन्हो, भीम रीन्हो, खड्ग थोरेप्पा, विमला हारीम्बु, मनिता रीन्हो, प्रमिला बूक्खो, प्रेम तोमोछा, मालती थोरेप्पा, दुर्गा थोरेप्पा, सीता पोखोती, सबिन बूक्खो आदिलाई यो बेला विशेष सम्झनुपर्ने हुन्छ ।

त्यसका साथै व्यवस्थापकज्यूहरु, कृष्णबहादुर गान्खू, वीरचन्द्र रीन्हो, दुर्गादास तोमोछा, भरतलाल होनीत्तीलाई पनि हामीले सम्झनुपर्ने हुन्छ । हाल यो धरतीलाई सँधैका लागि छाडेरपोम्लालूङ (स्वर्ग) बास गई सक्नुभएका कृष्णबहादुर गान्खू, वीरचन्द्र रीन्हो, भरतलाल होनीत्तीलाई विशेष सम्झना गर्नुपर्ने हुन्छ । उहाँहरु अहिलेसम्म जीवितै रहनुभएको भए यो नाटक (रिदुम सम्सुराम) लाई पुस्तकाकारमा प्रकाशित भएको सुन्दा वा देख्दा उहाँहरु कति प्रफुल्लित हुनुहुन्थ्यो होला, खुशीले कति गदगद् हुनुहुन्थ्यो होला ? हामीले कल्पना मात्रै गर्न सक्छौं ।

अन्त्यमा भन्नुपर्दा यसअघि नै ‘लाईस्पी तूमखाम हूक्छो’ गीति क्यासेट संंयोजन २०५८, ‘नेपालको जातीय चिनारी, २०५८’ र ‘चाचो (कूलू नागी) २०६७’ जस्ता कुलुङ जातिको जातीय चिनारीका साथै नेपालका जातजातिका सम्बन्धमा पनि कलम चलाइसक्नुभएका दीपेन्द्र थोरेप्पाले आगामी दिनमा अरु पनि कृतिहरु सिर्जना गर्नुहोला भन्ने आशा गर्न सकिन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।