वि.सं. २०८३ असार १० गते नागार्जुन नगरपालिकाको १३ औं नगरसभामा कार्यवाहक नगर प्रमुखद्वारा आ.व. ०८३÷८४ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत भएको थियो । २ अर्ब ५० करोड ४० लाख अनुमानित आयव्यय अनुमानसहितको नीति तथा कार्यक्रममा समग्रमा पछिल्लो बजेटकै विशेषताहरुलाई निरन्तरता दिएको देखिन्छ ।
विशेष गरी नेवाः देय् दबू जामाच्व नगर समितिले नागार्जुन नगरपालिकामा प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन, नेपालभाषामा नागरिक बडापत्र, नेपालभाषा पुस्तान्तरणको लागि भाषा प्रशिक्षण, स्थानीय पाठ्यक्रममा नेपालभाषा समावेश गर्ने विश्वास नेवार समुदायले लिएका थिए ।
नेपालको पहिचान र इतिहाससँग जोडिएको अमूर्त सम्पदा मातृभाषा नेपालभाषाको संरक्षणका सम्बन्धमा संविधानले भाषा, संस्कृति र ललितकला विकास स्थानीय सरकारको क्षेत्राधिकार तोकिएको छ तर संवैधानिक व्यवस्थाको अवमूल्यन गर्दै नागार्जुन नगरपालिकाले चालू आ.व. ०८२÷८३ मा एउटा पनि भाषा प्रशिक्षण कार्यक्रम नराखेकोमा आलोचना भएको थियो ।
चालू वर्षमा भाषा संरक्षणमा कतिसम्मको लापरबाही थियो भने नगरपालिकाभर एउटा पनि भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन नभएबाट प्रस्ट हुन्छ । आगामी आ.व. ०८३÷८४ नेपालभाषा शब्द कहीँ कतै उल्लेख नगरी सांस्कृतिक पहिचानलाई अस्वीकार गरेको भए तापनि कला, संस्कृति तथा पर्यटन प्रवद्र्धनमा बुँदा नं. २८ मा ‘कला, संस्कृति, भाषा, भेषभूषा, परम्परा तथा मौलिक पहिचानको संरक्षण गर्दै भावी पुस्तामा हस्तान्तरण कार्यक्रम सञ्चालन गरिनेछ’ भनी उल्लेख गरिएको छ ।
भाषा पुस्तान्तरणको कुरा उल्लेख गरिए तापनि कुन–कुन भाषा प्रशिक्षण सञ्चालन गर्ने भन्नेमा नीति तथा कार्यक्रम नै मौन रहेको हुँदा नागार्जुन नगरपालिकाको प्राथमिकतामा नपरेको स्पष्ट हुन्छ । भाषा प्रशिक्षणतर्फ नगरस्तरीय योजना तामाङ भाषा सिकाइमा रु. ५ लाख र वडास्तरीय योजनामा नेपालभाषा र लिपीमारु. २ लाख गरी जम्मा रु. ७ लाख मात्रै विनियोजन भएको देखिन्छ । भाषा संस्कृतिजस्तो संवेदनशील विषयमा समेत ज्यादै न्यून बजेट विनियोजन हुनु दुःखद पक्ष हो ।
तथापि नेवाः देय् दबू जामाःच्व नगर समितिको निरन्तर दबाब र समन्वयपश्चात् मात्र नागार्जुन नगरपालिकाले पहिलोपटक आ.व. ०८३÷८४ मा भाषा प्रशिक्षणलाई वार्षिक कार्यक्रममा समावेश गरेको थियो ।
संविधान प्रदत्त अनिवार्य तथा निःशुल्क शिक्षाको कुरा नीति तथा कार्यक्रममा समावेश भए तापनि संविधान प्रदत्त मातृभाषामा शिक्षा पाउने हक र मातृभाषा राष्ट्र भाषाको मान्यतालाई कार्यान्वयन गर्न उदासीनता देखाएको छ । ६८ पृष्ठ लामो नीति तथा कार्यक्रममा कहीँ कतै पनि मातृभाषा शिक्षा र मातृभाषा प्रशिक्षण शब्दसमेत उल्लेख नहुनुबाट नै नागार्जुन नगरपालिका मातृभाषा संरक्षणमा उदासीन रहेको प्रमाणित हुन्छ ।
त्यसै गरी बागमती प्रदेश सरकारद्वारा जारी प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयनको लागि भाषा अनुवादक नियुक्ति गर्ने, प्रदेश सरकारी कामकाजको भाषा नेपालभाषामा नागरिक बडापत्र राख्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने, मातृभाषा शिक्षा कार्यान्वयन गर्ने, नेपालभाषाको स्थाननाम प्रयोगसम्बन्धी योजना कहीँ कतै उल्लेख नगर्नुले पनि नगरपालिका मातृभाषा संरक्षण र पुस्तान्तरणमा हदैसम्म उदासीनता एवं गैरजिम्मेवार रहेको प्रस्ट हुन्छ । प्रचलित कानुनबमोजिम आवश्यक व्यवस्था नगर्नु सुशासन विपरीतको कार्य हो ।
नजिकको सरकारका रुपमा रहेको स्थानीय सरकारको स्थानीय मातृभाषाप्रतिको यो रवैया कहिलेसम्म रहन्छ ? त्यो समयक्रममा मूल्यांकन हुने नै छ । वि.सं. २०७८ को जनगणनाअनुसार नागार्जुन नगरपालिकामा खस (नेपाली) भाषी ५६.७ प्रतिशत र अन्य मातृभाषा ४३.३ प्रतिशत (नेपालभाषा १४.७, तामाङ भाषा ११.९, मगर धुत ३.९, गुरुङ २.९, अन्य विविध ९.९ प्रतिशत) रहेको हुँदा बहुभाषिक÷बहुसांस्कृतिक सामाजिक संरचना देखिन्छ । नेपाली भाषीबाहेक अन्य मातृभाषीहरुको संख्या ४३.३ प्रतिशत भए तापनि नगरपालिकाले केन्द्रीय सरकारको नक्कल गर्दै खस (नेपाली) भाषाको मात्र प्रवद्र्धन हुने गरी हाल स्थानीय पाठ्यक्रम खस भाषामा लागू भइरहेको छ ।
प्रस्तुत नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रमका रुपमा स्थानीय मातृभाषा (नेपालभाषा) लाई समावेश गर्नेसम्बन्धी कुनै योजना समावेश नहुँदा नगरपालिकाबाट नेपालको संविधानमा उल्लिखित बहुभाषिक, बहुसांस्कृतिक राष्ट्रको मूल मर्म र मातृभाषामा शिक्षा पाउने मौलिक हकको उल्लंघन भएको देखिन्छ । आ.व. ०८३÷८४ को नीति तथा योजनामा स्थानीय सरकारलाई संविधानले नै भाषा संरक्षणको जिम्मेवार तोकिएकोमा नागार्जुन नगरपालिकाले एकल भाषा नीतिबमोजिम खस भाषालाई मात्र प्रवद्र्धन गर्ने नीतिलाई नै निरन्तरता दिएको देखिन्छ ।
नीति तथा कार्यक्रममा आदिवासी जनजाति र मातृभाषा सम्बन्धमा एउटा शब्दसमेत खर्च नगरेको नागार्जुन नगरपालिकाले उनीहरुको भाषा, कला तथा संस्कृति संरक्षणमा कसरी कार्यसम्पादन गर्ला ? त्यो समीक्षाको कुरा भयो । विगतको गतिविधि हेर्दा नगरपालिकाले अमूर्त सम्पदा विभिन्न प्राचीन जात्रा, पर्व तथा ऐतिहासिक स्थलको अध्ययन नगरपालिकाको प्राथमिकतामा परेको छैन ।
वि.सं. २०७८ को जनगणनाअनुसार नागार्जुन नगरपालिको जातीय संरचना बहुजातीय, बहुसांस्कृतिक रहेको देखिन्छ । यहाँ पहाडी ब्राह्मण २३.३४, क्षत्री २२.०३, नेवार १६.४, तामाङ १३.०१, मगर ५.५२, गुरुङ ३.८२ र अन्य समुदाय १५.८८ प्रतिशत रहेको छ । समुदायहरुको अधिकार संरक्षण सशक्तीकरण क्षमता विकासलाई प्राथमिकता दिने मुख्य नीति तय गरेको नागार्जुन नगरपालिकाले आदिवासी जनजाति, मातृभाषा र शताब्दीयौंदेखि सञ्चालनमा रहेका जात्राहरुको प्रवद्र्धनमा एउटा शब्द खर्च नगरे तापनि सस्तो लोकप्रियताको लागि पर्यटन शब्द सयौंपटक प्रयोग गरेको छ ।
पर्यटक यहाँको मूर्त अमूर्त सम्पदाको अवलोकन गर्न तथा अनुभूति गर्न आउने हुन् । यहाँको सभ्यता शताब्दीयौं पुरानो नेवाः सभ्यतालाई किनारा लगाउँदै विभिन्न समूहको नाममा वार्षिक बजेट वितरणले मात्र यहाँ पर्यटकीय गन्तव्य बनाउन सकिन्न । नीति तथा कार्यक्रममा आदिवासीलाई जल, जमिन र जंगलसम्म पहुँच एवं अधिकार स्थापना गराउँदै उनीहरुको संस्कृति प्रवद्र्धन गर्नुपर्नेमा आदिवासी शब्द नै प्रयोग नगर्नु हदैसम्मको विभेद गरिएको प्रस्ट हुन्छ ।
छिमेकी नगरपालिकाहरु काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाले मातृभाषा शिक्षा कार्यान्वयन गरेको लामो समयसम्म पनि नागार्जुन नगरपालिकाले मातृभाषा शिक्षालाई लागू नगर्नु दुःखद र आम मातृभाषाप्रेमीमाथि अन्यायपूर्ण व्यवहार हो ।
नेपाल मण्डलको नगरपालिकाले यहाँको इतिहास, पहिचान स्थापना गर्न अमूर्त सम्पदाहरु मातृभाषा र जात्राहरु प्रवद्र्धन गर्नुपर्नेमा पहिचान र इतिहास प्रवद्र्धनविना कस्तो पर्यटन प्रवद्र्धन गर्न खोजेको हो, आफैँमा लक्ष्यविहीन योजना हो । इतिहास, संस्कृति, समाज र भूगोल नै पर्यटनका आधार हुन् ।
यहाँको समाजको सभ्यता, भाषा र कला बेवास्ता गरी गरिने पर्यटन केवल एउटा होटल व्यवसाय मात्र हुन जान्छ । पर्यटन एवं पर्यटकको केन्द्रभन्दा विलासी र सुविधा केन्द्रको रुपमा मात्र सीमित हुनेछ । दिगो पर्यटन मुख्य आधार यहाँको सामाजिक संरचना, जीवन्त संस्कृति, मातृभाषा तथा कला प्रवद्र्धन र प्राकृतिक वातावरण हो । तसर्थ सामाजिक न्याय र समावेशिताको आधारमा पनि नागार्जुन नगरपालिकाले स्थानीय मातृभाषा प्रवद्र्धनलाई प्राथमिकतामा राख्नुपर्दछ ।
यहाँ मुख्य रुपमा ‘नागार्जुन’ लाई नेपाल भाषामा ‘जामाच्व’ भनिन्छ । यससम्बन्धमा स्वयम्भू पुराण, संस्कृति विज्ञहरुको आलेख र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित स्थाननाम कोश, नेवार–नेपाली–अङ्ग्रेजी शब्दकोशको तथ्यसहितको विवरण नेवाः देय् दबू जामाच्व नगर समितिले नागार्जुन नगरपालिकालाई उपलब्ध गराउँदासमेत नगरपालिकाले आफ्नो लेटरहेडको माथिल्लो भागमा खस भाषामा नागार्जुन नगरपालिका र नेपालभाषामा जामाच्व नगरपालिका लेख्नुपर्नेमा नेपालभाषामा समेत नागार्जुन नगरपालिका लेखी गम्भीर भाषिक, व्याकरणीय त्रुटि एवं गलत÷भ्रामक शब्द चयनलाई निरन्तरता दिइरहेको छ ।
नागार्जुन पर्वतको काखमा रहेको यस नगरपालिकाले नागार्जुन नामाकरण स्वीकार गरेको छ तर ‘नागार्जुन’ पर्वत नामाकरणअघि यस स्थानको ऐतिहासिक स्थाननाम ‘जामाच्व’ नै थियो । स्थाननाम आफैँमा एउटा सम्पदा हो, जसमा इतिहास, सभ्यता र धार्मिक आस्था जोडिएको हुन्छ । यो पवित्र स्थाननाममा नागार्जुन नगरपालिकाले ढिलो नगरी अपनत्व लिँदा मात्र स्थानीय जनमतको कदर हुने देखिन्छ ।
भाषा, संस्कृति र भूगोलविनाको पर्यटन प्रवद्र्धन योजना केवल कागजमा मात्रै सीमित हुन्छ । त्यसको कार्यान्वयन प्रभावकारी हुन सक्दैन । यो कामको शुरुवात नागार्जुन नगरपालिकालाई नेपालभाषामा ‘जामाच्व नगरपालिका’ लेखेर शुरु गर्नुपर्छ । त्यसैले नागार्जुन नगरपालिकाले स्थानीय आदिवासीको मातृभाषा संरक्षण पुस्तान्तरणको लागि मातृभाषा प्रशिक्षण, मातृभाषा शिक्षा कार्यान्वयन, जात्राहरुको ऐतिहासिक पक्षहरुको खोज तथा अध्ययनलाई प्राथमिकता दिनुपर्छ ।
मातृभाषा राष्ट्रको अमूर्त पहिचान हो । यसको संरक्षणका लागि निरन्तर आवाज र कलम चलाउनु असल नागरिकको कर्तव्य हो । स्थानीय सरकारले स्थानीय जनताको माग र संवैधानिक अधिकारको प्रत्याभूति गराउँदा मात्र राष्ट्र भाषाले न्याय पाउने र भाषा तथा संस्कृति पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुग्ने कुरालाई नजरअन्दाज गरेको देखिन्छ ।
(लेखक पुतुवार नागार्जुन नगरपालिकामा सक्रिय संस्था नेवाः देय् दबू जामाःच्व नगर समितिका नाय (अध्यक्ष) हुनुहुन्छ ।)








तपाईंको विचार लेख्नुहोस्