पुस्तक चर्चा : विनयकुमारको ‘बोध’ पढेपछि त्यसमा भेटेका कुरा


विनयकुमार शर्मा नेपालको ‘बोध’ नामक निबन्धसङ्ग्रह २०८२ वैशाखमा प्रकाशित भएर पाठकमाझ आइसकेको छ । यसभित्र उनीद्वारा लेखिएका छोड्नु कि समात्नु ?, मृत्यु दुःख कि उत्सव ?, ध्यान, कविता र सम्भोग सूत्र, को कति महान् ? लगायत विभिन्न शीर्षकका दशवटा निबन्धहरु राखिएका छन् । यस सङ्ग्रहभित्रको छोड्नु कि समात्नु ? शीर्षकको पहिलो निबन्धमा प्रकारान्तरले गरिने परिशोधनको प्रक्रिया छाड्ने हो भने जसरी फालेको चुरोटको धुवाँ फर्केर पुनः तान्न सकिन्न, जसरी फालेको मलमूत्र फेरि शरीरभित्र हुल्न सकिन्न वा जसरी त्यागेको वा दान दिइएको धन पुनः फर्किन्न, त्यसै गरी कुनै पनि वस्तु वा भावलाई पुनः–पुनः ग्रहण नगर्ने वा वस्तु वा भावबाट पूर्ण रुपले मुक्त रहनु मात्र छोड्नु हो भनेर व्याख्या गरिएको छ ।

मृत्यु दुःख कि उत्सव ? शीर्षकको निबन्धमा शाब्दिक अर्थमा मृत्यु मरण, निधन, स्वर्गवास, देहपात, देहावसान, काल, यमराज, विधि, ब्रह्मा, विष्णु, माया, कलि, कामदेव भनिने गरिएको छ र अर्थ परिभाषा कालअनुसार थपघट हुन पनि सक्छ, नहुन पनि सक्छ, मरण साहित्य शास्त्रअनुसार मरणासन्न हुने एक व्यभिचारी शब्द हो भने निधन नाश, विनाश, सखाप, समाप्ति र अन्त हो भनेर लेखिएका छन् ।

ध्यान, कविता र सम्भोग सूत्र शीर्षकको निबन्धभित्र ध्यान शब्द र ध्यानको विधि सनातनबाट संस्कृत भाषामा वेद, पुराण, उपपुराण, ब्रह्मण, अरण्यक, उपनिषद्मा प्रशस्तै पाइन्छ । तिब्बत वा चीनमा परम्पराबाट हुर्कंदै कोरिया, जापान, थाइल्यान्ड, भियतनाम आदि देशहरुमा आ–आफ्नै हिज्जे र परम्परामा चल्दै आएको लाओज्म (दर्शन) भित्र निकै ध्यानका च्यान, झ्यान वा झेन कविताका रुपमा साहित्यहरु पनि लेखिँदै आएको पाइन्छ । ध्यान शब्द काल, परिवेश र हिज्जेअनुसार चीन, जापान तथा कोरियामा झेन, झ्यान वा च्यान शब्दको रुपमा स्थापित भएको सर्वविदितै छ भनेर शर्माले लेखेका छन् ।

जीवनका अनेक अलमलाइमा निस्केका विचारहरु मस्तिष्कमा जम्मा नपारी एकै बसाइमा पोखिएका, फर्केर नहेरिएका दशवटा निबन्ध शर्माले यहाँ समावेश गरेका छन् । यो निबन्धसङ्ग्रह एकै दिनमा पढेर सकिनेछ । यसभित्रका निबन्धहरु सरल भावका छन् ।

को कति महान् शीर्षकको निबन्धमा कतै यो महान् शब्दले पनि वस्तु वा व्यक्तिको सत्यता, वास्तविकता ढाकिरहेको त छैन ? कुनै जाति, वर्ण, समुदाय वा व्यक्तिले महान् भनिदिएकै भरमा सबैले महान् मानिदिनुपर्ने कुरा कति न्यायपूर्ण होला ? म बडो आसमञ्जस्यमा छु । हुन सक्छ मजस्तो चिन्तन स्वतन्त्र मान्छे सबै असमञ्जस्यतामा डुबेका छन् भनेर शर्माले लेखेका छन् ।

उच्चताबोध र लघुताबोध शीर्षकको निबन्धमा बोध हुनु भनेको सुनेको वा पढेको कुरा बुझ्न सक्ने क्षमता वा सीप वा कामको हेक्का रहनु हो, ज्ञान वा समझ रहनु वा हुनु हो । बोध सान्त्वना वा धैर्य पनि हो । विधय वा वस्तुको विद्यमानताको आभास वा अनुभूति पनि बोध हो । यो यस्तो हो र हुनुपर्छ वा गर्नुपर्छ भन्ने समझ वा ज्ञान नै बोध हो भनेर बोधको बारेमा वर्णन गरिएको छ ।

ताली र गाली शीर्षकको निबन्धमा ताली र गाली सुन्दा उस्तै र सरल लागे पनि दुईको अर्थान्तर निकै फरक छन् । दुवैका अनगिन्ती प्रकार, शैली र गुढार्थ छन् । दुवैका अनेकौँ अनेक लाक्षणिक अर्थ छन् । सबै अर्थको विन्यास शायदै तपाईं एकैपल्ट सम्झन र गर्न सक्नुहुन्न । यी दुवै चाहेर वा नचाहेर नै तपाईंका मनको भाव, समय, परिस्थिति, परिवेश, अवस्था, घटना र चित्तवृत्तिबाट फुत्त–फुत्त निस्कने कुरा हुन् भनेर वर्णन गरिएको छ ।

तपाईं स्वार्थी कि निःस्वार्थी ? शीर्षकको निबन्धमा सभ्यताको आरम्भदेखि नै जीवले अर्को जीवलाई लुटेर, चुसेर, मारेर बाँचेका न हुन् ? अहिले पनि तपाईंलाई कसले पो छाडेका छन् र ? सरकारले उठाएका अनेक किसिमका कर, अन्तशुल्क, सेवाशुल्क के हो ? ब्याज के हो ? तँ यति काम गरिदे, काम गरे वा सहयोग गरेबापत यति सेवाशुल्क, प्रयोग खर्च वा ब्याज लिएर यति कर तिर् भन्नु चुस्नु होइन भनेर लेखिएका छन् ।

होश र बोध शीर्षकको अन्तिम निबन्धमा तपाईं मलाई संस्कृत नामवाचक बोध र फारसी नामवाचक होश शब्दलाई गोलमटोल एकै ठाउँमा जोड्नुको के तुक ? भन्नुहोला । दुवै पर्यायजस्तै त हुन् भनेमा समेत म दुईमत नराखौँला, किनकि यो बह्माण्डमा विद्यमान हरेक तत्वको केही न केही, कहीँ न कहीँ सम्मिलन छ । फेरि तपाईंले दुवैको आ–आफ्नै मौलिक परिभाषा छन् भने पनि म सकारात्मक नै बनिदिउँला, किनकि यो सृष्टि संरचनाभित्र हरेक तत्व–तत्वको केही न केही आफ्नै गुणहरु छन् भनेर वर्णन गरिएको छ ।

कृति : बोध (निबन्धसङ्ग्रह)

लेखक : विनयकुमार शर्मा नेपाल

संस्करण : २०८२ वैशाख, प्रथम

मूल्य : रु. १५०।–
पृष्ठ : ११५

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।