पुराना राजनीतिक दल सच्चिनै पर्छ


कोही व्यक्ति, कुनै परिवारका सदस्य, देशको कार्यकारी अधिकार पाएको शासक आदिले हरेक काम गर्दा विचार गरेर, त्यसका सबल र दुर्बल पक्षलाई केलाएर सबल पक्ष धेरै भएको गरुन्जेल ती व्यक्ति, परिवार, देश आदिको अवन्नति हुनै मौका नै आउँदैन । यतिसम्म कि यदाकदा भूलका कारण दुर्बल पक्षको पृष्ठपोषण हुने काम गरिएछ भने पनि त्यसको साँचो समीक्षा गरेर गलत काम नदोहोरिने गरी काम गर्न सकुन्जेल व्यक्ति, परिवार, देश उन्नतिकै बाटोतिर लम्कँदै रहन्छन् ।

जब व्यक्ति, परिवारका जिम्मेवार सदस्य, देशको शासक आदि पटक–पटक गलत हर्कत गरेर पनि त्यसैलाई सही मानी अपनाइरहन्छन् भने तिनको गति उकालो लाग्नुको सट्टा ओरालो लाग्न थाल्नु स्वाभाविक हुन्छ । ओरालो लागेको मृगलाई गाईको सानो बाच्छोले पनि लखेट्छ भन्ने उखान त्यसै चलेको होइन । ती ओरालो गतितिर लाग्दै गरेका व्यक्ति, परिवार देश जो भए पनि तिनका प्रति नकारात्त्मक टिप्पणी हुनु वा गरिनु स्वाभाविकै हुन्छ ।

नकारात्मक टिप्पणी हुनु वा गरिनुको कारण समग्रमा एउटै र सकारात्मक नहुन सक्ला । तथापि धेरैजसो नकारात्मक टिप्पणी भनेको गलत बाटोतिर लाग्दै गरेको कुनै व्यक्तिलाई सही बाटोमा ल्याउन र हिँडाउन सकियोस् भन्ने सकारात्मक हेतुले नै त गरिएको हुन्छ । यदि गल्ती गर्ने व्यक्तिले आफूप्रतिको नकारात्मक लाग्ने टिप्पणी हेरेर आफूलाई सुधारको बाटोतिर लैजान सकेको खण्डमा नकारात्मक टिप्पणी गर्ने व्यक्ति आफैँ पर हटेर जान्छन्, पुनः गलत नै काम गरिरहेको खण्डमा उसका प्रतिका गलत टिप्पणीको मात्रा वा सङ्ख्या अझै बढेर पनि जान सक्छ ।

हाल सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल रास्वपा नयाँ वा नवीन राजनीतिक दल हो भने नेकपा एमाले, नेपाली काङ्गे्रस, ए माओवादीलगायतका राजनीतिक दलहरू पुराना राजनीतिक दलमा पर्छन् । ती पुराना भनिएका राजनीतिक दलमा पनि सबैभन्दा पुरानो राजनीतिक दल नेपाली काङ्ग्रेस हो । जुन राजनीतिक दलले नेपालमा कायम रहेको र अझ धेरै वर्षसम्म नेपालमा निरङ्कुश र एकतन्त्रीय राणा शासन कायम राख्न हरसम्भव प्रयासमा लागेको नेपालकै सबैभन्दा पुरानो र कुनै कालखण्डको सबैभन्दा शक्तिशाली राजनीतिक दलका रुपमा दर्ज भएको राजनीतिक दल पनि हो ।

तर यस राजनीतक दलका नेताहरुमध्ये केही नेता यस्तो मानसिकताका साथ प्रभाव जमाउन थाले कि नेपाली काङ्ग्रेस पार्टी भनेको त केवल मेरो वा हाम्रो (सीमित परिवारको कब्जामा रहेको) खुलस्त भन्दा योगदानका साथ काम गर्ने कार्यकर्ताको मुख मोसेर नातावादी, कृपावादी प्रवृत्तितर्फ उन्मुख हुनाले यसको ओरालो यात्रा शुरु भएको ठानिन्छ । यसै विषम परिवेशमा पनि निर्वाचन हुँदा नेपाली काङ्गे्रसले सामान्य बहुमत हासिल गरेकै थियो । पछि आएर नेता गणेशमान सिंह, गिरिजाप्रसाद आदिबाट नेपाली काङ्ग्रेसको त्यो पुरानो विरासतलाई जोगाउन केही प्रयास अवश्य भएका थिए ।

तथापि त्यत्रो जरा गाडेर रहेको निरङ्कुश राणा शासनलाई त घुँडा टेकाउने नेपाली काङ्ग्रेसले अबका दिनमा आम नेपाली जनताका खातिर, देशको उन्नतिका खातिर निकै महत्वपूर्ण काम गर्ला वा गर्न सक्ला भनेर अपेक्षा गरेका थिए । तर शक्तिशाली ठानिएको सोही पार्टीभित्रको उच्च पदको लागि हुने गरेको आन्तरिक कलहले गर्दा एक–आपसमा मनमुटावको अवस्था सिर्जना भयो । जनताले त्यति ठूलो अपेक्षा, आशा र भरोसा गरेर पर्खंदै र हेर्दै गए पनि यिनीहरू एक–अर्काको खुट्टा तान्ने हर्कतमा लाग्न थाले ।

नेपाली काङ्ग्रेसको आन्दोलनले मात्र राणा शासन ढलेको नभई उनीहरूभित्रकै आपसी काटमार अनि अविश्वासको वातावरण निर्माण भएर पनि राणाशासकहरूको मानसमा प्रभाव नपारी रहन सकेन र अन्त्यमा राणा शासन धराशायी भएरै छाड्यो । यदि त्यो कालखण्डमा नेपाली काङ्ग्रेस एकताबद्ध भएर जनताका आशा र अपेक्षाअनुसारका काम गर्न, गराउन सकेको भए, आन्तरिक कचिङ्गल आन्तरिक रुपमै सामसुम पार्न सकेको भए राजा महेन्द्रले ती नेतालाई जेलमा कोचेर, राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर आफैँ कुण्ठित बन्नुपर्ने अवस्था शायद आउने थिएन ।

नेपाली काङ्ग्रेस आफैँले राणा शासन पतन हुनुमा आन्तरिक कलह पनि एउटा बलियो कारण हो भनेर सामान्य राजनीतिमा चासो राख्ने जो कोहीले बुझिने विषय थियो । तर राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि बल्ल चेतेजस्तो त ग¥यो तर व्यवहारमा काम गरेरै देखाउन भने सकेन । त्यतिको सुझबुझ भएको राजनीतिक दलले पक्कै पनि त्यस बेलाको विषम अवस्थालाई समेटेर लैजान सक्ला भन्ने कुराको आशामा राजा महेन्द्रले नौ वर्षसम्म कुरेर अपेक्षाका साथ पर्खिए ।

तर काङ्ग्रेसको आन्तरिक किचलो साम्य हुनुको साटो अझै सङ्ग्रालिएर जान थाल्यो । आज राजा महेन्द्रलाई नेपाली काङ्ग्रेस पार्टीले जति मात्रामा सराप दिए पनि राजा महेन्द्रको त्यो गलत हर्कत अवश्य थिएन । आम नेपाली जनतालाई निरङ्कुश राणा शासनको अँध्यारो युगको अन्त्य गरेर उज्यालो युगतिर लैजान्छु भन्ने कति महान् र सकारात्मक विचारका साथ राणा शासनको विरुद्धमा लागेका थिए होला त बीपी कोइरालाहरू ।

पछि उनी स्वयंकै सोचाइ किन त्यति साँघुरो बन्दै जान थाल्यो ? र, सत्ताकै लुछाचुँडीमा अल्झिएर समग्र देश र राजनीतिलाई नै बन्धक बनाउने काममा लागे ? भर्खरै अङ्ग्रेज शासनको अँध्यारो युगबाट मुक्त भएर आफ्नै थेगभरमा उभिन खोज्दै गरेको भारतले पनि नेपालमा निरङ्कुश राणा शासन नै कायम रहोस् भनेर अवश्यै चाहँदैनथ्यो होला । जरा गाडेर सय वर्षभन्दा बढी टिकेको राणा शासनका जरा उधिनेर ढाल्ने आँट र साहस बोकेका बीपी कोइरालाले उनी र मातृका कोइरालाबीचको आन्तरिक समस्या सुल्झाउने प्रयास गरेका भए वा प्रयास गरेरै पनि नसक्ने भएका वा नसकेका अवश्य होइनन् ।

नेपाली काङ्ग्रेसले नेपाली जनता र नेपाल देशकै दिगो प्रजातन्त्रका लागि काम गर्दागर्दै पनि क्रमशः असफल हुँदै जानुको कारण के हो ? भनेर नेपाली काङ्ग्रेसपछिको दोस्रो राजनीतिक शक्ति नेकपा एमालेले पनि पछाडि फर्केर हेर्ने हिम्मत गरेन । नेपाली काङ्ग्रेस पार्टीका तत्कालीन सभापति र नेपाल देशका प्रमुख कार्यकारी प्रधानमन्त्रीको पदभार सम्हालेका गिरिजाप्रसाद कोइरालाको नेतृत्वसम्म थोरैतिन लोभीपन देखाएर आर्थिक अनियमितताले सीमा नाघिसकेको थिएन ।

त्यसपछिको नेतृत्वमा आएकाहरूले धन कमाइलाई यति धेरै प्राथमिकतामा राखे कि धन भएपछि संसारमा सबै थोक पाइन्छ भन्ने गलत मानसिकताको विकास भयो । ताकि यिनीहरूले विगतमा आफ्नै राजनीतिक दलको सङ्घर्षको बलमा ढालेको राणा शासकसँग त्यति बेलै पनि अथाह सम्पत्ति थियो । चन्द्रशमशेरले विदेशी बैङ्कमा कति धन थुपारेका थिए, त्यो सबै पनि मोहनशमेशर जबराले समेत पाउनेवाला नै थिए । तैपनि त्यो धनले राणा शासनलाई धराशायी हुनबाट जोगाउन सकेन भन्ने कुरालाई एमाले, नेपाली काङ्ग्रेस, माओवादीजस्ता राजनीतिमा हाबी भएका कसैले पनि सम्झेको पाइएन । बरु पैसा कमाइका नयाँ र अनौठा स्रोत पत्ता लगाउने कामको पो थालनी र उन्नति भएर जान थाल्यो ।

जसका कारण आजका जेन्जी पुस्ताको बाहुल्यता भएको अवस्थामा पनि ती पूरा राजनीतिक दलहरूलाई फोहोर फालेजसरी बेवास्तापूर्वक वा घृणाका साथ मिल्काउने काम भयो । पुराना राजनीतिक दलका नेताले जति नै धेरै दुःखमनाउ गरेर रोए पनि तिनीहरूले विगतमा गरेका तिनै गलत कर्मले गर्दा आफल्नै पर्ने अवस्था सिर्जना भएरै समयको मागलाई उचित सम्बोधन गरेरै अहिले तिरस्कृत बन्दै छन् । पुराना राजनीतिक दलप्रतिको थोरैतिन आस्था बोक्नेहरुले तिनलाई सकेसम्म सघाउलान् तर तिनका प्रति जसको मन मरिसकेको छ तिनले तिरस्कारै गर्नेछन् ।

तिरस्कार गर्नुको मतलब विगतमा गरेका गलत हर्कतलाई सच्याएर मात्र जनता र कार्यकर्तासमक्ष प्रस्तुत होऊ, नत्र हर्दम तिरस्कृत नै भइरहनेछौ भन्ने सन्देश पर्वाह भइरहेको पाइन्छ । पुराना राजनीतिक दलले गरेका दश गलत कर्मको फेहरिस्त लिने हो भने पदलोलुपताका कारण जेसुकै हर्कत गर्न पनि तयार भइहाल्ने मानसिकता विकास हुने भएकाले पद पाए पनि नपाए पनि उत्तिकै निष्ठाका साथ आफ्ना कर्ममा लाग्नुपर्ने हुन्थ्यो । तर पुराना राजनीतिक दल कसैले पनि यस्तो नीतिलाई सही रुपमा पालना गर्न सकेको पाइँदैन ।

कुनै पनि राजनीतिक दल होस् वा जागिरका कुराको सवालमा होस्, योग्यता वा योग्यको तुलनामा नातावाद, कृपावाद, हाल थपिएको धनवादजस्ता वादहरू अधिक मात्रामा हाबी भएका पाइन्छन् । यिनले राजनीतिक दलभित्र ईष्र्याको भावना पैदा गर्दछन् । यो भावनाले एक–अर्काप्रतिको विश्वासलाई घटाएर लैजान्छ । इमानदारिताको कदर कतै र कहीँ नभएपछि जोसुकैको मानसमा पनि जे गरे पनि हुने रहेछ भन्ने भाव पैदा हुन थाल्छ ।

कुनै पनि राजनीतिक दलको जुनसुकै स्तरको बैठक बसेको बेला देशले अफ्नो राजनीतिक दलबाट के कुराको अपेक्षा गरेको छ ? कर्णालीका जनताको अपेक्षा के छ ? आफ्ना भुइँ स्तरका कार्यकर्ताको बीचका समस्या के–के छन् र समाधानका बाटा के–कस्ता हुन सक्छन् भन्नेजस्ता विषयमा व्यापक छलफल हुने गरोस् । तल्ला स्तरका कार्यकर्ताले पनि मनका सारा असन्तुष्टिलाई नेतृत्वको समक्ष प्रस्तुत गर्ने मौका खुला राख्नुपर्छ । अहिले भर्खरैको नेपालको शिक्षाको परिवेशमा निजी विद्यालयका शिक्षकलाई केन्द्रमा राखेर तिनैका हकहितका बारेमा र तिनका विपक्षमा कुरा काटाकाट भइरहेका छन् ।

जसले ती शिक्षकका पीरमर्का आदिका बारेमा अभियन्ता बनेर पर्दाफासको अभियान सञ्चालन गर्दै छन् तिनीसमक्ष धेरै शिक्षकहरुले आ–आफ्ना दुखेसाहरू पोख्दै छन् । यसै क्रममा कति शिक्षकहरूको वर्षौंदेखि रोकिएको वा नदिएको तलब रकमसमेत पाएका सकारात्मक प्रतिक्रिया जनाउँदै गरेको अवस्था छ । हो, त्यसै गरी ती राजनीतिक दलका तल्ला स्तरका कार्यकर्ता, जसले इमानदारिताका साथ चुनावमा भोट सोही पार्टीलाई हाल्छन्, बिचरा तिनीहरुका मानसमा ती निजी विद्यालयका हेपिएका वा दबाइएका शिक्षकको मानसिकतामा जति मात्रामा कुण्ठा भरिएको छ, सोभन्दा पनि अधिक ती तल्ला कार्यकर्ताले चिन्ता बोक्नुपरेको छ ।

खुलेर अभिव्यक्त गर्ने ठाउँ छैन । आफ्नै राजनीतिक दलको शीर्ष नेताले भाषणमा बोलेका कुरा तिनले पत्याउन छोडेका छन् । यसरी पुराना राजनीतिक दलहरूले गर्दै आएका गलत कर्म सच्याएर अगाडि बढे भने कुनै दिन सफल बन्न पनि सक्लान्, होइन भने आजको अवस्थाभन्दा माथि उठ्न सक्ने अवस्था दृष्टिगोचर हुँदैन ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।