पुराना सम्मानित पार्टीका सम्मानित नेतालाई हेरौँ ! विदेश जाँदा–आउँदा विमानस्थलमा कस्तो रवाफ हुन्छ । हामीलाई मीठा सपना बोकाउन सिपालु हाम्रा आदरणीय एमाले, कांग्रेस र माओवादीका ठूला र सम्मानित नेताहरु, राजतन्त्रलाई फालेर गणत्रन्त्र ल्याउने हाम्रा नेताहरुको विमानस्थलमा कस्तो शान सौकात थियो । विमानस्थलको त्यो भव्यता आज हराएको छ । भीआईपी कक्षका ती राजर्षि सोफाहरु खुशीले गद्गद् हुन्थे ।
आज निरस भएर लम्पसार परेका छन् । राता, पहेँला बत्तीको झिलझिलाकार स्वरुप, अगुवापछुवा गाडीहरुको लावालस्कर, ट्यारट्यार–टुरटुर आवाज, सुरक्षाकर्मीहरुको जमिन हल्लिने त्यो सलामी ! खोइ आज ? गणतन्त्रका महाराजाहरु आउँदा ट्राफिक जामबाटै भए पनि उनीहरुलाई देख्न पाउँदा गर्व लाग्थ्यो ।
हाम्रा ‘गणमहाराज’लाई शिर निहुँराउनुपथ्र्यो । त्यस्तो पो गणतन्त्र ! त्यस्तो पो लोकतन्त्रको सुन्दर पक्ष । त्यस्तो पो गणतन्त्र बलियो भएको, देश धरापमा नपरेको । यी सुधन गुरुङ त कस्ता अपरिपक्व । त्यत्रो पद र ओहोदामा पुगेर पनि सर्वसाधारणकै लाइनमा उभिई मन्त्री पदकै खिल्ली उडाउने ! मन्त्री भएर जनताबाट टाढिनुपर्नेमा त्यो दूरी मेट्ने दुस्प्रयास गर्ने कस्ता सुधन गुरुङ ! त्यसैले यस्ता सुधन गुरुङ मलाई पटक्कै मन परेको छैन ।
मन नपर्नुको पनि ठुलै कारण छ– देशका ठूला नेता भनेर कहलिएका, लोकतन्त्र अनि गणतन्त्रका लागि ठूलो त्याग र संघर्ष गरेका, पुराना पार्टीका अनुभवी नेता, राजनीतिक दाउपेच र सत्ता सञ्चालनका लागि खारिएका अनि तीसौं वर्ष लगाएर बनाएको उच्च राजनीतिक ‘संस्कार र मर्यादा’लाई उनले एकै क्षणमा ध्वस्त पारिदिए । यसो नगर्नुपर्ने थियो, उनीप्रति मेरो रिसको पारो निकै माथि पुगेको छ ।
विदेश जाँदा त्रिभुवन विमानस्थलमा जे देखियो त्यो लाजमर्दो होइन र ? देशको त्यत्रो गृह प्रशासनको कमान्ड गर्ने व्यक्ति । उनैको इसारामा देशको सम्पूर्ण गृह प्रशासन चल्छ, सुरक्षा संयन्त्र चल्छ । उनै व्यक्ति आम सर्वसाधारण जसरी लाइनमा बसेर सुटकेस घिसार्न मिल्छ ? यो उत्ताउलोपन र अराजकता होइन र ? फेरि यो कस्तो रुपको विद्रोह हो ? देशमा लोकतन्त्र गणतन्त्र ल्याएको यसैको लागि हो त ?
केही राजनीतिक पार्टीहरु आफूलाई लोकतन्त्रको ठेकेदार नै हो भन्ने गर्छन् । उनीहरुविना यो देश धराप पर्छ, लोकतन्त्र धरापमा पर्छ, देश सकिन्छ, विदेशीले कब्जा गर्छ । उनीहरुको परिभाषामा गणतन्त्र भनेको जनताले पाँच वर्षमा एकपटक भोट हाल्ने र पाँच वर्षसम्म उनीहरुकै दास भएर बस्ने भन्ने हो । उनीहरुको व्यवहार ‘लोकतान्त्रिक सामन्तवादी’ थियो । नागरिकहरु उनीहरुको सेवा र चाकडीमा लाग्नुपर्दछ भन्ने मान्यता राख्छन् । गाउँ–बस्तीहरुमा पुग्दा गजक्कको स्वरुप बनाउनै पर्ने, नागरिक परै बस्नुपर्ने आदि जनताको कर्तव्यजस्तो भैसकेको थियो ।
जनताले आप्mना सुख–दुःखका कुरा सुनाउन महिनौँ कुर्दा पनि अवसर पाउँदैनथे । सिंहदरबारका ती लोकतान्त्रिक सामन्तीहरुलाई भेट्नका लागि एउटा गरिब नागरिकले कति चप्पल र जुत्ता फटाउनुपथ्र्यो, गनेर साध्य थिएन । भेटिहाले पनि त्यो गजधुम्मको अनुहार उनीहरुलाई हेर्न तयार हुँदैनथ्यो । गणमहाराजहरुलाई लाग्थ्यो– आप्mना आसेपासे, आफन्त र चाकडीबाजभन्दा टाढाको यो कुन मनुवा हो ? त्यो शासन सत्तामा धनको धन्दा हुन्थ्यो, भुइँ नागरिकका कुरा सुनुवाइ हुँदैनथ्यो । नागरिकको समस्या नजरअन्दाज गरिन्थ्यो ।
तर, यी सुधन गुरुङ उनीहरुभन्दा बिल्कुलै फरक भैदिए । उनीलाई त मिटरब्याज पीडितहरु आन्दोलनमा छन् भन्ने थाहा हुनेबित्तिकै काठमाडौं बोलाएर वार्ता गर्न हतार हुन्छ । जनताका समस्या सुन्न कुनै साइत कुर्नुपर्दैन । आफ्नो सवारी रोकेर जनतालाई पहिलो प्राथमिकता दिँदै बाटो काट्न लगाउँछन् । बिदाको दिन सरकारी गाडी नचलाएर आफ्नै गाडी चलाउँछन् । विदेश जाँदा भीआईपी कक्ष चाहिँदैन ।
जनतासँगै बस्छन्, जनताकै भाषा बोल्छन्, जनताकै दुःखमा दुःखी बनेर रोइदिन्छन् । जनतालाई समस्या पर्दा सिंहदरबारको कुर्सीबाट ओर्लेर जनताकै धूलो आँगनमा बसिदिन्छन् । यी सुधन गुरुङले हाम्रा आदरणीय पुराना नेताहरुको त्यो शान, सौकात र रवाफलाई धूलोमा मिलाइदिए । नागरिकलाई भ्रमको खेती सम्झने गणमहाराजाहरुको झुट पर्दाफास गरिदिए । त्यसैले सुधन गुरुङ मलाई पटक्कै मन पर्दैन ।
पुराना दलका आदरणीय भक्तहरु भन्नुहुन्छ– यो त स्टन्टबाजी हो । हो, मलाई पनि त्यस्तै लाग्छ । यसमा त म पनि सहमत छु । उनले गरेका सबै काम स्टन्ट नै हुन् । २४ घण्टे इन्टिग्रेटेड एन्टी साइबर स्क्यामलाई हेरौँ न । पहिला, एउटा साइबर अपराधको मुद्दा दर्ता गर्न चौकी मान्दैनथ्यो, नेताको सोर्सफोर्स लगाउनुपथ्र्यो, दर्ता भएमा फाइल हराउँथ्यो । तर अहिले केही घण्टाभित्र नै कारबाही हुने प्रणालीको विकास गरिदिए । समस्यालाई महिनौँसम्म झुलाउन र रिंगाउन पर्नेमा यति छिटो काम गर्ने प्रणाली विकास गर्नु स्टन्ट नै हो ।
सुरक्षाकर्मीलाई पुराना आदरणीय गणमहाराजाहरुको सेवामा प्रयोग गरिन्थ्यो । उनीहरुको जुत्ता पालिस गर्नु, लुगा–कपडा धोइदिनु र भान्सा तयार गर्दिनुपथ्र्यो । देशको गौरव बोकेका सुरक्षा निकायका जवानलाई उनीहरुको घरेलु नोकर बनाइएको थियो । गणमहाराजाहरुका श्रीमती र छोराछोरीको अगुवापछुवा बनाइएको थियो ।
त्यो गणमहाराजाहरुको लोकतान्त्रिक सामन्तवादको चरम नमुना थियो । यसलाई सुधन गुरुङले एउटा निर्देशिकामार्फत पूरै बन्द गराइदिए । यसो गर्दा गणमहाराजाहरुको सामाजिक प्रतिष्ठामा ठूलो आँच आयो । सुधन गुरुङले नेपाल प्रहरीलाई नेताको दासताबाट मुक्त गराएर देशको सेवक बनाउने नीति लिए । त्यसैले मलाई सुधन गुरुङ पटक्कै मन पर्दैन ।
मलाई त साँच्चै भन्नुपर्दा पुराना नेता अति मन पर्छ । किनभने उनीहरुले घण्टौँ लगाएर दिने खोक्रा र झुटा भाषण मेरा लागि प्रशिक्षण थियो । अबचाहिँ राजनीति गर्न तयार भए कि जस्तो लाग्थ्यो । खोक्रा र झुटा भाषणको मजै अर्कै रहेछ । नेपाललाई स्वीट्जरल्यान्ड बनाउने, ठूला–ठूला पानीजहाज चलाउने, घरघरमा ग्यासका पाइप पु¥याउने, रेलका स्टेसनै स्टेसन बनाउने । यस्ता सपनाका स्वादले मनै हलुंगो हुन्थ्यो । एक्लै हुँदा पनि ताली बजाऊँ–बजाऊँ जस्तो लाग्थ्यो ।
तर यी सुधन गुरुङ जनताले मलाई काम गर्न पठाएको, भाषण गर्न होइन भन्छन् । कस्तो बेस्वादको व्यावहारिक कुरा ! राजनीतिमा पनि यस्तो सम्भव छ ? मीठा सपना बाँड्ने, जनतालाई कसरी झुक्याएर–छक्काएर राख्ने, राज्यको ढुकुटी रित्याउने काममा मिलिभगत गर्ने पो राजनीति हो त । हामी सबैले बुझेको राजनीति यही हो । तर उनी त परिणाममुखी काम हुनुपर्छ भन्दै छन् । बाढीपहिरो आओस् कि अर्नव चक्रवात, उद्धार कार्यमा आफैँ खटिएका छन् ।
विमानस्थलको ढिलासुस्ती हटाउन आफैँ लाइनमा बसेका छन् । यसरी परिणाममुखी काम गरेर पुराना राजनीतिक दलको पसल बन्द गराउन पाइँदैन । त्यसैले मलाई सुधन गुरुङ पटक्कै मन पर्दैन ।
जतिवटा कलंकको टीका लगाउन परे पनि लगाउने तर कुर्सीमा पुगेपछि टिकिरहनुपर्ने नेपाली राजनीतिको एउटा स्थापित मान्यता हो । कुर्सी नछोड्ने बरु ‘प्रमाणित गरेर देखाऊँ’ भन्दै कानुनलाई चुनौती दिने । राजनीतिमा पद छोड्नु कायरता हो, हार हो । संस्कार, सभ्यता र नैतिकता हारोस्, पद नहारोस् । तर यी सुधन गुरुङ कायर रहेछन् । मन्त्री भएपछि सम्पत्ति सार्वजनिक गर्ने क्रममा केही विवाद र स्वार्थको प्रश्न उठ्यो, उनले तुरुन्त नैतिकताको आधारमा गृहमन्त्रीबाट राजीनामा दिए ।
मन्त्री भएको २६ दिनमा दिएको यो राजीनामाले पुराना राजनीतिक दलका नेताहरुको मुटुमा नैतिकताको ढ्याङ्ग्रो बज्यो । किनकि भविष्यमा उनीहरुका लागि यो संकट बनिदिन सक्छ । छानबिन समितिले क्लिन चिट दिएपछि पुनः गृहमन्त्री भए । नैतिकता र इमानदारिताको यो दृश्यले पुराना दलका ठूला नेताहरुको नैतिकताको क्षितिज उघारिदियो । उनले यस्तो गर्न हुँदैनथ्यो । त्यसैले मलाई सुधन गुरुङ पटक्कै मन पर्दैन ।
मलाई त हिजोकै नेता मन पर्छ । चिल्ला गाडीमा हिँड्थे । सिफारिस गरेकै भरमा जनताको जग्गा नै घूस खान पाइन्थ्यो, पर्ति जग्गा खान पाइन्थ्यो । उनीहरुलाई भेट्न घण्टौँ कुर्नुपथ्र्याे । विदेश जाँदा विमानस्थलमा लाइन बस्दैनथे, छुट्टै भीआईपी गेट प्रयोग हुन्थ्यो । फर्किंदा पनि तामझामले स्वागत हुन्थ्यो । कति गम्भीर देखिन्थे । भाषणमै देश समृद्ध र आधुनिक भैसक्थ्यो । वास्तविकतामा भ्रष्टाचार व्याप्त होला, गरिब र बेरोजगारी झाङ्गिएको होला, त्यो अर्के कुरा हो । तर उनीहरुका भाषणमा भ्रष्टाचार निर्मूल भैसक्थ्यो, बेरोजगारी हटिसक्थ्यो र रोजागरी यत्रतत्र हुन्थ्यो । उनीहरु मालिक हुन्थे भने नागरिक दास हुन्थे ।
साँच्चै भन्नुपर्दा त्यही लोकतान्त्रिक सामन्तवादकै बानी परिसकेको भएर होला, मलाई पुरानै दल र पुरानै नेता मन पर्छ । तर सुधन गुरुङ विमानस्थलमा सर्वसाधारणकै लाइनमा बसे । जनताका दुःख बुभ्mने प्रयास गरे । ढिलासुस्ती हुनुको कारण बुभ्mन खोजे । जनताको सेवक बन्दै, जनतासँगै एकाकार हुँदै परिणाम दिन लागिरहे । त्यो लोकतान्त्रिक सामन्तवादी चरित्रलाई भत्काइदिए ।
‘मन्त्री शासक होइन, सेवक हो, शासन सत्ताको इमानदार पाले हो’ भन्ने कुरा कर्मबाट देखाइदिए । गर्ने र भन्नेको फरक उनले छुट्याइदिए । यस्तै विचार भएका नेताहरु देशैभरि जन्मने हो भने लोकतन्त्रका स्वघोषित ठेकेदारहरु संकटमा पर्नेछन् । उनीहरुको झुट र भ्रमको पसल बन्द हुनेछ । उनीहरुले बिसाइसकेको मर्यादा, इमानदारिता र कर्तव्यको भारी पुनः बोक्न गाह्रो हुनेछ । त्यसैले इमानदारिताको द्योतक र कर्तव्यको समझ भएका सुधन गुरुङ पटक्कै मन पर्दैन ।








तपाईंको विचार लेख्नुहोस्