प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सरकारले उपलब्धिको उत्सवका रूपमा प्रस्तुत गरिरहेको छ । आर्थिक सहयोग, ऊर्जा परियोजना, हवाई मार्ग, व्यापारिक पहुँच र विकासका समझदारीलाई नयाँ नेपाल निर्माणको आधार भन्दै प्रचार गरिएको छ । तर कूटनीतिक सम्बन्धको चमकदार तस्वीरभित्र केही यस्ता प्रश्न छन्, जसले भ्रमणको वास्तविक उपलब्धिमाथि मात्र होइन, नेपालको राष्ट्रिय हितको संरक्षण गर्ने सरकारको क्षमतामाथि समेत प्रश्न उठाएका छन् । भारतसँग सम्बन्ध सुधार्नु नेपालको आवश्यकता हो ।
भूगोल, व्यापार, पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धले भारतलाई नेपालको अपरिहार्य छिमेकी बनाएको छ । तर सम्बन्ध सुधारको अर्थ राष्ट्रिय मुद्दामा मौन रहनु, पुराना असमानता बिर्सनु वा आर्थिक सहयोगको बदलामा राजनीतिक प्रश्नलाई ओझेलमा पार्नु होइन ।
कूटनीतिक परिपक्वता भनेको सम्बन्ध बिगार्नु पनि होइन, सम्बन्ध जोगाउने नाममा आफ्नो अडान गुमाउनु पनि होइन । प्रम शाहको भारत भ्रमण यही द्वन्द्वको बीचमा उभिएको छ । काठमाडौं महानगरको नेतृत्वमा रहँदा राष्ट्रियताको मुद्दामा आक्रामक देखिएका शाह प्रधानमन्त्री बनेपछि भारतसँगको सम्बन्धलाई विकास र सहकार्यको भाषामा अघि बढाउन चाहन्छन् । यो परिवर्तनलाई व्यावहारिक कूटनीति भन्न सकिन्छ । तर व्यावहारिकता र मौनताबीचको सीमा कहाँ छ ? भ्रमणपछि उठेको मूल प्रश्न यही हो ।
भारत भ्रमणका क्रममा नेपालले केही महत्वपूर्ण सहमति हासिल गरेको छ । भारतले बाढीपछिको पुनर्निर्माण तथा ऊर्जा परियोजनाका लागि कुल २४० अर्ब रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ, जसमा ५६ अर्ब रुपैयाँ अनुदान र १८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण रहेको छ । दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । भैरहवा–लखनउ बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति पनि भ्रमणको महत्वपूर्ण उपलब्धि हो ।
यी उपलब्धिलाई कम आँक्नु उचित हुँदैन । नेपालको विकासका लागि ऊर्जा, पूर्वाधार, व्यापार र कनेक्टिभिटी आवश्यक छन् । भारतसँगको आर्थिक सहकार्यले रोजगारी, लगानी र व्यापार विस्तारमा सहयोग पु¥याउन सक्छ । तर कूटनीतिक उपलब्धिको मूल्यांकन गर्दा घोषणा गरिएको रकम र सम्झौतामा हस्ताक्षरको संख्या मात्र पर्याप्त हुँदैन । ती सहमति कुन सर्तमा कार्यान्वयन हुन्छन्, नेपालले कति लाभ पाउँछ र त्यसले दीर्घकालीन राष्ट्रिय हितलाई कति बलियो बनाउँछ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
२४० अर्ब रुपैयाँको सहयोगलाई सरकारले ठूलो उपलब्धि भनेको छ । तर त्यसको ठूलो हिस्सा सहुलियतपूर्ण ऋण हो, अनुदान होइन । ऋणको सर्त, ब्याजदर, परियोजना छनोट, खरिद प्रक्रिया र कार्यान्वयनको समयसीमा सार्वजनिक नभएसम्म यसको वास्तविक लाभको मूल्यांकन गर्न सकिँदैन । नेपालले विगतमा पनि भारतबाट सहयोगको घोषणा पाएको थियो । तर कतिपय परियोजना सर्त र प्रक्रियाका कारण वर्षौंसम्म अघि बढ्न सकेनन् ।
त्यसैले यसपटक रकमको आकारभन्दा कार्यान्वयनको पारदर्शिता महत्वपूर्ण छ । हवाई मार्गको सहमतिमा पनि यही प्रश्न लागू हुन्छ । नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवा–लखनउ मार्गलाई दुईतर्फी बनाउने सहमति सकारात्मक भए पनि प्राविधिक परामर्शपछि मात्रै सञ्चालनको मोडालिटी तय हुने भनिएको छ । अर्थात्, राजनीतिक सहमति भएको छ, तर पूर्ण कार्यान्वयनको समयसीमा अझै स्पष्ट छैन ।
नेपालको अनुभवले सहमति र कार्यान्वयनबीचको दूरी देखाएको छ । त्यसैले सरकारले यसलाई उपलब्धि भन्दै प्रचार गर्नु स्वाभाविक भए पनि जनतासमक्ष स्पष्ट कार्ययोजना प्रस्तुत गर्नुपर्छ । अन्यथा आजको सहमति भोलिको अर्को प्रतीक्षामा बदलिन सक्छ । तर भ्रमणको सबैभन्दा ठूलो कमजोरी विकासका मुद्दा उठाउनु होइन, राष्ट्रिय हितसँग जोडिएका संवेदनशील विषयमा ठोस राजनीतिक प्रतिबद्धता नआउनु हो । सीमा विवाद, ईपीजी प्रतिवेदन, पञ्चेश्वर परियोजना र १९५० को सन्धि पुनरावलोकनजस्ता विषयमा नेपालले अपेक्षा गरेको प्रगति देखिएन । यसले भ्रमणलाई उपलब्धिको उत्सवभन्दा कूटनीतिक क्षमताको परीक्षामा बदलिदिएको छ ।
शाह काठमाडौं महानगरको नेतृत्वमा रहँदा राष्ट्रियताको मुद्दामा निकै मुखर थिए । कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा उनले सार्वजनिक रूपमा आफ्नो अडान राखेका थिए । भारतको संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ सम्बन्धी चित्रको विरोधमा ‘ग्रेटर नेपाल’को नक्सा महानगरमा राख्ने निर्णयले पनि उनको राष्ट्रियतामुखी छवि बलियो बनाएको थियो ।
तर प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा ती मुद्दा वार्ताको केन्द्रमा आएनन् । तर रणनीतिक मौनताको अर्थ के हो भन्ने कुरा जनतालाई बुझाउनुपर्छ । सीमा विवादलाई औपचारिक वार्तामा किन उठाइएन ? भारतसँग त्यसबारे कुनै गोप्य समझदारी भएको हो ? आगामी वार्ताका लागि समयसीमा तय भएको छ ? यी प्रश्नको जवाफ नआएसम्म मौनतालाई परिपक्व कूटनीति भनेर मात्र स्वीकार गर्न सकिँदैन ।
भ्रमणपछि भारतीय विदेश सचिव विक्रम मिस्रीले ईपीजी प्रतिवेदनलाई ‘विगतको विषय’ र ‘सान्दर्भिक नरहेको’ टिप्पणी गरे । सन् २०१६ मा दुवै देशका प्रधानमन्त्रीको सहमतिमा गठन भएको ईपीजीले १९५० को सन्धिसहित द्विपक्षीय सम्बन्धका पुराना आधार पुनरावलोकन गर्न सुझाव दिएको थियो । प्रतिवेदन २०१८ मा तयार भए पनि भारतले औपचारिक रूपमा ग्रहण गरेको छैन ।
मिस्रीको टिप्पणीले नेपालका लागि कूटनीतिक झट्का दिएको छ । दुई देशका प्रधानमन्त्रीको सहमतिमा बनेको समूहको प्रतिवेदनलाई एक पक्षले विगतको विषय भन्दै अस्वीकार गर्नु समानताको आधारमा सम्बन्ध पुनरावलोकन गर्ने नेपालको अपेक्षासँग मेल खाँदैन । नेपालका परराष्ट्रमन्त्रीले नयाँ संयुक्त दृष्टिपत्रमा ईपीजीले उठाएका विषय समेटिएको बताएका छन् । तर प्रतिवेदनका सिफारिस कुन रूपमा समेटिए, कुन विषय छुटे र कार्यान्वयन कसरी हुन्छ भन्ने स्पष्ट छैन ।
सीमा विवादमा पनि संयुक्त वक्तव्यले परराष्ट्र सचिवहरूलाई बाँकी मुद्दामा काम गर्न निर्देशन दिएको छ । यो पूर्ण मौनता होइन, तर नयाँ राजनीतिक प्रतिबद्धता पनि होइन । दशकौँदेखि दोहोरिँदै आएको भाषा फेरि दोहोरिनु नेपालको कूटनीतिक उपलब्धि कति सीमित छ भन्ने संकेत हो । पञ्चेश्वर परियोजनामा पनि विस्तृत परियोजना प्रतिवेदनलाई छिटो टुंग्याउने निर्देशन दिइएको छ ।
तर महाकाली सन्धि भएको तीन दशकपछि पनि पानीको बाँडफाँट, लगानी र लाभ वितरणका विषयमा ठोस निष्कर्ष नआउनु पुरानो असफलताको निरन्तरता हो । यहीँ बालेन सरकारको कूटनीतिक कमजोरी देखिन्छ । राष्ट्रिय मुद्दामा पुरानो राजनीतिक नेतृत्वले गरेको गल्तीको आलोचना गरेर उदाएको नयाँ नेतृत्वले ती मुद्दामा नयाँ परिणाम दिन सक्नुपर्छ । पुरानै प्रतिबद्धता दोहो¥याएर फर्किनु परिवर्तनको दाबीलाई कमजोर बनाउने कुरा हो ।
शाहको राजनीतिक शैली परम्परागत नेतृत्वभन्दा फरक छ । सामाजिक सञ्जालमा छोटो, तीखो र प्रभावशाली सन्देशमार्फत जनमत निर्माण गर्ने उनको क्षमता असाधारण छ । तर देश सञ्चालन र अन्तर्राष्ट्रिय कूटनीति डिजिटल लोकप्रियताको विस्तार मात्र होइन । त्यसका लागि संस्थागत तयारी, रणनीतिक धैर्य, तथ्यमा आधारित वार्ता र दीर्घकालीन दृष्टिकोण आवश्यक हुन्छ ।
प्रधानमन्त्रीको व्यक्तिगत लोकप्रियता सरकारको कूटनीतिक क्षमता होइन । सामाजिक सञ्जालमा भारतविरोधी वा राष्ट्रियतामुखी अभिव्यक्तिले तत्काल जनसमर्थन जुटाउन सक्छ, तर अन्तर्राष्ट्रिय वार्तामा त्यसलाई परिणाममा बदल्न सक्ने क्षमता चाहिन्छ । राष्ट्रियताको मुद्दा भावनात्मक नारामा सीमित भयो भने त्यो लोकप्रियताको साधन बन्छ, राज्यको रणनीतिमा रूपान्तरण भयो भने मात्रै राष्ट्रिय हितको आधार बन्छ ।
भारत भ्रमणपछि भारतीय सञ्चारमाध्यम र विश्लेषकहरूले शाहको पहिलेको अडान र अहिलेको व्यवहारबीचको अन्तरबारे टिप्पणी गरेका छन् । केहीले भ्रमणलाई सम्बन्ध सुधारको व्यावहारिक प्रयास भनेका छन् भने केहीले ठोस उपलब्धिभन्दा भ्रमणको दृश्य र घोषणामा बढी जोड दिएको बताएका छन् । भारतका पूर्वराजदूत तथा दक्षिण एसिया विश्लेषक एसडी मुनीले भ्रमणलाई दृश्यात्मक रूपमा प्रभावशाली, तर ठोस परिणाममा अपेक्षित र निर्णायक उपलब्धिविनाको भएको टिप्पणी गरेका छन् ।
भारतीय मिडियामा आएका सबै टिप्पणीलाई भारत सरकारको आधिकारिक धारणा मान्न मिल्दैन । तर ती टिप्पणीले नेपाली नेतृत्वको छवि र वार्ताको परिणामबारे प्रश्न उठाएका छन् भने त्यसलाई बेवास्ता गर्न पनि मिल्दैन । प्रधानमन्त्रीको भ्रमणपछि भारतीय विदेश सचिवले ईपीजी प्रतिवेदनलाई अप्रासंगिक भनेको र लिपुलेकबारे छलफल नभएको स्पष्ट पारेको तथ्यले नेपालले वार्ताको तयारी र एजेन्डा निर्धारणमा कति प्रभावकारी भूमिका खेल्यो भन्ने प्रश्नलाई थप बलियो बनाएको छ ।
नेपालको कूटनीति व्यक्तिकेन्द्रित हुनुहुँदैन । प्रधानमन्त्री, परराष्ट्रमन्त्री, कूटनीतिक सेवा, सुरक्षा निकाय र संसद्बीच साझा राष्ट्रिय धारणा निर्माण गर्नुपर्छ । भारत भ्रमणअघि विपक्षी दलसँग पर्याप्त परामर्श नभएको आलोचना पनि यही सन्दर्भमा महत्वपूर्ण छ । राष्ट्रिय मुद्दामा सरकार र विपक्षीबीच न्यूनतम सहमति नभएसम्म नेपालको वार्ता शक्ति कमजोर रहन्छ ।
भूराजनीतिक रूपमा नेपाल अहिले भारत र चीनबीचको प्रतिस्पर्धाको संवेदनशील क्षेत्रमा छ । भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, पारवहनको प्रमुख मार्ग हो र ऊर्जा क्षेत्रमा ठूलो लगानीकर्ता पनि हो । अर्कोतर्फ चीनसँगको व्यापार, पूर्वाधार, पारवहन र रणनीतिक सहकार्य नेपालको दीर्घकालीन विकल्पसँग जोडिएको छ । भारतसँग सम्बन्ध सुधार्नु आवश्यक छ, तर त्यसको अर्थ चीनसँगको सम्बन्धमा अनावश्यक दूरी बनाउनु होइन ।
नेपालले भारतसँग आर्थिक सहकार्य बढाउँदै चीनसँगको सम्बन्धलाई पनि सन्तुलित रूपमा अघि बढाउनुपर्छ । यही सन्तुलन नेपालको स्वतन्त्र निर्णय क्षमताको आधार हो । यदि आर्थिक सहयोग र विकासका समझदारीले नेपाललाई एकपक्षीय निर्भरतामा थप बाँध्छ भने त्यसले दीर्घकालीन भूराजनीतिक जोखिम सिर्जना गर्न सक्छ । त्यसैले प्रत्येक सहमतिको मूल्यांकन राष्ट्रिय हित, आर्थिक स्वायत्तता र रणनीतिक सन्तुलनका आधारमा हुनुपर्छ ।
शाहको भारत भ्रमणलाई पूर्ण असफल भन्न मिल्दैन । आर्थिक सहयोग, ऊर्जा, व्यापार र कनेक्टिभिटीका क्षेत्रमा भएका सहमति नेपालको विकासका लागि उपयोगी हुन सक्छन् । तर भ्रमणको सफलता घोषणाको आकार, संयुक्त वक्तव्यको भाषा वा प्रधानमन्त्रीले प्राप्त गरेको स्वागतका आधारमा मात्र मापन गर्न सकिँदैन । राष्ट्रिय हितको प्रश्नमा भ्रमणले अपेक्षित स्पष्टता दिन सकेन । सीमा विवादमा नयाँ राजनीतिक प्रतिबद्धता आएन, ईपीजी प्रतिवेदनलाई भारतले अप्रासंगिक ठह¥यायो, पञ्चेश्वरमा पुरानै प्रक्रिया अघि बढाउने निर्देशन दोहोरियो र हवाई मार्गको सहमति प्राविधिक प्रक्रियामा निर्भर रह्यो ।
यी विषयले सरकारको कूटनीतिक तयारी र वार्ता क्षमतामाथि प्रश्न उठाएका छन् ।प्रधानमन्त्री शाहले अब भ्रमणका उपलब्धिको प्रचारभन्दा कार्यान्वयनमा ध्यान दिनुपर्छ । सहमतिका सर्त, समयसीमा र प्रगति सार्वजनिक गर्नुपर्छ । सीमा विवाद र ईपीजी प्रतिवेदनबारे संसद्मा स्पष्ट धारणा राख्नुपर्छ । राष्ट्रिय मुद्दामा विपक्षी दलसँग साझा रणनीति बनाउनुपर्छ । भारतसँग सम्बन्ध सुधार गर्ने क्रममा नेपालको स्वतन्त्र निर्णय क्षमता र चीनसँगको सन्तुलनलाई कमजोर हुन दिनुहुँदैन ।
कूटनीतिमा मौनता कहिलेकाहीँ आवश्यक हुन सक्छ, तर मौनताले राष्ट्रिय मुद्दालाई विस्मृतिमा पु¥याउनुहुँदैन । विकासका लागि सहकार्य आवश्यक छ, तर राष्ट्रिय स्वाभिमान र सार्वभौमिकता त्यसको मूल्य बन्न सक्दैन । शाहको भारत भ्रमणले नेपाललाई अवसर दिएको छ– अब त्यो अवसरलाई वास्तविक उपलब्धिमा बदल्ने जिम्मेवारी ससरकारकै हो ।
नेपालको कूटनीति लोकप्रियताबाट होइन, परिणामबाट चिनिनुपर्छ । राष्ट्रियताको नारा लगाउनु सजिलो छ, राष्ट्रिय हित सुरक्षित गर्ने क्षमता देखाउन कठिन देखिन्छ । प्रधानमन्त्री शाहका लागि यही भ्रमण त्यो कठिन परीक्षाको शुरुवात हो ।








तपाईंको विचार लेख्नुहोस्