दार्जिलिङ, भारत (नेस)। भौतिक सुख, सम्पत्ति र प्रतिष्ठा प्राप्त गर्ने दौडमा मानिसले आप्mनै अस्तित्व र जीवनको वास्तविक अर्थ बिर्सिंदै गएको विषयलाई समेटेर मानव अधिकारकर्मी तथा गीतकार राजु सरकारले रचना गरेको दर्शनप्रधान गीत सार्वजनिक गरिएको छ। सिक्किममा सार्वजनिक गरिएको उक्त गीतले बाहिरी सफलता र मानिसको आन्तरिक सन्तुष्टिबीचको विरोधाभासलाई उजागर गरेको छ।
नेपालको जनमत वाङ्मय प्रतिष्ठानको दार्जिलिङ–सिक्किम साहित्यिक यात्राका क्रममा दार्जिलिङको बतासेस्थित हिमालयन हवेलीमा आयोजित विशेष भेटघाटमा गीत सार्वजनिक गरिएको हो। वरिष्ठ साहित्यकार मोहन दुवालले ल्यापटप र मोबाइलको बटन थिचेर गीत सार्वजनिक गरेका थिए। भौतिकवादी सोचले गाँजिएको वर्तमान समाजमा धन, सम्पत्ति र प्रतिष्ठालाई नै जीवनको उपलब्धि ठान्ने प्रवृत्तिमाथि गीतले दार्शनिक प्रश्न उठाएको छ। मानिसले आफूले चाहेका धेरै कुरा प्राप्त गरे पनि त्यसको खोजीमा आप्mनै पहिचान, आत्मसन्तुष्टि र जीवनको सार गुमाउँदै गएको भाव गीतमा समेटिएको छ। अनेकौँ सपना पूरा गर्दा पनि आफूलाई चिन्न नसकेको, बहुरँगी संसारको भीडमा आप्mनै अस्तित्व हराएको र बाहिर खुसी देखिए पनि भित्रभित्रै रित्तिँदै गएको मानिसको मनोदशालाई गीतका शब्दले चित्रण गरेका छन्।
जे चाहे त्यही पाएँ, रँगियो जीवन
आफैँलाई बिर्सिएर रोचक बन्दै गयो जीवन।
बहुरँगको भीडमा हरायो जीवन
ढल्न सकिएन रात, प्रश्नै प्रश्न तेर्सियो।
गीतमा भनिएको छ। जीवनका पाना पल्टाउँदै आप्mनो अस्तित्व र पहिचान खोज्दा पनि आफूलाई भेट्न नसकेको भाव गीतको अर्को अंशमा अभिव्यक्त छ।
पाना पाना पल्टाएर खोजेँ, भेटिएन कतैपनि,
धुजा धुजा भयो जीवन।
मनभित्र हेर्दा पनि आप्mनो रूपै देखिनँ,
हजारौँ सपना बोकेँ, आफैँलाई चिनिन।
रँमञ्चजस्तो संसारमा मानिस बाहिर हाँसिरहेको देखिए पनि भित्र अनेकौँ पीडा, असन्तुष्टि र रिक्तता बोकेर बाँचिरहेको हुन सक्ने यथार्थ गीतले प्रस्तुत गरेको छ। गीतकार सरकारका अनुसार भौतिक उपलब्धि र प्रगतिलाई मात्र जीवनको अन्तिम लक्ष्य ठान्ने प्रवृत्तिमाथि आत्मसमीक्षा गर्न प्रेरित गर्ने उद्देश्यले गीत रचना गरिएको हो। सम्पत्ति र प्रतिष्ठा हासिल गरेपछि पनि वास्तविक खुसी र सन्तुष्टि कहाँ पाइन्छ भन्ने प्रश्न गीतले उठाएको उनको भनाइ छ।
गीत सार्वजनिक गर्दै साहित्यकार दुवालले यसको स्वर र लय सिर्जनाको तयारी भइरहेको जानकारी गराएका थिए। गीतलाई पूर्ण सांगीतिक स्वरूप दिन संगीत संयोजनको जिम्मेवारी डा. सौरभ सरकार र सन्तोष भक्त श्रेष्ठले सम्हाल्नेछन्। त्यस्तै, स्वराँकनका लागि डा. सचिता रेग्मी र मनोविज्ञ प्रवेश विष्टले तयारी गरिरहेका छन्।
साहित्यिक भ्रमणका क्रममा भएको सिर्जनात्मक छलफलबाट सार्वजनिक गीतले साहित्य, दर्शन र संगीतलाई एउटै भावमा जोड्ने प्रयास गरेको छ। यात्रामा सहभागी साहित्यकारहरूले पनि यसलाई भ्रमणको महत्वपूर्ण सिर्जनात्मक उपलब्धिका रूपमा लिएका छन्। साहित्यिक यात्राले नयाँ ठाउँको अवलोकन र साहित्यकारबीच सम्बन्ध विस्तार मात्र नभई नयाँ सिर्जनाको प्रेरणासमेत दिन सक्छ भन्ने उदाहरणका रूपमा यस गीतलाई हेरिएको छ।








तपाईंको विचार लेख्नुहोस्