संयुक्त निर्वाचनको संवैधानिक गाँठो


आवधिक निर्वाचन लोकतन्त्रको आधार हो, तर लोकतन्त्रको अभ्यासका नाममा राज्यले अनावश्यक आर्थिक र प्रशासनिक भार बोकिरहनुपर्ने अवस्था पनि उचित होइन । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने चर्चासँगै यो प्रश्न उठेको छ ।

दुई निर्वाचन छुट्टाछुट्टै गराउँदा दोहोरिने सुरक्षा व्यवस्थापन, कर्मचारी परिचालन, म्यादी प्रहरी भर्ती, मतदान केन्द्र सञ्चालन र अन्य प्रशासनिक खर्च कटौती गर्न सके राज्यको तीनदेखि पाँच अर्ब रुपैयाँसम्म बचत हुन सक्ने अनुमान छ । सार्वजनिक खर्चको बढ्दो चाप र सीमित स्रोतका बीच यो रकम सानो होइन, तर पनि खर्च बचतको आकर्षक तर्कले मात्र संयुक्त निर्वाचनको संवैधानिक र कानुनी आधारलाई ओझेलमा पार्न भने अवश्य मिल्दैन ।

२०७२ सालको संविधान जारी भएपछि गतवर्ष फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनबाहेक अहिलेसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदै आएको छ । स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक अहिलेसम्म भएको छैन । अहिले निर्वाचन एकीकृत गर्ने बहससँगै त्यससम्बन्धी संविधान र निर्वाचनसम्बन्धी कानुन संशोधन गर्नुपर्ने वा मौजुदा व्यवस्थाको व्याख्या गर्नुपर्ने विषय पनि उठेको छ । २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदै छ । प्रदेशसभाको कार्यकाल भने २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनका आधारमा हेर्दा अर्को वर्षको मंसिरमा समाप्त हुनेछ ।

अर्थात्, दुवै तहको कार्यकालबीच करिब ६ महिनाको अन्तर छ । संविधानले स्थानीय तह र प्रदेशसभाको कार्यकाल पाँच वर्ष निर्धारण गरेको छ । स्थानीय तहको निर्वाचन कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि गर्नुपर्ने निर्वाचन ऐनको व्यवस्था छ । कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधान पनि छ । यही समयगत असमानता संयुक्त निर्वाचनको मुख्य गाँठो हो । निर्वाचन खर्च घटाउने नाममा कुनै तहका निर्वाचित प्रतिनिधिको कार्यकाल छोट्याउने वा जनप्रतिनिधिविहीन अवस्था सिर्जना गर्ने निर्णय सहजै लिन सकिँदैन ।

स्थानीय तहको कार्यकाल सकिएपछि प्रदेशसभासँगै निर्वाचन गराउने विकल्पमा जाने हो भने बीचको अवधिमा स्थानीय शासन कसरी सञ्चालन हुन्छ भन्ने स्पष्ट हुनुपर्छ । पुरानै जनप्रतिनिधिलाई निरन्तरता दिने हो भने त्यसको कानुनी आधार आवश्यक हुन्छ । अर्कोतर्फ, प्रदेशसभाको निर्वाचन निर्धारित समयभन्दा अघि गराउने हो भने संविधानको कार्यकालसम्बन्धी व्यवस्थासँग त्यसलाई कसरी मिलाउने भन्ने प्रश्न पनि उठेको छ । निर्वाचनका लागि प्रत्येकपटक सुरक्षा निकाय परिचालन, म्यादी प्रहरीको भर्ती, तालिम, पोशाक, भत्ता, कर्मचारी व्यवस्थापन र मतदान केन्द्र सञ्चालनमा ठूलो खर्च हुन्छ ।

एउटै समयमा निर्वाचन गराउँदा यी खर्चमा उल्लेख्य कटौती हुन सक्छ । निर्वाचन आचारसंहिताका कारण सरकारका नियमित काम प्रभावित हुने अवधि पनि घट्न सक्छ । यसले प्रशासनिक दक्षता र राज्यको स्रोत व्यवस्थापनमा सकारात्मक प्रभाव पार्न सक्छ । तर बचतको अनुमानलाई वास्तविक खर्चको विस्तृत विश्लेषणबाट पुष्टि गर्नुपर्छ ।
निर्वाचनको मिति केवल खर्च र सुविधा हेरेर तय गरिने प्रशासनिक निर्णय होइन । यो जनप्रतिनिधिको वैधानिकता, नागरिकको मतदान अधिकार र लोकतान्त्रिक निरन्तरतंसँग जोडिएको विषय हो । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षता पनि उत्तिकै महत्वपूर्ण छ ।

सरकार र दलहरूले खर्च घटाउने उद्देश्य राख्नु स्वाभाविक हो । संयुक्त निर्वाचनबारे निर्णय गर्नुअघि संविधान, निर्वाचनसम्बन्धी कानुन र स्थानीय शासन सञ्चालनको व्यवस्थाबारे स्पष्ट अध्ययन आवश्यक छ । संविधान संशोधन अपरिहार्य हो वा मौजुदा व्यवस्थाको व्याख्या र ऐन संशोधनबाट समाधान सम्भव छ भन्ने विषयमा कानुनविद्, निर्वाचन आयोग, राजनीतिक दल र सरोकारवालाबीच खुला बहस हुनुपर्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।