लोकप्रियताभन्दा कुशल शासनको चाहना


राजनीतिमा जनताको विश्वास जित्न जति कठिन छ, त्यसलाई कायम राख्न झनै कठिन हुन्छ । विगतका राजनीतिक घटनाक्रमले पनि यही तथ्य पुष्टि गरेका छन् । निर्वाचनमा प्राप्त समर्थन, सडकमा देखिने उत्साह र सामाजिक सञ्जालमा व्यक्त हुने प्रशंसाले लोकप्रियता बढाउन सक्छ, तर लोकप्रियता नै सफलताको आधार होइन । सरकारको सफलता शासन सञ्चालनमा देखिने परिणामबाट मापन हुन्छ ।

परिवर्तनको आशा राखेर सत्तामा पु¥याएको नेतृत्वले जनअपेक्षाअनुसार काम गर्न सकेन भने समर्थन निराशामा बदलिन धेरै समय लाग्दैन । नयाँ राजनीतिक शक्तिप्रति नागरिकको आकर्षण पुराना दल र तिनको कार्यशैलीप्रतिको असन्तुष्टिको परिणाम पनि हो । वर्षौंदेखि दोहोरिँदै आएका राजनीतिक आश्वासन, सुस्त प्रशासन, भ्रष्टाचार, बेरोजगारी र सार्वजनिक सेवामा देखिएका बेथितिले नागरिकलाई नयाँ विकल्प खोज्न बाध्य बनाएको हो । त्यसैले नयाँ नेतृत्वले जनताको अपेक्षालाई बुझेर उनीहरूको दैनिक जीवनमा परिवर्तन अनुभूत हुने गरी शासन सञ्चालन गर्न सक्नुपर्छ ।

किसानको उत्पादन, श्रमिकको अधिकार, व्यवसायीको लगानी, शिक्षकको जिम्मेवारी, बालबालिकाको भविष्य र ज्येष्ठ नागरिकको सुरक्षा सरकारका समान प्राथमिकताका विषय हुन् । युवालाई अवसर दिनु सरकारको दायित्व हो भने ज्येष्ठ नागरिकलाई सम्मान, सामाजिक सुरक्षा र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु पनि उत्तिकै आवश्यक छ । एउटा समूहको अपेक्षा पूरा गर्दा अर्को समूहका जायज आवश्यकता उपेक्षित हुनु न्यायपूर्ण शासन हुन सक्दैन ।

नेपालको राजनीतिक इतिहासले जनताको समर्थन सधैँ एउटै नेतृत्वसँग रहँदैन भन्ने देखाएको छ । कुनै समय अत्यन्त शक्तिशाली मानिएका नेताहरू पनि जनविश्वास कमजोर भएपछि राजनीतिक चुनौतीमा परेका छन् । जनताले नेतृत्वलाई उचाइमा पु¥याउन सक्छन्, तर त्यसलाई टिकाइराख्ने आधार निरन्तर जनविश्वास नै हो । विगतको लोकप्रियता, निर्वाचनमा प्राप्त सफलता वा नयाँ नेतृत्वप्रतिको आकर्षणले राजनीतिक भविष्य सुनिश्चित गर्दैन । सत्ता प्राप्त गर्नु र सफलतापूर्वक शासन सञ्चालन गर्नु फरक विषय हुन् ।

परम्परागत राजनीतिक अभ्यासबाट निराश नागरिकले नयाँ नेतृत्वबाट ठूलो अपेक्षा राखेका छन् । ती अपेक्षा पूरा गर्न भाषण, प्रचार र आश्वासनभन्दा कामको परिणाम आवश्यक छ । सार्वजनिक सेवा सहज बनाउने, भ्रष्टाचार नियन्त्रण गर्ने, रोजगारी सिर्जना गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने तथा सरकारी कार्यालयमा हुने अनावश्यक झन्झट हटाउने कामबाट मात्र नागरिकले परिवर्तनको अनुभूति गर्न सक्छन् ।

जनताको दैनिक जीवनमा सुधार आउन सकेन भने राजनीतिक परिवर्तनको औचित्य स्थापित हुन सक्दैन । सुशासन कायम गर्ने नाममा कानुनी प्रक्रिया र लोकतान्त्रिक मर्यादालाई कमजोर बनाउनु पनि उचित हुँदैन । भ्रष्टाचार र अनियमिततामाथिको कारबाही निष्पक्ष तथा प्रमाणमा आधारित हुनुपर्छ । अर्को कुरा, आलोचना सुन्ने र कमजोरी सच्याउन सक्ने नेतृत्वले शासनलाई अझ प्रभावकारी बनाउन सक्छ ।

नयाँ राजनीतिक शक्तिको सफलता पुराना दल कमजोर भए भन्ने आधारमा होइन, आफूले कति प्रभावकारी शासन गर्न सकियो भन्ने आधारमा मापन हुनुपर्छ । नेतृत्वले आफ्नो राजनीतिक भविष्य जनताको विश्वास र कामको परिणामसँग जोडेर हेर्न आवश्यक छ । सरकारले सबै समस्या तत्काल समाधान गर्न नसक्ला । सीमित स्रोत र जटिल परिस्थितिका कारण कतिपय काममा समय लाग्न सक्छ । तर सरकारले आफ्नो प्राथमिकता स्पष्ट पार्न, कामको समयसीमा निर्धारण गर्न र नागरिकप्रति जवाफदेही बन्न भने सक्छ ।

अहिले प्राप्त राजनीतिक अवसरलाई लोकप्रियता जोगाउने प्रयासमा मात्र सीमित गर्नुहुँदैन । जनताको विश्वासलाई संस्थागत सुधार, सुशासन र जीवनस्तर उकास्ने काममा रूपान्तरण गर्न सके नयाँ नेतृत्वले दीर्घकालीन राजनीतिक विरासत बनाउन सक्छ । अन्यथा, परिवर्तनको आशामा उदाएको नयाँ राजनीतिक शक्ति पनि निराशाको अर्को कारण बन्न सक्छ । त्यसैले अहिलेको मुख्य परीक्षा लोकप्रियता होइन, जनताले अनुभूत गर्ने शासन र परिणाम हो । जनताले चाहेको पनि कुशल शासन नै हो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।