राष्ट्रिय अपेक्षाको परीक्षा, कूटनीतिको अग्निपरीक्षा


प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालले केवल औपचारिक कूटनीतिक यात्राका रूपमा मात्र हेरेको छैन । दुई देशबीच लामो समयदेखि थाती रहेका समस्या समाधान गर्ने, आपसी सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने र नेपालको राष्ट्रिय हितलाई स्थापित गर्ने अवसरका रूपमा यो भ्रमणलाई हेरिएको छ । सरकार गठन भएको आठ महिनापछि शुरु भएको यो भ्रमणबाट नेपाली जनताले ठूलो अपेक्षा राख्नु स्वाभाविक हो । तर, भ्रमणको महत्व त्यसको भव्यता, भेटघाट र औपचारिकताले होइन, त्यसबाट प्राप्त हुने ठोस उपलब्धिले निर्धारण गर्नेछ । नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक र सामाजिक रूपमा निकै निकट छ । खुला सीमा, जनस्तरको सम्बन्ध र पारस्परिक निर्भरताले दुई देशलाई जोडेको छ । तर, निकट सम्बन्ध हुँदाहुँदै पनि दुई देशबीच कतिपय गम्भीर समस्या वर्षौंदेखि समाधान हुन सकेका छैनन् । सीमा विवाद, सन् १९५० को शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन, व्यापार तथा पारवहनका जटिलता, ऊर्जा सहकार्य र हवाई प्रवेशमार्ग त्यसका प्रमुख उदाहरण हुन् । यी विषयमा विगतमा पटक–पटक छलफल र सहमति भए पनि कार्यान्वयनको गति अपेक्षाकृत सुस्त छ।

विशेष गरी लिपुलेक, कालापानी र लिम्पियाधुरासम्बन्धी सीमा विवाद नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतासँग जोडिएको संवेदनशील विषय हो । नेपालले आफ्नो भूभाग भएको दाबी गर्दै आएको यस क्षेत्रमा भारतसँग कूटनीतिक संवादमार्फत समाधान खोज्नु सरकारको प्राथमिकता हुनुपर्छ । राष्ट्रियताको विषयलाई राजनीतिक भाषणमा सीमित राखेर हुँदैन । प्रमाण, ऐतिहासिक दस्तावेज र कूटनीतिक क्षमताका आधारमा नेपालको दाबीलाई स्थापित गर्न निरन्तर पहल आवश्यक छ । प्रधानमन्त्री शाहले यस विषयलाई उच्चस्तरीय वार्तामा उठाउनु मात्र होइन, समाधानका लागि स्पष्ट प्रक्रिया र समयसीमा तय गर्ने प्रयास गर्नुपर्छ । त्यसै गरी, सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको पुनरावलोकन अर्को महत्वपूर्ण एजेन्डा हो । बदलिएको राजनीतिक, आर्थिक र अन्तर्राष्ट्रिय परिवेशमा पुरानो सन्धिका प्रावधानलाई समयानुकूल बनाउनु आवश्यक छ । दुवै देशका नागरिकको हित, समान सार्वभौमिकता र पारस्परिक सम्मानका आधारमा सन्धि पुनरावलोकन हुनुपर्छ । नेपालले भारतबाट प्राप्त गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगमा वृद्धि, व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात र पूर्वाधार विकासमा थप सहकार्यका लागि पनि प्रधानमन्त्रीले स्पष्ट प्रस्ताव राख्न सक्नुपर्छ ।

नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारका लागि थप हवाई प्रवेशमार्ग प्राप्त गर्नु पनि उत्तिकै महत्वपूर्ण विषय हो । विशेष गरी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनसँग यो विषय जोडिएको छ । नेपालले लामो समयदेखि माग गर्दै आएको थप हवाई रुटमा भारतको सकारात्मक सहमति प्राप्त गर्न सके नेपालको पर्यटन, व्यापार र उड्डयन क्षेत्रले ठूलो लाभ लिन सक्छ । यो विषयमा ठोस प्रगति हुन सके प्रधानमन्त्रीको भ्रमणको एउटा महत्वपूर्ण उपलब्धि बन्नेछ । तर, विगतका अनुभवले एउटा प्रश्न खडा गरेको छ । नेपाल र भारतबीच सहमति हुने तर कार्यान्वयन नहुने समस्याको अन्त्य कसरी गर्ने ? विगतमा पनि उच्चस्तरीय भ्रमण भएका छन्, दर्जनौँ सम्झौता भएका छन् र संयुक्त वक्तव्य जारी भएका छन् । तर, कतिपय प्रतिबद्धता कागजमै सीमित छन् । त्यसैले यसपटक पनि पुरानै आश्वासन दोहोरिने हो भने भ्रमणको औचित्यमाथि प्रश्न उठ्नु अस्वाभाविक हुनेछैन ।

प्रधानमन्त्री शाहका लागि यो भ्रमण आफ्नो सरकारको कूटनीतिक क्षमता प्रमाणित गर्ने अवसर पनि हो । नेपाली जनताले नयाँ सरकारबाट पुरानै शैलीको औपचारिक कूटनीति होइन, परिणाममुखी पहलको अपेक्षा गरेका छन् । भारतसँगको सम्बन्धमा न अनावश्यक कटुता आवश्यक छ, न त राष्ट्रिय हितका विषयमा सम्झौताहीन प्रश्न उठाउन हिचकिचाउनु उचित हुन्छ । मित्रता र राष्ट्रिय स्वाभिमान एक–अर्काका विरोधी होइनन् । समानता, पारस्परिक सम्मान र विश्वासमा आधारित सम्बन्ध नै दिगो सम्बन्धको आधार हो । अन्ततः प्रधानमन्त्रीको भारत भ्रमणको वास्तविक मूल्यांकन संयुक्त वक्तव्यमा समेटिने विषय, हुने सहमति र तिनको कार्यान्वयनको सुनिश्चितताबाट हुनेछ । सीमा समस्या, सन्धि पुनरावलोकन, हवाई रुट र आर्थिक सहयोगजस्ता महत्वपूर्ण विषयमा स्पष्ट उपलब्धि हासिल गर्न सके यो भ्रमण ऐतिहासिक बन्न सक्छ । अन्यथा, अपेक्षा धेरै तर प्रतिफल न्यून हुने भ्रमणको सूचीमा अर्को एउटा भ्रमण थपिनेछ । भ्रमणको सफलता कूटनीतिक आतिथ्य र तस्वीरमा होइन, नेपाली जनताको अपेक्षा पूरा गर्ने ठोस परिणाममा देखिनुपर्छ । नेपालले यसपटक भारत भ्रमणबाट आश्वासन होइन, उपलब्धि खोजेको छ । प्रधानमन्त्री शाहले यही अपेक्षालाई उपलब्धिमा बदल्न सक्नुपर्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।