चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीसँग सहमति गर्ने, त्यसलाई कार्यान्वयन गर्न ढिलाइ गर्ने र कार्यान्वयनको चरणमा सहमतिको मर्म नै बदल्ने प्रवृत्ति सरकारको जिम्मेवारीबाट विमुख हुने चरित्र हो ।
यो केवल एक व्यक्तिको माग वा असन्तुष्टिको विषय होइन, राज्यको विश्वसनीयता, चिकित्सा शिक्षाको सुशासन र नागरिकको स्वास्थ्य अधिकारसँग जोडिएको गम्भीर प्रश्न हो । सरकारले सम्झौता गरेर त्यसको भावनाविपरीत काम गर्छ भने सम्झौताको औचित्य र सरकारी प्रतिबद्धतामाथि नै प्रश्न उठ्छ ।
गत कार्तिक २१ गते डा. केसीको २५औँ सत्याग्रहका क्रममा भएको सहमतिको बुँदा नं. १ कार्यान्वयन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले समिति गठन गरेको छ । तर, सहमतिमा उल्लिखित चिकित्सा शिक्षा आयोगको निर्णय, शैक्षिक कार्यक्रम सञ्चालन अनुमति, सिट निर्धारण, मापदण्डको पालना, स्वार्थको द्वन्द्व तथा जिम्मेवार पदाधिकारीको जवाफदेहितामाथि छानबिन गर्ने विषयलाई सीमित गरी संस्थाको स्थलगत अनुगमन र सञ्चालन क्षमता मूल्यांकनमा केन्द्रित गरिएको भन्दै डा. केसीले आपत्ति जनाउनुभएको छ । सहमतिको विषय एउटा र समितिको कार्यक्षेत्र अर्को बनाउनु कार्यान्वयन होइन, सहमतिलाई कमजोर बनाउने प्रयास हो ।
सरकारले छानबिन गर्नुपर्ने विषयलाई निरीक्षण र मूल्यांकनमा सीमित गरेर जिम्मेवारीबाट उम्कन खोज्नुहुँदैन । चिकित्सा शिक्षामा मापदण्ड उल्लंघन, निर्णय प्रक्रियामा अपारदर्शिता वा स्वार्थको द्वन्द्व भए त्यसको निष्पक्ष छानबिन हुनुपर्छ । कुनै संस्था वा व्यक्तिलाई पूर्वाग्रहका आधारमा दोषी ठहर गर्नु होइन, विधि, प्रमाण र जवाफदेहिताको आधारमा सत्य स्थापित गर्नु नै राज्यको दायित्व हो ।
डा. केसीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको सुधारका लागि वर्षौंदेखि संघर्ष गर्दै आउनुभएको छ । पटकपटक आमरण अनशनमा बस्दा उहाँको स्वास्थ्यमा गम्भीर असर परेको, सुगर, रक्तचाप, मुटुसम्बन्धी समस्या, मांसपेशी दुख्ने तथा पल्समा उतारचढावजस्ता जटिलताहरू देखिएको विषयलाई राज्यले संवेदनशीलताका साथ लिनुपर्छ ।
स्वास्थ्य सुधारको माग गर्ने अभियन्ताको स्वास्थ्य नै निरन्तर जोखिममा पर्ने परिस्थिति सिर्जना हुनु राज्यको संवेदनहीनताको संकेत बन्नुहुँदैन । उहाँको स्वास्थ्यप्रति सरकारको जिम्मेवारी केवल औपचारिक चासोमा सीमित रहनुहुँदैन । हरेकपटक सत्याग्रह, वार्ता, सहमति र कार्यान्वयनको विवाद दोहोरिनु समाधान होइन ।
सरकार परिवर्तन भए पनि चिकित्सा शिक्षा सुधारका मुद्दा किन अधुरा रहन्छन् ? सहमति किन समयमै कार्यान्वयन हुँदैन ? सुधारका मागलाई किन स्थायी कानुनी तथा संस्थागत व्यवस्थामा रूपान्तरण गरिँदैन ? यी प्रश्नको जवाफ सरकारसँग हुनुपर्छ ।
नेपालको चिकित्सा शिक्षा नेपाली जनताको आर्थिक अवस्था, भौगोलिक पहुँच, स्वास्थ्य आवश्यकताको प्रकृति र स्वास्थ्य संस्थाको क्षमतासँग मेल खाने गरी व्यवस्थित हुनुपर्छ । त्यसका लागि आवश्यक परे कानुन संशोधन, नीतिगत पुनरावलोकन र संस्थागत सुधार गर्न सरकार पछि हट्नुहुँदैन ।
सहमति अनुगमनटोली बनाएर छलफल र बैठकमा टोलीका दुवै पक्षका सदस्यहरु बसेर समयमै समस्याको दीर्घकालीन निकास निकालोस् । सरकारी पक्षका अनुगमनटोली सदस्यले डा. केसी पक्षका सदस्यलाई खबरै नगरी छलफल गर्नुले निकास निकाल्दैन, थप विवाद सृजना गर्छ । फलाम काट्न फलाम नै चाहिन्छ ।
समस्याको समाधान दुवै पक्षको वार्ताबाट मात्र सम्भव हुन्छ । यस्ता गम्भीर विषयमा सरकारी पक्षले हलुका रुपमा नलेओस र आम नेपालीको आशा र भरोसा बोकेको सरकारले युवा पुस्ताको विश्वास नतोडोस् । डा. के.सी.ले उठान गरेका हरेक माग प्रत्यक्ष, परोक्ष रुपमा युवा, शिक्षा, स्वास्थ्य र आम नागरिकको पक्षमा छन् ।
सरकारले डा. केसीसँग भएका सहमति अक्षरशः कार्यान्वयन गरोस्, निष्पक्ष छानबिन सुनिश्चित गरोस् र स्वास्थ्य शिक्षा सुधारलाई व्यक्तिको सत्याग्रहमा निर्भर रहने अवस्थाबाट मुक्त गरी कानुनी प्रणालीमा स्थापित गरोस् । नागरिकको स्वास्थ्य अधिकार र चिकित्सा शिक्षाको भविष्य वार्ता तथा सम्झौताको औपचारिकतामा होइन, सरकारको इमानदार कार्यान्वयनमा सुरक्षित हुन्छ । त्यसबाट पन्छिने सरकार नै अन्ततः जवाफदेहिताको कठघरामा उभिनुपर्नेछ ।








तपाईंको विचार लेख्नुहोस्