नेपाली गीतसंगीतमा कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गर्दै नया म्युजिक भिडियो सार्वजनिक गरिएको छ। निर्मलराज पौडेलको शब्द तथा स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको गीत हिस्सिएकी कालीको भिडियोमा एआई प्रविधिको प्रयोग गरिएको हो।
वेलकम एभी प्रोडक्सनले निर्माण गरेको भिडियो परम्परागत छायांकन प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा तयार पारिएको छ। प्रेम, माया र भावनात्मक सम्बन्धका विषय समेटिएको गीतमार्फत नेपाली संगीत क्षेत्रमा प्रविधिको नया प्रयोग गर्ने प्रयास गरिएको गायक निर्मलराजले बताए। उनका अनुसार एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न र सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको छ। नेपाली संगीत क्षेत्रमा प्रविधिको प्रयोग बढिरहेका बेला गीतको भिडियो निर्माणमा गरिएको यो प्रयोगले नया सम्भावनाको खोजी गरेको उनको भनाइ छ।
गीतको भिडियोमा सुबु शर्मा, रोशन अर्याल र अनिश शर्माले अभिनय गरेका छन्। विशेष अतिथि कलाकारका रूपमा सुनील भट्टराई र खेमराज पन्त प्रस्तुत भएका छन्। गीतको संगीत निर्देशन मोहित मुनालले गरेका छन्। भिडियोको छायांकन निर्देशक कृष्ण बी. थापा हुन् भने सम्पादन तथा रंग संयोजन मनिषराज पौडेलले गरेका छन्।








तपाईंको विचार लेख्नुहोस्