प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई सुधार गर्न महत्वपूर्ण भूमिका खेलेको छ । आइतबार र सोमबार दुईदिने भारत भ्रमणको क्रममा आर्थिक साझेदारी, ऊर्जा, पारवहन र पूर्वाधार विकासमा नयाँ सम्झौता भएको छ । राजकीय भ्रमणका क्रममा दुई देशबीच आठवटा समझदारीपत्र आदानप्रदान भएका छन् । विकास सहायतादेखि जलविद्युत्, रेलमार्ग, पेट्रोलियम पूर्वाधार र उच्च शिक्षासम्मका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ । सो सहमतिले नेपाल र भारतसँगको सम्बन्ध मजबुत भएको छ । यसले दुई देशबीचको सौहार्दता उचाइमा पुगेको छ ।
सबैभन्दा ठूलो आर्थिक घोषणा भारतले नेपाललाई उपलब्ध गराउने २ खर्ब ४० अर्ब नेपाली रुपैयाँबराबरको विकास सहायता हो । यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाका लागि ऋण सुविधा हुनेछ । सहयोगको विस्तृत परियोजना र कार्यान्वयन विधि आपसी परामर्शबाट तय गरिनेछ । दुई प्रधानमन्त्रीले ‘विकसित भारत र समुन्नत नेपाल’ नामक संयुक्त दूरदृष्टि दस्तावेजसमेत स्वीकार गरेका छन् । परम्परागत आर्थिक तथा विकास साझेदारी, ऊर्जा, जलस्रोत र सम्पर्क सञ्जालसँगै जलवायु उत्थानशीलता, विपद् व्यवस्थापन, स्टार्टअप, डिजिटल सेवा, अन्तरिक्ष र नवप्रवर्तनलाई सहकार्यका नयाँ क्षेत्रका रूपमा अघि सारिएको छ ।
ऊर्जा सहकार्यअन्तर्गत ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) शीघ्र टुंग्याउन तथा सप्तकोशी र सुनकोशी आयोजनाको डीपीआर प्रक्रिया तीव्र बनाउने सहमति भएको छ । जनकपुर–अयोध्या रेलसेवा आरम्भ भएको छ । दुई देशबीच भएको सम्झौता अति महत्वपूर्ण र दूरगामी फाइदा देखिने खालको छ । सम्भवतः सबैभन्दा छोटो समय (दुई दिन) मात्रै छिमेकी राष्ट्र भारत भ्रमण गर्ने सबैभन्दा कम उमेरका प्रधानमन्त्रीको इतिहास लेखाएका शाहले भ्रमणको उद्देश्य पूरा भएको दाबी गरेका छन् ।
सीमा विवादको विषयले प्रवेश नपाए पनि अन्य द्विपक्षीय सम्झौता कोसेढुंगा साबित भएको छ । सिमानाको विषय आपसी समझदारीमा अघि बढाउने उल्लेख छ ।
भ्रमणका क्रममा रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको अन्तिम स्थान सर्वेक्षण सम्पन्न भएको घोषणा गर्दै पूर्व–पश्चिम रेलमार्ग विकासमा सहकार्य गर्ने सहमति भएको छ । हाल एकतर्फी रहेको बी ३४५ काठमाडौँ–भैरहवा–लखनऊ हवाईमार्गलाई दुईतर्फी बनाउने निर्णय भएको छ । यसले हवाई इतिहासमा महत्वपूर्ण भूमिका खेलेको छ । यससम्बन्धी प्रारुपलाई टुंग्याउन र छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी दुवै पक्षका अरू प्रस्तावहरूलाई सम्बोधन गर्न प्राविधिक परामर्शहरू गरिने बताइएको छ ।
भारतसँग भएको यो सम्झौता महत्वपूर्ण हो । भारत सरकारसँग यद्यपि सो सम्झौता कहिलेबाट शुरु गरिने भन्ने उल्लेख गरिएको छैन । प्रधानमन्त्री शाह भारत भ्रमणबाट फर्केर भारतीय प्रधानमन्त्री र जनतालाई धन्यवाद दिनुभएको छ । प्रधानमन्त्रीका रूपमा शाहको पहिलो विदेश भ्रमण अमेरिका थियो । भारत भ्रमण दोस्रो वैदेशिक भ्रमण हो । प्रम शाहको यो भ्रमणलाई सबै पक्षले स्वागत गरेका छन् । सबैले स्वागत गरेझैँ सम्झौतालाई तत्काल कार्यान्वयनमा ल्याउन आवश्यक छ ।








तपाईंको विचार लेख्नुहोस्