काठमाडौँ।
कवि वासुदेव अधिकारी ‘पाँचथरे’को नयाँ कविता संग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण भएको छ। कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्थाका अध्यक्ष नरबहादुर बिसी तथा प्राडा हेमनाथ पौडेललगायतले कृति संयुक्त रूपमा लोकार्पण गरेका हुन्।
कार्यक्रममा प्रमुख अतिथि खनालले ‘समयको प्रतिबिम्ब’ले वर्तमान समयको यथार्थलाई प्रतिबिम्बित गर्दै सामाजिक परिवर्तन र समाजवाद स्थापनाको सन्देश बोकेको बताए।
कृतिको समीक्षा गर्दै प्राडा पौडेलले संग्रहमा वर्तमान समाजका विकृति र यथार्थलाई कविले तीखो रूपमा प्रस्तुत गरेको बताए। उनका अनुसार कवितामार्फत समाजमा नयाँ चेतना ल्याउने प्रयास गरिएको छ।
कृतिकार पाँचथरेले कार्यक्रममा आफ्नो पहिलो कविता ‘इमान’ वाचन गरेका थिए। साहित्यकार सोइना दाहाल, प्रेम राई परीक्षित र घनबहादुर थापाले पनि संग्रहबाट एक–एक कविता वाचन गरेका थिए।
प्रगतिवादी धारका कवि पाँचथरेले आफ्ना कवितामार्फत सामाजिक विकृतिविरुद्ध आवाज उठाउँदै समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउने प्रयास गरेका छन्। ‘समयको प्रतिबिम्ब’ उनका यसअघि प्रकाशित ‘खबरदार’ र ‘आँसुको भेल’ पछि तेस्रो कविता संग्रह हो।
संग्रहमा अधिकांश कविता अभिधात्मक शैलीमा लेखिएका छन् भने केही कवितामा बिम्ब र प्रतीकको प्रयोग गरिएको छ।











प्रतिक्रिया