जनकवि दुर्गालाल श्रेष्ठ : दशक ८ स्मृति समारोह,खाली अक्षरासन भारी सम्झना


खाली छ कुर्सी, छेउकै टेबल पनि छ खाली, ल्यान्डलाइन फोन छ शान्त। कपी र कलम राखिएको टेबुल अनि खाली कुुर्सीले कसैको सिर्जना कुरिरहेको छ। माथि जनकवि दुर्गालाल श्रेष्ठद्वारा लिखित कृतिहरू फरफराइरहेका छन्।


मंगलवार ललितपुरमा अवस्थित होटल द प्लाजास्थित साहित्य र संगीतप्रेमीहरूको सहभागिताले खचाखच हलको यो दृश्यले यस्तो अनुभूति गराइरहेको थियो, मानाँँ जनकवि दुर्गालाल श्रेष्ठ जुनसुकै बेला आएर त्यही कुर्सीमा बस्नेछन्, लेख्नेछन् र आफ्ना गीत तथा कविता सुनाउनेछन्।
जनकवि दुर्गालाल श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा आयोजित जनकवि दुर्गालाल श्रेष्ठ दशक ८ स्मृति समारोहमा उनको अनुपस्थितिलाई यही गहिरो सांकेतिक प्रस्तुतिमार्फत महसुस गराइएको थियो। जीवनकालमै उनलाई सम्मान गर्ने तयारी गरेको कार्यक्रम स्मृति समारोहमा परिणत भएको पीडा र उनको अक्षर तथा सिर्जनालाई जीवित राख्नुपर्ने जिम्मेवारी कार्यक्रममा गहिराइका साथ व्यक्त गरियो।

वसन्त चौधरी फाउण्डेशन र दुर्गालाल साहित्य प्रतिष्ठानको आयोजनामा सम्पन्न समारोहले कार्यक्रम अवधिभर सहभागीलाई भावुक बनायो। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल, वसन्त चौधरी फाउण्डेशनकी अध्यक्ष मेघा चौधरी, दुर्गालालका जेष्ठ सुपुत्र सुमन श्रेष्ठलगायतले मञ्चमा राखिएको खाली आसनलाई अक्षरासनको रूपमा पुज्दै आरम्भ गरिएको कार्यक्रममा दुर्गालालका २ दर्जन अप्रकाशित कृतिमध्ये ६ कृति भिडियोमार्फत सार्वजनिक गरिएको थियो।

तीनमध्येको फिँजमाथि दुर्गालालको कवितालाई गीतका रूपमा प्रस्तुत गर्दै वसन्त चौधरी फाउण्डेसनमा संस्थापक तथा प्रतिष्ठित उद्योगपति, गीतकार एवं साहित्यकार वसन्त चौधरीले संगीतका साथ गीत सुनाए। वसन्त स्वयंको स्वरबाट सो रचना गीत बनेर गुञ्जि“दा सबै सहभागी भावुक भए भने उनको फिँज पुनः ताजा हुन पुग्यो। उनको गायन र भावनात्मक प्रस्तुतिबाट सबै यति भावुक हुन पुगे कि दुर्गालालका ज्येष्ठ सुपुत्र सुमन श्रेष्ठले भावुक हु“दै भने ‘दुर्गालालको छोरा वसन्त दाइ हो कि सुमन?’ उनले परिवारमा जन्मि“दैमा मात्र छोरा नहुने चर्चा गर्दै दुर्गालाले सधैँ साथीहरूलाई सर्वोपरि र ईश्वर मान्ने तथा कहिल्यै ढुंगाको मूर्तिलाई ढोग्ने नगरेको स्मरण गरे।

साहित्यकार राजेन्द्र सलभद्वारा सञ्चालित कार्यक्रममा चौधरीले दुर्गालालले शब्दभित्र जीवन कसरी बाँच्ने ? भन्ने संस्कार सिकाएको स्मरण गर्दै कार्यक्रम गर्ने तयारी भइरहेका बेला उनको निधनले आफूलाई चकित पारेर छाडेको बताए। उनका अक्षरलाई जीवित राख्ने दायित्व भएको चर्चा गर्दै उनले दुर्गालाल सधैँ अक्षरमा बाँचेका र बाँचिरहने धारणा व्यक्त गरे।

कार्यक्रममा उनको जीवनी झल्कने भिडियो प्रस्तुत गरिएको थियो भने भिडियो प्रस्तुतिबाटै समालोचक डा. अभि सुवेदी र डा. ज्योति तुलाधरले दुर्गालालको योगदान र अक्षरको महत्वबारे चर्चा गरे। कार्यक्रममा बाल कवि सजगता मानन्धरले दुर्गालालका बाल कविता वाचन गरिन्। प्रतिशा सायमीले नेपाल भाषामा र रमण घिमिरेले नेपाली भाषामा उनका कविता प्रस्तुत गरे।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले दुर्गालालको परिवारलाई जनकवि अक्षर महर्षि दुर्गालाल श्रेष्ठ सम्मान प्रदान गरिन्। सोही अवसरमा दुर्गालाल श्रेष्ठ फन्टसमेत सार्वजनिक गरिएको छ।

कार्यक्रम औपचारिक रूपमा सुरु हुनु अघि विभिन्न गायकगायिकाले दुर्गालालद्वारा रचित गीतहरू प्रस्तुत गरेका थिए।