पाल्पा ।
साहित्यकार आर.बी. निश्चलको सातौं काव्य कृति ‘ब्रह्माण्डको अन्त्य’ विमोचन गरिएको छ । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस, नेपाली विभागले आइतबार क्याम्पसमा आयोजना गरेको समारोहमा उक्त कृति विमोचन गरिएको हो ।
प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थसहित तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, कार्यक्रमका अध्यक्ष एवं नेपाली विभाग प्रमुख उपप्राध्यापक महेन्द्र पन्थी, समीक्षक उपप्राध्यापकद्वय प्रेम खराल र प्रतिभा पौडेल, स्रष्टा निश्चल र उनकी पत्नी मीना खातीले संयुक्तरुपमा कृतिको विमोचन गरे ।
प्रमुख अतिथि डा. पन्थले कवि निश्चलको लेखनमा नेपाली कविताको समकालीन धारामा चर्चित मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना र सीमान्तकृतका मर्मलाई समेटिएको बताए।
समीक्षक उपप्राध्यापक प्रतिभा पौडेलले कविताका तत्वका आधारमा निश्चलको कविता संग्रहमाथि विचार प्रस्तुत गरिन् । उनले कृतिको आवरण, कविताको संरचना, भाव पक्ष र कला पक्षलाई गहन ढंगले केलाइन् ।
साहित्यकार एवं उपप्राध्यापक प्रेम खरालले कवि निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रबिन्दु झल्किएको उल्लेख गरे।
सञ्चारकर्मीसमेत रहेका वडाध्यक्ष अर्यालले आरबी निश्चल सामान्य सिर्जनाबाट उठेर राष्ट्रियस्तरमा चर्चित बनेको भन्दै प्रशंसा गरे।
स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्याएको स्मरण गरे । ब्रह्माण्डको अन्त्यबारे उनले कल्पनामा प्रस्फुटन भएको कुरा बिम्बात्मक तरिकाले प्रस्तुत गरेको बताए । ‘ब्रह्माण्ड फैलिरहेको छ, यो फैलिँदाफैलिँदै पनि अन्त्य हुन सक्छ, यो खुम्चिएर पनि अन्त्य हुन सक्छ, अथवा ब्ल्याक होलले पनि यसलाई निल्न सक्छ भन्ने कुरा काव्यात्मक ढंगले बिम्बात्मक तरिकाले प्रस्तुत गरेको हुँ,’ उनले भने ।
‘यसको मूल सार ब्रह्माण्डको अन्त्य हुनु यसको अस्तित्व पनि अन्त्य हुनु होइन, अनि यो ऊर्जाको पनि अन्त्य हुनु होइन र शून्यको पनि अन्त्य हुनु होइन,’ उनले भने, ‘एक ब्रह्माण्डको अन्त्यपछि फेरि यो सिर्जना हुन्छ भन्ने कुरा होे ।’
कार्यक्रममा साहित्यकार रामप्रसाद अर्याल, लेखक मन गहिरेले निश्चललाई प्रगतिको शुभकामना व्यक्त गरे।
क्याम्पस नेपाली विभाग प्रमुख महेन्द्र पन्थीको अध्यक्षतामा भएको समारोहमा साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले स्वागत र विभागका सदस्य चतुर्भुज नेपालले कार्यक्रम संचालन गरे ।
पाल्पाको रिब्दीकोट–७ का निश्चलले यसअघि ‘मौन हिमाल’, ‘सपनाफूल’, ‘आँसु खस्दै गर्छ’, ‘पैताला पुकार’, ‘किस्ताकिस्तामा जिन्दगी’ र ‘उल्टो धार’ काव्यकृति प्रकाशित गरिसकेका छन् । इम्प्रिन्ट प्रकाशक रहेको “ब्रह्माण्डको अन्त्य” विभिन्न ३ खण्डमा ७२ कविता समेटिएका छन्।











प्रतिक्रिया