फलेवास साहित्य महोत्सवमा जलवायु परिवर्तन र कालीगण्डकी बेसिनका चुनौतीबारे विमर्श


फलेवास, पर्वत । पर्वतको फलेवास नगरपालिका–खानीगाउँस्थित भवन पोखरा पार्कमा तीन दिनसम्म सञ्चालन भएको पहिलो फलेवास लिटरेचर फेस्टिभल (साहित्य महोत्सव) मा कालीगण्डकी बेसिनमा जलवायु परिवर्तनले पार्ने प्रभाव, सम्भावित चुनौती तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनबारे विशेष विमर्श गरिएको छ।

२०८३ साल असोज ३० र ३१ तथा कात्तिक १ गतेसम्म आयोजित महोत्सवमा साहित्य, कला, संस्कृति र विकासका विविध विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। पोखराबाहिर गण्डकी प्रदेशमा आयोजना गरिएको पहिलो साहित्य महोत्सवका रूपमा प्रस्तुत यस कार्यक्रमले स्थानीय प्रतिभा, मौलिक संस्कृति र विकासका सवाललाई एउटै मञ्चमा जोडेको छ।

महोत्सवअन्तर्गत आयोजित ‘कालीगण्डकी बेसिनमा जलवायु परिवर्तनको प्रभाव र चुनौती’ विषयक छलफलमा जलवायु तथा वातावरण विज्ञ नवराज पोखरेल र प्राकृतिक स्रोत व्यवस्थापनका जानकार जुद्धबहादुर गुरुङले विचार प्रस्तुत गर्नुभएको थियो। छलफलको सहजीकरण सुनिल रखालले गर्नुभएको थियो।

छलफलमा नवराज पोखरेलले मौसमी तथा दीर्घकालीन जलवायु परिवर्तनले कालीगण्डकी क्षेत्रको प्राकृतिक वातावरण, जलस्रोत, कृषि, जैविक विविधता, स्थानीय जीविकोपार्जन र विकास प्रक्रियामा पार्न सक्ने प्रभावबारे प्रकाश पार्नुभयो।

उहाँले कालीगण्डकी क्षेत्रको भौगोलिक विविधता, वर्षा तथा तापक्रमको अवस्था र मौसम तथा जलवायुसम्बन्धी उपलब्ध तथ्याङ्क प्रस्तुत गर्दै भविष्यमा देखिन सक्ने सम्भावित जोखिम र चुनौतीबारे सहभागीहरूलाई जानकारी गराउनुभयो।

उहाँले जलवायु तथा मौसमसम्बन्धी तथ्याङ्कको वैज्ञानिक विश्लेषण, जोखिमको पहिचान र स्थानीय आवश्यकतामा आधारित अनुकूलनका उपायलाई विकास योजनासँग जोड्नुपर्नेमा जोड दिनुभयो।

कालीगण्डकी बेसिनको दीर्घकालीन संरक्षण र दिगो विकासका लागि जलवायु परिवर्तनका प्रभावलाई समयमै बुझेर स्थानीय तहदेखि नै योजनाबद्ध प्रयास अघि बढाउन आवश्यक रहेको उहाँको भनाइ थियो।

त्यसैगरी, जुद्धबहादुर गुरुङले प्राकृतिक स्रोतको व्यवस्थापनमा जलवायु परिवर्तनले पार्न सक्ने प्रभावबारे चर्चा गर्नुभयो। वन, पानी, जमिन तथा अन्य प्राकृतिक स्रोतको संरक्षण र दिगो उपयोगमा जलवायु परिवर्तनले सिर्जना गर्न सक्ने चुनौतीलाई सम्बोधन गर्न स्थानीय समुदायको सहभागिता, वातावरणीय सन्तुलन र बदलिँदो जलवायु अवस्थालाई ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

सहजकर्ता सुनिल रखालले दुवै वक्ताका विचारलाई समेट्दै स्थानीय ज्ञान, वैज्ञानिक तथ्याङ्क, वातावरण संरक्षण र दिगो विकासबीचको सम्बन्धमा संवाद अघि बढाउनुभएको थियो।

पूर्व प्रदेशमन्त्री विकास लम्सालको पहलमा आयोजित महोत्सवमा उहाँले यस्ता कार्यक्रमले स्थानीय विकास, साहित्य र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

मौलिक भाषा, कला, संस्कृति र परम्परालाई नयाँ पुस्तासँग जोड्न तथा स्थानीय पहिचानलाई प्रवर्द्धन गर्न साहित्य महोत्सव प्रभावकारी माध्यम बन्न सक्ने उहाँको धारणा थियो।

मोती सामुदायिक पुस्तकालय तथा भवन पोखरा पार्क समितिको आयोजनामा सम्पन्न महोत्सवमा गीत, संगीत, कला, भजन, स्थानीय नृत्य तथा सांस्कृतिक प्रस्तुतिसँगै विकासका सम्भावना, सामाजिक रूपान्तरण, वातावरण संरक्षण र फलेवास क्षेत्रका विविध विषयमा बहस गरिएको थियो। महोत्सवमा हजारौँ मानिसको सहभागिता रहेको थियो।

साहित्य र संस्कृतिलाई वातावरण तथा विकासका समसामयिक सवालसँग जोड्दै आयोजना गरिएको महोत्सवले फलेवासको सांस्कृतिक पहिचान, स्थानीय पर्यटन र सिर्जनशीलतालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

साथै, कालीगण्डकी बेसिनको संरक्षण, जलवायु परिवर्तन अनुकूलन र प्राकृतिक सम्पदाको दिगो व्यवस्थापनबारे जनचेतना अभिवृद्धि गर्नसमेत यस प्रकारका कार्यक्रमले सहयोग पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका छन्।