
यो २०४६÷०४७ सालतिरको कुरा हो, म भर्खर नेपाल ल क्याम्पस प्रवेश गरेर राजनीतिमा चनाखो हुँदै थिएँ । मेरो गृह जिल्ला दोलखामा एउटा नामको निकै चर्चा सुनिने गरेको थियो– आनन्दप्रसाद पोखरेल । वैचारिक धरातलमा निकै माथि रहेका, आक्रामक शैलीमा धाराप्रवाह भाषण गर्न सक्ने, साङ्गठनिक गुण भएका आनन्दप्रसाद पोखरेल त्यस बेला नेकपा मालेका नेता थिए । वैचारिक क्षमता र समृद्धिका कुशल योजनाकार भएकाले बौद्धिक तप्का उनीसँग आकर्षित थिए । संगठन र वक्तृत्व कलामा सशक्त भएकाले पार्टीको नेता–कार्यकर्ताको उनी प्रिय थिए । अनि के चाहियो उनको चर्चा, गाउँ–शहर सबैतिर हुने नै भयो ।
उति बेला मैले पनि उनको भाषण आक्कल–झुक्कल सुन्ने अवसर पाएको हो । म पनि उनको बौद्धिकता र वक्तृत्व कलासँग नतमस्तक थिएँ तर भेटेर गफ भने हुन सकेको थिएन । पछि संयोग यस्तो प¥यो कि मलाई र राजेन्द्र मानन्धर (हाल नेकपा एमाले दोलखाका उपाध्यक्ष) लाई नेकपा एमालेमा सक्रिय गराउने कुरामा उनै पोखरेलको महत्वपूर्ण भूमिका रह्यो । किनभने हामी कम्युनिस्ट भए पनि २०४८– ०५० सम्म कुनै पनि राजनीतिक दलमा आबद्ध वा सक्रिय थिएनौं । आनन्दप्रसाद पोखरेलसँगको भेटघाट, छलफलपछि नै म नेकपा एमालेको युवा संगठन प्रजातान्त्रिक युवा संघ र राजेन्द्र विद्यार्थी संगठन अनेरास्ववियुमा सक्रिय भएका हौं ।
नेकपा एमालेमा सक्रिय भएपछि आनन्दप्रसाद पोखरेलसँगको भेटघाट, उठबस, छलफल पनि बाक्लिँदै गयो । उनको वक्तृत्व कला, बौद्धिकता र सांगठनिक चातुर्यताले राजनीतिक रुपमा मलाई धेरै कुरा सिकायो । पछि म राजनीतिभन्दा बढी पत्रकारितामा सक्रिय बनेँ । आनन्दप्रसाद पोखरेल पनि भूमिगत पञ्चायती कालमा पत्रकार रहेका र पछि वैचारिक–सैद्धान्तिक लेखनमा समेत सक्रिय भएकाले लेखन मझेरीमा पनि उनीसँगको निकटता मुर्झाउन पाएन, बरु बनमारा जसरी झन् मौलाउँदै र फैलँदै गयो ।
आनन्दप्रसाद पोखरेललाई मैले एउटा असल राजनीतिज्ञ, कुशल संगठक, प्रर्खर वक्ता, सरल र शिल्पी लेखक एवं सालिन व्यक्तित्वका रुपमा चिन्ने गरेको छु । वैचारिक संगठनमा उनको जति कसिलो पकड छ, पछिल्लो समय त्योभन्दा बढी लगाव र सक्रियता सैद्धान्तिक एवं व्यावहारिक लेखनमा देखिएको छ । दोलखाको विकास र समृद्धिमा उनको योगदान प्रशंसनीय छ । पार्टी नेतासँगै गाउँ पञ्चायतको प्रधानपञ्च, सांसद, संविधानसभाको सदस्य र मन्त्रीको भूमिकामा रहेर उनले समानता, समावेशिता र स्वतन्त्रताको लागि पु¥याएको योगदान अतुलनीय छ ।
तर पछिल्लो समय उनको राजनीतिक सक्रियतामा थोरै ग्रहण लागेजस्तो देख्छु । यो पार्टीभित्र मौलाउँदै गएको गुटगत संस्कारको प्रतिविम्ब पनि हुन सक्छ । ग्रहणले छोपेको भागमा उनले लेखनको आभा छर्ने प्रयत्न गरिरहेका छन् । मलाई यस्तो लाग्छ– राजनीतिक तिकडममा उनलाई बिटुलो बनाउने प्रयत्न हुँदैनथ्यो भने उनी शायद लेखक हुँदैनथे कि ! किनभने पूर्णकालीन राजनीतिमा हदैसम्मको जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्थामा लेखक बन्ने सु–अवसर कसरी मिल्थ्यो होला र !
राजनीतिक ग्रहणमा छरिएको आभा ‘गन्तव्य समाजवाद’ र ‘कम्युनिस्ट पार्टी निर्माणको आधार’ बनेर जब देश–परदेशका पुस्तक पसलहरुमा टाँगिन थाले, आनन्दप्रसाद पोखरेलको चर्चा कुशल संगठक, सक्रिय राजनीतिज्ञ, प्रर्खर वक्तासँगै सरल र सटिक सैद्धान्तिक लेखकको रुपमा समेत देश–परदेशमा हुन थाल्यो । त्यसैले लेखनको यो अवसर उनको लागि उति बेला पत्रकारिता गरेको धङधङीको धित मार्ने माध्यम बनेको छ । र, राजनीतिक पहिचानमा लेखनको उपनाम थप्ने अवसर बनेको छ । यस पुस्तकले कम्युनिस्ट पार्टीमा लागेका नेता–कार्यकर्तालाई मार्गदर्शन गर्छ । कम्युनिस्ट पार्टीमा लाग्न चाहने जमातलाई ऊर्जा प्रदान गर्छ । त्यसैले यी दुवै पुस्तकको चर्चा भइरहेको छ ।
पोखरेलबारे अर्को पुस्तक
अहिले पोखरेलका बारेमा लेखिएको तेस्रो पुस्तक बजारमा आएको छ– ‘आनन्दप्रसाद पोखरेल– विचार, संघर्ष र नेतृत्व’ । यो पुस्तकको कुरा थोरै फरक छ । अघिल्ला दुई पुस्तक आनन्दप्रसाद पोखरेलले लेखेका हुन् । यो तेस्रो पुस्तक भने आनन्दप्रसाद पोखरेलको बारेमा गोविन्दप्रसाद दुलालले लेखेका हुन् । अघिल्ला दुई पुस्तक ‘गन्तव्य समाजवाद’ र ‘कम्युनिस्ट पार्टी निर्माणको आधार’मा आनन्दप्रसाद पोखरेलले विचार, योजना, नीति–सिद्धान्त र कार्यक्रम–कार्ययोजनाबारे ज्ञान बाँडेका थिए । तेस्रो पुस्तक ‘आनन्दप्रसाद पोखरेल– विचार, संघर्ष र नेतृत्व’मा भने गोविन्दप्रसाद दुलालले आनन्दप्रसाद पोखरेलले प्रवाह गरेका विचार, योजना, नीति–सिद्धान्त र कार्यक्रम–कार्ययोजनाको स्रोत खोजी गरेका छन् ।
त्यो स्रोत आनन्दप्रसाद पोखरेलका हजुरबुबा जगन्नाथ पोखरेल, बुबा इन्द्रप्रसाद पोखरेल र आमा रनध्वता पोखरेलको व्यावहारिक, सैद्धान्तिक र राजनीतिक–सामाजिक ज्ञान नै हो भन्ने तहमा गोविन्दप्रसाद पुगेका छन् । सँगै उनका धर्मपत्नी, दुई छोरा र छोरी तथा भाइलगायत परिवारका अन्य सदस्यहरुको साथ र सहकार्य पनि दुई पुस्तकको स्रोत हुनुपर्छ । राजनीति, समाजिक अभियान वा लेखन कला जुनसुकै क्षेत्रमा पनि पारिवारिक मझेरीको सहकार्यले धेरै कुरा सिकाएको हुन्छ ।
दोलखाको जफे लप्से (हाल, तामाकोशी गाउँपालिका वडा नम्बर–२) गाउँका अगुवाहरुले कसैलाई चिठीपत्र पु¥याउनुपरे, सन्देश दिनुपरे वा कुनै सामाजिक काम गर्नुपरे सबैभन्दा पहिले सम्झिने व्यक्ति जगन्नाथ पोखरेल हुन्थे । यो सबै कुरा बाल्यकालदेखि नै आनन्दप्रसाद पोखरेलले नियालिरहेका थिए । जब आनन्दप्रसाद पोखरेल शारीरिक र मानसिक रुपमा परिपक्व बने, उनले एउटा निष्कर्ष निकाले– मानिसहरूले विश्वास गर्ने व्यक्तित्व बन्ने कुरा कुनै पद वा सम्पत्तिको कारणले होइन, चरित्रको कारणले हो ! हजुरबुबाको दैनिकी र गतिविधिबाट सिकेको यो ज्ञानले नै आनन्दप्रसाद पोखरेललाई अन्ततः राजनीति र लेखनमा स्थापित गरिदियो ।
२०१६ सालमा जन्मिएका आनन्दप्रसाद पोखरेल हजुरबुबाको आदर्शकै कारण १४ वर्षको कलिलै उमेरमा २०३१ सालमै सामाजिक अभियानको अगुवाइ गर्दै विद्यार्थी राजनीतिमा सक्रिय बनेका हुन् । ‘आनन्दप्रसाद पोखरेल– विचार, संघर्ष र नेतृत्व’ पुस्तक पढ्दै गर्दा उनका केही अतीत मलाई रमाइलो लागेको छ । उनको नामकरणको प्रसंग निकै रमाइलो रहेछ । न्वारानको नाम ‘डिल्लीनाथ पोखरेल’ भएका उनी स्कुल प्रवेश गरेपछि आनन्दप्रसाद पोखरेल बनेका रहेछन् ।
२०२१ सालमा जफेको कालापानी जनज्योति प्राथमिक विद्यालयको कक्षा २ मा भर्ना भएका डिल्लीनाथ पोखरेल निकै शान्त थिए । कक्षाकोठामा शिक्षक–विद्यार्थी सबैसँग कम बोल्ने, सधैँ शान्त बस्ने उनी अध्यनमा भने निकै तेज रहेछन् । एकदिन शिक्षकहरूले ठट्टा गर्दै भनेछन्– यो त सधैँ आनन्दमै बस्छ, बोल्दा पनि बोल्दैन । यसको नाम आनन्द नै राखौँ । त्यसपछि उनी विद्यालयमा आनन्दप्रसाद पोखरेल भनेर चिनिन थाले । र, यही नामले उनलाई अहिले राजनीतिक, सामाजिक र लेखन क्षेत्रमा स्थापित गरिदिएको छ ।
‘आनन्दप्रसाद पोखरेल– विचार, संघर्ष र नेतृत्व’ पुस्तकभित्र उनका धेरै भूमिगत दैनिकी, संघर्षका दस्तावेज र त्याग–समर्पणका दलिलहरु उधिनेका छन् लेखक गोविन्दप्रसादले । यो पुस्तक झट्ट हेर्दा आनन्दप्रसाद पोखरेलको बायोपिकजस्तो लाग्छ । तर यसका विषयवस्तुले आनन्दप्रसाद पोखरेलको जीवनीसँगै कम्युनिस्ट आन्दोलनका यथार्थ, त्यति बेलाको सामाजिक–राजनीतिक परिवेश, ग्रामीण क्षेत्रको दैनिकी, स्वास्थ्य, शिक्षा, सडक, खानेपानीजस्ता नागरिकका अत्यावश्यक कुरा देखाएको छ । त्यसैले यो पुस्तक आनन्दप्रसाद पोखरेलको बायोपिक मात्र नभई समाजको मिरर पनि हो ।
मैले यतिचाहिँ भन्न सक्छु– ‘आनन्दप्रसाद पोखरेल– विचार, संघर्ष र नेतृत्व’ पुस्तक आनन्दप्रसाद पोखरेल आफूले लेखेका हैनन् । पोखरेलको संघर्ष, त्याग र समर्पणको तप्केनीमा घुस्रिएर गोविन्दप्रसाद दुलालले यो पुस्तक तयार गरेका हुन् । तर यसभित्रको विषयवस्तुले आनन्दप्रसाद पोखरेलका अघिल्ला दुई पुस्तक ‘गन्तव्य समाजवाद’ र ‘कम्युनिस्ट पार्टी निर्माणको आधार’लाई पूर्ण बनाउन पूर्णरुपमै भूमिका निर्वाह गर्नेछ ।











प्रतिक्रिया