लघुकथा पुरस्कार डा. पोखरेललाई


काठमाडौं ।

शब्दयात्रा प्रकाशनले २०८३ सालको ‘शब्दयात्रा डण्डपाणि–मानकुमारी धिताल लघुकथा पुरस्कार’ लघुकथाकार डा. टीकाराम पोखरेल (दोलखा) मा समर्पण गर्ने भएको छ । यस पुरस्कारको कोष व्यवस्थापन आफ्ना पितामाताको स्मृति र सम्मानमा लघुकथाकार अम्बिका धिताल (काभ्रेपलाञ्चोक) ले गर्नुभएको हो । पुरस्कार यही मङ्सिर महिनामा समर्पण गरिनेछ ।

कथा, निबन्ध, समालोचना, हास्यव्यङ्ग्य तथा समसामयिक लेखनमा कलम चलाउँदै आउनुभएका पोखरेलले यसअगाडि डायमनशमशेर राणा प्रतिभा पुरस्कार, खुला राष्ट्रिय निबन्ध प्रतियोगिता पुरस्कार, बागमती प्रदेशस्तरीय लघुकथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । साथै, पोखरेलले बाह्रखरी कथा प्रतियोगिता, नमस्ते आधुनिक लघुकथा मञ्च, सिक्किमेली लघुकथा समाज, शब्द रचना साहित्य समाजद्वारा आयोजित लघुकथा प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गर्नुभएको छ।
दर्जन भन्दा बढी संघसंस्थाबाट सम्मान तथा प्रशंसापत्र प्राप्त गर्नुभएका पोखरेलका कथा, समालोचना, हास्यव्यङ्ग्य, खोज अनुसन्धान, मानव अधिकार तथा समसामयिक विषयका दशवटा कृति प्रकाशित छन् ।