पुस्तक चर्चा : सीमान्तकृत नारीहरूको आवाज

0
Shares

आ–आप्mना अस्तित्व कायम राख्न सङ्घर्षरत प्राणीहरूमध्ये मानवमा चेतनाशक्ति भएकै कारण सामाजिक प्राणीमा दरिएका हुन् । यस जगत्मा भएका जीव, जीवात्मा र प्राणीहरू मानव चोलाका आकाङ्क्षीहरू हुन् । त्यसैले मानव–जीवनमा प्रवेश गर्न हतारिएको उडन्ते किराले प्राण त्याग्न नसकेर आप्mनो हत्यारा आफैँ खोज्दै आदिभूमितिर लाग्दै गर्दा आकाशबाट एकैचोटि जमिनमा बजारिन्छ र नामुद कविसँग भेट हुन्छ । रन्थनिएको घाइते आत्मालाई चियाको गिलासमा सुरक्षा दिएपछि बिसे नगर्ची बौलाएझैँ बर्बराउन थाल्छ । जमिन आकाशतिर, आकाश जमिनतिर भइरहेको सुनाउन थालेपछि कविले झन् बयान लिँदै जान्छन् । उसले होङ वंशी र मोङ वंशीको मिथक मात्र सुनाउँदैन, तिनी त मानव–जातिको सृष्टिकर्ता नै भएको कथा–कहानीले ‘सलह’को जन्म गराउँछ, जो कवि तथा आख्यानकार श्रवण मुकारुङको नवीन उपन्यास बन्न पुग्यो ।

सन्तानै नभए पनि शुद्घ चित्त र फराकिलो मन भएपछि संसारका सबै प्राणी आप्mनै ठान्ने सहयोगी र उदार मन भएका सुबेदार बिर्खबहादुरले परदेश हिँडेका माइली र साइँलालाई बास मात्र दिएन, बाटोमा भेटेका च्याङ्बालाई घरमा ल्याएर नयाँ जीवन दिएको छ । सकारात्मक सोच–विचार भएको घरमा भगवान्ले पनि बास गरेको हुन्छ भनेजस्तै मुख्य पात्राको जन्म त्यही सुबेदारको घरमा भयो । खोटाङको लामाखु गाउँमुनि साप्सु खोलाकिनारमा मेला लाग्नु अनि माइलीलाई बैंसले कुत्कुत्याउनु संजोग थिएन, लेखान्त थियो । गोठालो साइँलाले माइलीसँग राँटो नराखी बारी जोतेपछि कथानक प्रस्तुतिले मेलो पाएको प्रसङ्ग घतलाग्दो छ । तर उपन्यासकारले राई गाउँमा मात्र सीमित गर्न सकेनन् पात्र–पात्राहरूलाई, काठमाडौं खाल्डोमा हाले ।

गाउँमा हुर्केकी नायुमाले आमालाई छाडेर धरान हुँदै काठमाडौंसम्म पुग्दाको संवाद र गतिविधि, टुसाउँदै गरेको कलिलो बालमस्तिष्कलाई परेको भार, लाहुरेले भोग्दै आएका जीवन र भूमिगत क्रान्तिलाई समेटेर विस्तार गर्दै वैकुण्ठ कोलनी पु¥याइएको छ । जहाँ देवा–देमाकोे घरमा नायुमाले पाइला टेक्छे र घरको काममा सहयोग गर्दै सरकारी स्कुलमा पढ्न थाल्छे भने भाइ प्रभुहाङ प्राइभेट स्कुलमा हालेर विभेदकारी सोचको पर्दाफास गर्न खोजेको छ । कोलनीभित्र अनेक थरीका धर्म, संस्कार, संस्कृति मान्नेहरूको समाजले विविधतामा एकता देखाउँछ । पूर्वबाट नायुमा र पश्चिम बर्दियाबाट मङ्गली चौधरीलाई कोलनीमा भित्र्याएपछि विषयवस्तुले फराकिलो बगैँचा पाएको छ ।

जहाँ काम गर्ने दुई बाल–पात्राहरूको दिनचर्याले भविष्यमा कहाँ पु¥याउँला वा कस्तो सन्देश प्रवाह गर्ला भन्ने जिज्ञासाले तान्दै लानु लेखनशिल्पको सुन्दर पक्ष हो ।

लामो समय जहाँ बस्यो त्यही ठाउँ प्यारो । वैकुण्ठ कोलनी नामकरण भएको जानकारी र त्यहाँ घर बनाएर ठाँटले बस्नेहरूको पृष्ठभूमि अनि जीवनशैली । जुद्घबहादुर, बलाराम, बेखमान, खड्गबहादुर, टेकनाथ, माथेमा सरलगायतका पात्रहरूको भूमिकाले फरक विषयलाई जोड्दै लगेको भेटिन्छ । पौडेलबाको छोरा कुबाटो लागेर फेरि आफैँ सुध्रिएबाट सन्तानमाथि आवेगमा छिटो निर्णय नगरौं भन्ने बुझाउँछ । कोलनीमा अनेक घटानाहरू घटाइन्छ । रियाज गर्दा छिमेकीलाई बाधा पुगेपछि कोठा छाड्न बाध्य भएका गायक सुपात्र चर्चामा आएपश्चात् घरबेटी पछुताएबाट सबै खाले कर्मलाई सम्मान गर्न सुझाएको छ । किशोरकिशोरीमा हुने शारीरिक परिवर्तनसँगै स्वप्नदोषले उत्पन्न गराएका जिज्ञासाहरू । नायुमा स्कुल गएको देखेपछि स्कुल जान नपाएकी मङ्गलीको मनमस्तिष्कमा चलेको वैचारिक द्वन्द्वलाई सलहले बोकेर उडेको छ ।

उपन्यासकारले कहिले जुम्लीलाई ल्याएर जडीबुटीको उपयोगिताबारे बहस चलाउँछन् भने नायुमा र मङ्गलीको संवादमा बालबालिकाहरू धनीहरूको खेलौना र घरायसी काममा प्रयोग हुँदै आएको दृष्टान्तलाई उजागर गरेको भेटिन्छ । विदेशिएको श्रीमान्को श्रीमतीमाथि हेर्ने नजर, सुकुमायालाई भाँक्रीले लगेर फेरि फर्काएको घटनाले राजीखुसी नभई तान्त्रिक विद्याको चमत्कारजस्ता अन्धविश्वासको जालो च्यातेको पाइन्छ । टेकनाथको छोराले मङ्गलीसँग अनैतिक सम्बन्ध राखेपछि मङ्गलीले आत्महत्या गरेको विषयलाई ढाकछोप गर्न छोरी ज्योतिले पैसा र विज्ञताको ठूलो चलखेल चलाउँछे । पैसाको मुठोले मुख बन्द भएको मृतकका बुवा नाथुरामले मिडियामा भन्छ, ‘अनुसन्धान चलिरहेछ, बोल्न मिल्दैन’ पृष्ठ २०९ ।

मङ्गली आफूले आत्महत्या गर्नुको कारण खुलाई लेखेको चिठी नायुमाले प्रहरीमा बुझाइदिएपछि मालिकनी चन्द्रकलाले नायुमालाई भक्कु चुट्छे । घर छाडेर भागेकी नायुमा रानीवन हुँदै साथी सम्झनाको डेरामा पुगी, त्यहाँबाट फेरि ठमेल । वास्तविक घटनाजस्तो लाग्ने कथानक प्रसङ्गले ठमेलको लजमा काम गर्दै जीवन चलाइरहकै बेला विदेशी ग्राहक साराले नायुमामाथि गरेको हर्कत सहन नसकेर मध्यरात लजबाट भागी । सुनसान रातमा सडक बालकहरूसँग सुत्नुपरेको बाध्यताले एउटी नारीको मनोदशालाई चित्रित गरेको छ । ती सडकछाप बेसहाराहरूले गरेको संयमित व्यवहार र लजमा विदेशी केटीले गरेको उच्छृङ्खल क्रियाकलापबाट मानवता कोसँग कस्तो हुन्छ ? सलहले तुलना गर्न विवश गराउँछ, तर ती पात्रालाई भगाइरहन्छन् लेखक ।

त्यसपछि नायुमा ज्यामी काम गर्ने दिलमायाको शरणमा पुग्छे र उसैसित काम गर्दै बस्छे । काम गर्ने क्रममा मिस्त्री कृष्णसँग हिमचिम बढ्दै जान्छ । सुकुम्बासी कामदारहरूले नयाँ बस्ती बसालेपछि बेलाबेला जुलुस र लोकतन्त्रको पक्षमा आवाज उठाउँदै हक–अधिकारबारे नायुमालाई बुझाउँदै लगेको देखिन्छ । नयाँ बस्तीभित्र बाक्ला टहराहरू । नजिकै कोठाभित्र सम्भोगरत काका–काकीलाई देखेपछि नायुमाले कान थापेर सुनी, तर दुईको संवादमा कामुक स्वर होइन लेखकीय चतु¥याइँ भेटिन्छ, पृष्ठ २९२ मा ।

जन–युद्घले धनबहादुर साहुलाई कमरेड ‘परिवर्तन’ बनायो । मजदुरहरूको भोको पेट छट्पटाउन थालेपछि लेखकले पात्रहरूलाई ज¥याकजुरुक उठाएर आन्दोलन गराउँछ र ज्याला उठाउन सफल हुन्छ । वैदेशिक रोजगार पीडित कृष्ण मिस्त्री भए पनि भित्रभित्रै कमरेड बनाइएको छ । नायुमा र कृष्णको प्रेम सम्बन्ध झाङ्गिदै जाँदा षड्यन्त्र गरेर कृष्णको हत्या गरेपछि नायुमाले ठेकेदारलाई रडले हानेर मार्छे र जेल कोचिएको मार्मिक प्रस्तुतिले फिल्मको झल्को दिन्छ ।

जेल सजायपछि नायुमा वैकुण्ठ कोलनी पुग्दा वृद्घ माथेमा सरले कोलनीमा कोही नभएको निरासा पोखे । समयले गाउँ रित्यायो, शहर पनि एकदिन रित्तिन बेर छैन । अब त जन्मघर र जन्मदातालाई पनि भुल्दै गए, ‘कुनै दिन छोराले हेलो ड्याड, सन्चै हो ? मात्रै भनिदियो भने मलाई पुग्छ । त्यो मेरो जीवनको अर्थपूर्ण दिन हुनेछ’ पृ. ३३३ । यथार्थमा उभिएका यस्ता प्रसङ्गले नायुमालाई आमा भेट्न राई गाउँ पु¥याउँछ । त्यहाँबाट धरान मङ्गलबारे लगेर फुपू होटलमा बास बसाउँछ । यसरी पात्रालाई अनेक घटना–परिघटनाको भार बोकाएर घुमाइरहँदा रोचक र घोचक विषयहरूको उपकथाले जोड्ने लेखनकला सलह उडानको ऊर्जा मान्न सकिन्छ । नायुमाले आमा राई सरसँग गएर बितिसकेको जानकारी पाई । श्रीमतीले छोडे पनि गाउँमा आइपर्ने समस्याहरूको समाधान थियो राई सर । सबै साथीहरू लाहुरे र विदेश जाँदा पनि राईले आप्mनो ठाउँलाई दिएको योगदान अन्य युवाको लागि शिक्षाप्रद छ ।

साहुनी फूलश्वरीको जीवन कहानीबाट अर्को आख्यान तयार गर्न सकिन्छ । साहुनीलाई काम सकाउँदै नायुमा त्यही बस्न थाली । ग्राहकहरू पत्रकार, व्यापारी, सुन–साहु, कविलगायतका हुलै आएपछि विभिन्न परिकारले भरिएको टेबलमाथि सलहले झैँ हमला गरेर छिन्मै सिनिक्कै पार्र्दा व्यापारले मुख्य पात्रातिर चियाउँछ । साहुनीकै होटलमा बसेर नायुमा पत्रिका अफिसमा काम गर्दै गर्दा सम्पादक सञ्जयले दुव्र्यवहार गरेपछि काम गर्न छाडी । तर न्याय दिलाउनतिर लाग्दैनन् उपन्यासकार, यो नै हो सलहको विशेषता ।

होटलमा आइरहने मामा गुञ्जमान बुढाले पनि नायुमालाई विवाहको प्रस्ताव राखेपछि त्यहाँबाट लेखकले भगाएर खुद्रा व्यापारी इन्द्रवतीको डेरामा राखेर सब्जी व्यापारमा लगाउँछन् । कोलनीमा दूध बेच्ने वासुदेव, गाउँको च्याङ्बा र प्रभुहाङजस्ता पात्रहरूलाई धरान पु¥याएको छ । बिरामी नायुमालाई बिजुवा च्याङ्बा मामाले फुकफाक गरेर निको पार्दा राई गाउँमा लालीगुराँस हाँसेको देखिन्छ । जनआन्दोलनले मन्त्री बनाएको शोषक ‘परिवर्तन’लाई धराने जनताले विरोध मात्र गरेनन्, सलहसरी उडेको आक्रोशले हेलिकप्टर नै खरानी बनाएको चोटिलो प्रस्तुतिले जनता नै सर्वेसर्वा हो भन्ने सन्देश दिएको छ ।

उपन्यासभित्र गाउँको परिवेश, राई गाउँको एतिहासिक किंवदन्ती । हिउँमानवको कथासार भेटिन्छ भने लाहुरेहरूको जीवनचक्रलाई प्रकाश पारेको छ । काठमाडौं शहरको रहनसहन, कोलनीभित्रको जीवनशैली, जनयुद्घका कहाली लाग्दा दिनहरू, श्रमिकहरूको हक–अधिकार, किशोरावस्थाले निम्त्याएका घटनाहरू, बालमनोविज्ञानले देखाएका बाटाहरू, बाल श्रमशोषण, सीमान्तकृत नारीहरूको आवाज, घरेलु हिंसा, आदिमकालदेखि स्थापित हुँदै आएका मूल्य र मान्यताहरू, बुढेसकालको एक्लोपनजस्ता विषयहरूलाई उनेर बनाएको एउटा शक्तिशाली ग्रन्थ हो ‘सलह’ ।

नायुमालाई जहाँ–जहाँ पु¥याइन्छ, त्यहाँबाट सहलजस्तै लखेटिनुपरेको निरीह पात्राको रूपमा चित्रण गरिनु नै उपन्यासको सौन्दर्य हो । खराब नियत भएकाहरूको मुकुण्डो आफैँ खुल्दै गएको कथावस्तुले अन्य विषयको उठान गरेको छ, जसले पाठकबीच अवश्य विमर्श गराउनेछ । उपन्यासलाई छोट्याउने ठाउँ हुँदाहुँदै पनि अलि लामो भयो कि भन्ने लाग्छ, तर पढ्न थालेपछि सक्नलाई ज्यादै हुटहुटी जगाउँछ । प्रस्तुतीकरणमा सौन्दर्यचेत भएका श्रवण मुकारुङको भाषाशैलीमा आप्mनै पन भेटिन्छ । प्रतीकात्मक पात्रालाई चियाको गिलासबाट मुक्त गराएर बुढा सुब्बालाई साक्षी राखी अन्याय र दमनको जरो उखेल्न सफल पद्मश्री पुरस्कार विजेता उपन्यास ‘सलह’ वास्तवमै चाख लाग्दो र सङ्ग्रहणीय छ ।