नेवार समुदायमा मनाइने मोहनी

470
Shares

हरेक वर्ष असोज महिनाको शुक्लपक्षमा नेपालीहरूको महान चाड दशैं मनाउने गरिन्छ । यो नेवार समुदायको पनि एक महान र ठूलो चाड हो । दशैं असोज महिनाको शुक्लपक्षको प्रतिपदा तिथिदेखि पूर्णिमासम्म गरी १५ दिन मनाइने चलन रहेको छ ।

दशैंलाई नौरथा पनि भनिन्छ । पहिलो दिनदेखि नवौं दिनसम्म विभिन्न देवीको दर्शन गर्ने चलन भएकोले यी नौ दिनलाई नौरथा भनिएको हो । यसलाई नवरात्रि पनि भनिने गर्दछ । यस्तै, दशैंलाई विजया दशमी पनि भनिन्छ तर, नेवार समुदायमा दशैंलाई ‘मोहनी’ भन्ने गर्दछ ।
‘मोहनी’ शब्दले नै नेपालमा मनाइने दशैं छुट्टै आफ्नो मौलिकता भएको एक प्रमाणको रूपमा लिन सकिन्छ । नेवार समुदायले दशैं मनाउने शैली अरूको भन्दा बेग्लै रहेको पनि पाइन्छ । नेपाल संवत्अनुसार नै हेर्ने हो भने कौलाथ्व महिनामा दशैं पर्व पर्दछ ।

पहिलो दिन नेवार समुदायले अरु समुदायले झैं घटस्थापनाको रूपमा कलश स्थापना गरेर दशैंको थालनी गर्दछ । यो दिन बिहान चोखो भएर आँगम वा पूजा कोठामा जमरा राख्दछन् । यसका लागि एउटा माटोको भाँडोमा (नेपाल भाषामा ‘भ्यगत’ भनिन्छ) पहेँलो माटो (पँचा) सँग बालुवा मिसाएर फिजाइन्छ । यसपछि त्यसमा जौ वा मकै छर्दछ । यसलाई नेपाल भाषामा ‘नले स्वाने’ भनिन्छ । यसरी जौ वा मकै छर्दा तन्त्र मन्त्र हुनेले मन्त्र पढेर छर्ने गरिन्छ ।

दशैंको पाँचौं दिन यानि पञ्चमी तिथिमा नेवार समुदायले जात्रा पनि मनाउने गर्दछ । यस दिनको बेलुकी टेकुस्थितको पचली भैरवको जात्रा गरिने चलन रहेको छ । यसलाई नेपाल भाषामा पचिमह« पनि भनिन्छ । पचली भैरवको जात्रा नेवार समुदायको एक जाति ज्यापु जातिले हरेक वर्ष मनाइने गर्दै आएको छ ।

नेवार समुदायमा मुख्य रुपमा दशैं अष्टमी तिथिदेखि सुरु हुन्छ । अष्टमीलाई नेवार समुदायले कुछि भ्वय् भनेर मनाउछन् । कुछिको अर्थ दुई माना र भ्वय् को अर्थ भोज हो । यस दिन केराको पातमा दुई माना चिउराका साथै छोइला, बारा, अण्डा, माछा, कालो भटमास, अदुवा, बोडी र विभिन्न थरीका तरकारीहरू राखेर परिवारका सबै सदस्यहरू एकै ठाउँमा लहरै बसेर भोज खान्छन् ।

नवमीको दिन नेवार समुदायले स्याक्व त्याक्व भनेर मनाउने चलन रहेको छ । जसको अर्थ ’जसले काट्छ, उसले विजय प्राप्त गर्छ’ भन्ने हुन्छ । यस दिन आफ्नो पेसा वा जीविकोपार्जनमा प्रयोग हुने औजारहरू, गाडी, मेसिन, कलकारखाना र हतियारहरूको विशेष पूजा गरिन्छ ।
यस दिन तान्त्रिक विधि अनुसार राँगो, बोका र कुखुराको बलि दिएर नवदुर्गाको पूजा गर्ने र रगत चढाउने चलन छ । काठमाडौँ दरबार स्क्वायरमा रहेको तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि वर्षमा केवल यसै दिन मात्र खुल्छ ।

दशमीको दिनलाई चालं भनिन्छ । यस दिन कुभिण्डो काट्ने चलन पनि रहेको छ । घरका परिवारमा पुरुषहरू मात्रैले कुभिण्डो काट्ने गरिन्छ । जसमा, थकालीदेखि क्रमैसँगैं कुभिण्डोलाई काट्ने गर्दछन । कुभिण्डोलाई नेपाल भाषामा भुयु फसि भनिन्छ । साथै पालुमा .(अदुवाको बोट) र तुमा (उखुको बोट) लाई पनि काट्ने गरिन्छ ।

यस दिन अन्य समुदायमा रातो अक्षताको टिका लगाउने चलन भए पनि नेवार समुदायमा रातो टिकासँगैं ’मोहनी टिका’ लगाउने मौलिक परम्परा छ । पूजा कोठामा दियो बालिरहँदा जम्मा भएको कालो भाग नै मोहनी टिका हो । जसलाई तान्त्रिक शक्ति र सुरक्षाको प्रतीक मानिन्छ ।
मान्यजनहरूबाट यो तान्त्रिक टिका, टाउकोमा ’नलःस्वाँ’ (जमरा) र हातमा ’क्वखा’ (रंगिन रक्षासूत्र कपडाको माला) बाँधेर आशीर्वाद लिइन्छ । यसै दिन धेरै ठाउँमा ’पायाः जात्रा’ (खड्ग जात्रा) निकालिन्छ, जसमा तान्त्रिक वस्त्र लगाएर हातमा तरबार लिई नाचिन्छ ।

विजयादशमी सकिएपछि पूर्णिमा (कोजाग्रत पूर्णिमा) सम्म र त्यसपछि पनि नेवार समुदायमा नखत्यासुरु हुन्छ । यस अन्तर्गत विवाहित छोरीबेटी, ज्वाइँ र दिदीबहिनीहरूलाई माइतीघरमा बोलाएर ठुलो भोज खुवाउने र सत्कार गर्ने परम्परा रहेको छ ।

काठमाडौँ उपत्यकामा नेवार समुदायले दशैं मनाइरहँदा ललितपुरको खोकानामा भने दसैँ (मोहनी) मनाइँदैन । त्यहाँका रैथाने नेवारहरूले घटस्थापनादेखि नै आफ्नो परम्परागत ’सिकाली जात्रा’ धुमधामका साथ मनाउने गर्दछन ।

कुमार र कुमारी पूजा
नेवार समुदायमा दशैंको नवमीको दिन घरको कुमार र कुमारी छोराछोरीलाई पूजा गर्ने चलन पनि रहेको छ । कुमार पूजा चुडाकर्म नगरेका बच्चाहरूलाई मात्र गरिन्छ भने कुमारी पूजा बेलविवाह नगरेका बच्चीहरूलाई गरिन्छ । यसरी पूजा गर्दा दुःख, दरिद्र र शत्रु नाश हुने तथा धन, बल र आयु वृद्धि हुने उनीहरूको मान्यता रहेको छ । अर्को बच्चाबच्चीहरू भगवान हुन् भन्ने पनि मान्यता रहेको छ ।

समापन
असोज शुक्ल पूर्णिमाका दिन दशैंको समापन गरिन्छ । दशैंको अन्तिम दिन आँगम वा पूजा कोठामा राखिएको जमरालाई मूल ढोका बाहिर फ्यालिन्छ । यसले दशैं सकिएको संकेत गर्दछ । यस दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ ।

नौ दिनको देवी पूजा
पहिलो दिनदेखि नेवार समुदायले पनि अरु समुदायले झैं विभिन्न नामका देवीको पूजा गरिन्छ । जुन दिन जुन रुपको देवीलाई पूजा गर्ने हो त्यही अनुसार नै नेवार समुदायले पनि पूजा गर्ने गरिन्छ । जसमा, पहिलो दिन शैलपूत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघन्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठो दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको रूपमा देवीको पूजा आराधना गर्ने गर्दछन ।