
काठमाडौं ।
नेपालीहरूको महान् चाड बडा दशैँ सुरु भएसँगै देशभर धार्मिक आस्था, पारिवारिक भेटघाट र सांस्कृतिक उत्सवको रौनक छाएको छ । घरघरमा घटस्थापना गरी जमरा राख्ने, दुर्गा भवानीको पूजा गर्ने, शक्तिपीठमा दर्शन गर्ने र मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने परम्पराले नेपाली समाजलाई उत्सवमय बनाएको छ । हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्वका रूपमा परिचित दशैँ नेपालका विभिन्न जातजाति र समुदायमा पनि सामाजिक तथा सांस्कृतिक महत्वका साथ मनाइन्छ ।
वर्षभरि अध्ययन, रोजगारी र व्यवसायका कारण परिवारबाट टाढा रहेका सदस्यहरू घर फर्किने, आफन्तसँग भेटघाट गर्ने र दुःखसुख साटासाट गर्ने अवसरसमेत दशैँले प्रदान गर्छ । त्यसैले यो केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन; नेपाली समाजको सामूहिक स्मृति, पारिवारिक सम्बन्ध र सांस्कृतिक पहिचानसँग जोडिएको महत्वपूर्ण अवसर पनि हो ।
तर नेपालमा दशैँको सुरुवात कहिले भयो ? के यो पर्व पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि मात्र प्रचलनमा आएको हो ? अथवा यसको इतिहास त्यसभन्दा धेरै पुरानो छ ? ऐतिहासिक अभिलेख, धार्मिक परम्परा र संस्कृतिसम्बन्धी अध्ययनले यी प्रश्नको उत्तर खोज्न महत्वपूर्ण आधार प्रदान गर्छन् ।
दशैँको इतिहास कति पुरानो ?
नेपालमा बडा दशैँ मनाउने परम्पराको इतिहासबारे चर्चा गर्दा यसको धार्मिक उत्पत्ति र नेपालमा पर्वका रूपमा विकास भएको इतिहासलाई अलग–अलग उल्लेख भएको पाइन्छ । देवी दुर्गाको आराधना र महिषासुरमाथि देवीको विजयको धार्मिक आख्यान दक्षिण एसियाको प्राचीन हिन्दू परम्परासँग सम्बन्धित छ । तर नेपालमा आज मनाइने दशैँको सामाजिक स्वरूप, राजकीय महत्व र देशव्यापी विस्तार भने विभिन्न ऐतिहासिक कालखण्डमा विकसित भएको देखिन्छ ।
इतिहासकार महेशराज पन्तले उपलब्ध प्राचीन अभिलेख र ग्रन्थका आधारमा गरेको व्याख्या अनुसार नेपालमा दशैँसँग सम्बन्धित स्पष्ट ऐतिहासिक सन्दर्भ विक्रम संवत् १४३२ अर्थात् सन् १३७५ तिर भेटिन्छन् । यस आधारमा नेपालमा दशैँ परम्परा कम्तीमा साढे छ सय वर्ष पुरानो रहेको मान्न सकिन्छ । काठमाडौं उपत्यकाका मल्लकालीन राज्यहरूमा दशैँ अर्थात् देवी आराधनासँग सम्बन्धित अनुष्ठान राजदरबार र नगरको धार्मिक जीवनको महत्त्वपूर्ण हिस्सा थिए ।
यसको अर्थ दशैँको धार्मिक अवधारणा त्यही वर्षदेखि मात्र सुरु भएको भन्ने होइन । सन् १३७५ आसपासको सन्दर्भलाई नेपालमा यस पर्वको लिखित इतिहास बुझ्ने एउटा महत्वपूर्ण आधारका रूपमा लिन सकिन्छ । धार्मिक आख्यानको प्राचीनता र नेपालमा पर्व मनाइएको प्रमाणित ऐतिहासिक समय एउटै कुरा होइनन् ।
लिच्छविकालीन अभिलेखमा भगवती वा देवीसँग सम्बन्धित उल्लेख भेटिनु र दशैँ पर्वकै स्पष्ट प्रमाण भेटिनुबीच पनि भिन्नता छ । त्यसैले कुनै प्राचीन अभिलेखमा देवीको पूजा गरिएको उल्लेख हुँदैमा त्यतिबेलै आजकै स्वरूपमा दशैँ मनाइन्थ्यो भनेर भन्न सकन्े अवस्था भने छैन ।
मल्लकालमा काठमाडौं उपत्यकाका दरबार, शक्तिपीठ र नगरजीवनसँग जोडिएको देवीपूजाले दशैँको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । पछि शाह राजवंशको उदय र नेपालको राजनीतिक एकीकरणसँगै दशैँ राजकीय अनुष्ठानका रूपमा अझ व्यापक बन्यो । विशेषतः राज्य, राजसत्ता, देवीको शक्ति र सैनिक परम्पराबीचको सम्बन्धले यस पर्वलाई राजनीतिक तथा सांस्कृतिक महत्व प्रदान गरेको देखिन्छ ।
यसरी हेर्दा नेपालको दशैँ कुनै एक शासकले एकैपटक सुरु गरेको पर्वभन्दा पनि धार्मिक परम्परा, स्थानीय संस्कृति र राज्यको ऐतिहासिक विकाससँगै लामो समयसम्म आकार लिएको उत्सव हो ।
दुर्गा भवानी र विजयको सन्देश
दशैँको मूल धार्मिक सन्देश असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुष्टतामाथि शक्तिको विजय हो । हिन्दू धार्मिक मान्यता अनुसार महिषासुर नामक असुरको अत्याचार अन्त्य गर्न देवी दुर्गाले युद्ध गरी विजय प्राप्त गरेकी थिइन् । यसैले दशैँलाई देवीको शक्ति, साहस र धर्मको विजयसँग जोडेर व्याख्या गरेको पाइन्छ ।
दशैँका नौ दिनमा देवीका विभिन्न स्वरूपको पूजा गरिन्छ । यस अवधिलाई नवरात्र भनिन्छ । घटस्थापनाका दिन पवित्र स्थानमा माटो राखेर जौ वा अन्य उपयुक्त अन्नका बीउ छरिन्छन् । अँध्यारो वा कम प्रकाश भएको स्थानमा हुर्काइने ती पहेँला टुसालाई जमरा भनिन्छ । जमरा देवीको प्रसाद, उर्वरता, समृद्धि र जीवनको निरन्तरताको प्रतीक मानिन्छ ।
फूलपाती, महाअष्टमी र महानवमीका आआफ्नै धार्मिक तथा सांस्कृतिक विशेषता छन् । फूलपातीमा शुभता र शक्तिको प्रतीकका रूपमा विभिन्न फूल तथा पवित्र वनस्पति भित्र्याउने चलन छ । महाअष्टमी र महानवमीमा देवीको विशेष पूजा गरिन्छ । कतिपय शक्तिपीठ र समुदायमा पशुबलिको परम्परा छ भने अन्यत्र फलफूल, नरिवल र शाकाहारी परिकार चढाएर पूजा गरिन्छ । यी अभ्यासले नेपालभित्रै दशैँ मनाउने तरिकामा विविधता रहेको देखाउँछन् ।
विजयादशमीका दिन रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा पर्वको सबैभन्दा परिचित पक्ष हो । मान्यजनले परिवारका सदस्यलाई सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै टीका लगाइदिन्छन् । यसलाई धार्मिक आशीर्वादसँगै पुस्ताबीचको सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यासका रूपमा पनि बुझ्न सकिन्छ ।
हिन्दू आस्थाभन्दा फराकिलो सांस्कृतिक सम्बन्ध
दशैँको धार्मिक आधार हिन्दू परम्परामा रहेको भए पनि यसको सामाजिक प्रभाव हिन्दू समुदायमा मात्र सीमित छैन । नेपालका विभिन्न बौद्ध समुदाय तथा अन्य सांस्कृतिक समूहका कतिपय परिवारले पनि दशैँको समयमा आफन्त भेट्ने, मान्यजनसँग आशीर्वाद लिने, भोजभतेर गर्ने र पारिवारिक सम्बन्ध नवीकरण गर्ने चलन अपनाउँछन् ।
काठमाडौं उपत्यकाको सांस्कृतिक इतिहासमा देवीपूजा, स्थानीय देवदेवीको आराधना र समुदायगत जात्रा–पर्वको परम्परा एकअर्कासँग जोडिँदै आएको छ । विशेषगरी नेवार समुदायमा मनाइने मोहनी नखःसँग दशैँको सम्बन्ध छ । यसले स्थानीय धार्मिक अभ्यास र व्यापक दशैँ परम्पराबीचको ऐतिहासिक सम्बन्ध देखाएको छ ।
त्यसैगरी नेपालका विभिन्न आदिवासी जनजाति तथा समुदायमा दशैँलाई स्वीकार गर्ने, आफ्नै सांस्कृतिक अर्थमा व्याख्या गर्ने वा त्यसबाट अलग रहने विविध अभ्यास छन् । त्यसैले दशैँलाई सम्पूर्ण नेपालीको एउटै धार्मिक अनुभवका रूपमा मात्र चित्रण गर्नुको सट्टा यसले नेपाली समाजमा पारेको व्यापक प्रभाव र समुदायगत भिन्नता दुवैलाई सम्मानपूर्वक बुझ्न आवश्यक छ ।
दशैँको अर्को विशेषता प्रकृति र कृषिसँगको सम्बन्ध हो । जमरामा प्रयोग हुने अन्न, नयाँ लुगा लगाउने परम्परा, मौसमी उत्पादनको उपभोग र गाउँघरमा हुने पारिवारिक जमघटले यस पर्वलाई कृषि चक्र तथा ग्रामीण जीवनसँग जोड्ने गरेको देखिन्छ । वर्षायाम सकिँदै गर्दा र बाली भित्र्याउने समय नजिकिँदा आउने यो पर्वले परिश्रमपछि उत्सव मनाउने सामाजिक भावनालाई पनि प्रतिनिधित्व गर्छ ।
यसरी दशैँको इतिहासलाई केवल देवीको विजयको धार्मिक कथामा सीमित गर्न मिल्दैन । यसको विकासमा प्राचीन धार्मिक विश्वास, मल्लकालीन नगर संस्कृति, शाहकालीन राजकीय परम्परा, स्थानीय समुदायका अभ्यास र आधुनिक नेपाली समाजको पारिवारिक जीवन सबैको योगदान छ । यही बहुआयामिक इतिहासले दशैँलाई नेपालको सांस्कृतिक पहिचानको महत्वपूर्ण आधार बनाएको छ ।
बजारदेखि गाउँसम्म आर्थिक चहलपहल
दशैँ धार्मिक आस्था र पारिवारिक मिलनको पर्व मात्र होइन, नेपालको अर्थतन्त्रमा समेत उल्लेख्य गतिविधि सिर्जना गर्ने अवसर हो । चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, जुत्ताचप्पल, घरायसी सामग्री, विद्युतीय उपकरण, यातायात र मनोरञ्जनमा हुने खर्च बढ्छ । यसले बजारमा माग सिर्जना गर्छ र व्यापार, कृषि, यातायात तथा सेवाक्षेत्रमा संलग्न व्यक्तिहरूलाई आम्दानीको अवसर प्रदान गर्ने गरेको छ ।
नेपालको अर्थतन्त्रमा दशैँको प्रभावबारे प्रकाशित एक अध्ययनले खुद्रा व्यापार, कृषि, पशुपालन, यातायात, बैंकिङ तथा पर्यटनलाई यस अवधिमा सक्रिय हुने प्रमुख क्षेत्रका रूपमा औँल्याएको छ । चाडपर्वका बेला उपभोग बढ्नु, गाउँ फर्किने यात्रुको चाप बढ्नु र परिवारका सदस्यले विदेशबाट रकम पठाउनु आर्थिक गतिविधिसँग जोडिने प्रमुख पक्षका रुपमा रहेका छन ।
दशैँ नजिकिँदै जाँदा बजारमा नयाँ कपडा, जुत्ता, खाद्यान्न, मिठाई, फलफूल, मोबाइल, टेलिभिजन तथा अन्य उपभोग्य सामग्रीको कारोबार बढ्ने गर्दछ । पसलहरूले विशेष छुट, उपहार योजना र प्रचार अभियान सञ्चालन गर्छन् । साना तथा मझौला व्यवसायीका लागि यो वर्षको महत्वपूर्ण बिक्री अवधि बन्ने गरेको छ ।
यसको लाभ ठूला व्यापारिक प्रतिष्ठानमा मात्र सीमित हुँदैन । गाउँघरका साना पसल, स्थानीय उत्पादक, सिलाइकटाइ गर्ने व्यवसायी, कृषि उपज बेच्ने किसान, मासु व्यवसायी, फूल उत्पादक र ढुवानीमा संलग्न श्रमिकले पनि चाडपर्वबाट आम्दानीको अवसर पाउँछन् । यस अर्थमा दशैँले उत्पादनदेखि उपभोगसम्म फैलिएको आर्थिक शृङ्खलालाई सक्रिय बनाउन सहयोग गर्ने गरेको छ ।
यद्यपि बजारमा कारोबार बढ्दैमा सबै व्यवसायीको नाफा समान रूपमा बढ्छ भन्ने हुँदैन। वस्तुको लागत, प्रतिस्पर्धा, ढुवानी खर्च, उधारो कारोबार र उपभोक्ताको क्रयशक्तिले वास्तविक नाफा निर्धारण गर्छन् ।
गाउँ फर्किने लहर र यातायात
दशैँको सबैभन्दा देखिने सामाजिक तथा आर्थिक गतिविधिमध्ये एक हो । आफ्नो जन्मथलो फर्किने लहर, काठमाडौं उपत्यका तथा अन्य सहरी केन्द्रमा अध्ययन, रोजगारी र व्यवसायका लागि बसोबास गर्ने मानिसहरू चाडपर्व मनाउन गाउँ फर्किन्छन् । यसले सार्वजनिक यातायात, हवाई सेवा, निजी सवारीसाधन र स्थानीय यातायातमा यात्रुको चाप बढ्ने गरेको छ ।
यात्रुको संख्या बढ्दा यातायात व्यवसायीको आम्दानी बढ्ने सम्भावना हुन्छ । सवारीचालक, सहचालक, टिकट बिक्री गर्ने कर्मचारी, होटल सञ्चालक र बाटोमा सेवा प्रदान गर्ने व्यवसायीले पनि आर्थिक लाभ मनग्य लिने गरेका छन । अर्कोतर्फ, यात्रुको चाप व्यवस्थापन गर्न नसक्दा टिकट अभाव, अत्यधिक भाडा, लामो प्रतीक्षा, सडक दुर्घटना र ट्राफिक जामजस्ता समस्या हरेक बर्ष उत्पन्न हुने गरेका छन । ।
त्यसैले दशैँको यात्रालाई सुरक्षित, सहज र किफायती बनाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी हो । यात्रुको चापअनुसार सवारी व्यवस्थापन, सार्वजनिक यातायातको अनुगमन, सवारीसाधनको प्राविधिक जाँच, चालकको कार्यसमयमा निगरानी र जोखिमपूर्ण सडकमा विशेष सुरक्षा व्यवस्था आवश्यक रहने गरेको छ ।
दशैँमा गाउँ फर्किने मानिससँगै सहरी क्षेत्रमा खर्च हुने रकम ग्रामीण अर्थतन्त्रमा पुग्ने अवसर पनि हुन्छ । आफन्तलाई उपहार दिने, स्थानीय उत्पादन किन्ने, घर मर्मत गर्ने र पारिवारिक भोजभतेरमा खर्च गर्ने प्रवृत्तिले गाउँका व्यवसायलाई चलायमान बनाउन सक्छ । यसले सहर र गाउँबीचको आर्थिक सम्बन्धलाई पनि बलियो बनाउने गरेको छ ।
रेमिट्यान्स र पारिवारिक खर्च
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि दशैँ परिवारसँगको भावनात्मक सम्बन्ध नवीकरण गर्ने महत्वपूर्ण समय हो । विदेशमा रहेका धेरै नेपालीले घरखर्च, लत्ताकपडा, खाद्यान्न, शिक्षा र पारिवारिक भेटघाटका लागि रकम पठाउँछन् । यसले दशैँको समयमा घरपरिवारको खर्च धान्न सहयोग पुग्ने गरेको छ ।
रेमिट्यान्सबाट प्राप्त रकमले उपभोग बढाउनुका साथै कतिपय परिवारलाई ऋण तिर्न, घर मर्मत गर्न र आवश्यक सामग्री खरिद गर्न सहयोग गर्छ । तर सबै परिवारको आर्थिक अवस्था समान हुँदैन । विदेशमा काम गर्ने सदस्य नभएका, अनियमित आम्दानी भएका वा ऋणको बोझमा रहेका परिवारका लागि दशैँको खर्च व्यवस्थापन चुनौतीपूर्ण बन्ने गरेको छ ।
चाडपर्वलाई सामाजिक प्रतिष्ठासँग जोडेर अत्यधिक खर्च गर्ने प्रवृत्तिले आर्थिक दबाब थप्न सक्छ । महँगा कपडा, भोजभतेर, उपहार र देखासिकीमा गरिने खर्चले सीमित आम्दानी भएका परिवारलाई ऋण लिन बाध्य पार्न सक्छ । त्यसैले दशैँको वास्तविक खुसी खर्चको आकारमा होइन, पारिवारिक आत्मीयता र आर्थिक क्षमताअनुसार उत्सव मनाउन सक्ने अवस्थामा खोजिनु पर्ने देखिन्छ ।
परिवार, सम्बन्ध र सामाजिक एकता
दशैँको सबैभन्दा गहिरो सामाजिक पक्ष परिवारलाई एकै ठाउँमा ल्याउने यसको क्षमता हो । वर्षभरि काममा व्यस्त रहेका परिवारका सदस्यहरू भेटिन्छन्, पुराना सम्झना साट्छन् र नयाँ पुस्ताले पुर्खाको संस्कारबारे सिक्ने अवसर पाउँछन् । मान्यजनबाट टीका र आशीर्वाद लिने परम्पराले पुस्ताबीचको सम्बन्धलाई निरन्तरता दिन्छ ।
गाउँघरमा पिङ हाल्ने, साथीभाइसँग भेटघाट गर्ने, सामूहिक भोज गर्ने र छिमेकीसँग खुसी साट्ने चलनले सामाजिक सम्बन्ध बलियो बनाउन सहयोग गर्छ । विदेशमा रहेका नेपाली समुदायले पनि सामूहिक दशैँ कार्यक्रम आयोजना गरेर भाषा, संस्कृति र पारिवारिक परम्परा जोगाउने प्रयास गर्छन् ।
तर यस पर्वले सामाजिक असमानता पनि उजागर गर्छ । परिवारबाट टाढा रहेका श्रमिक, विदेश जान नपाएका युवा, आर्थिक अभाव भएका घरपरिवार र एक्लै बस्ने ज्येष्ठ नागरिकका लागि दशैँ सधैँ उल्लासपूर्ण नहुन सक्छ । पारिवारिक विछोड, आर्थिक दबाब र सामाजिक अपेक्षाले कतिपय व्यक्तिमा तनावसमेत सिर्जना गर्न सक्छ ।
त्यसैले दशैँको सामाजिक अर्थलाई अझ मानवीय बनाउन आवश्यक छ । आर्थिक रूपमा कमजोर परिवारलाई सहयोग गर्ने, एक्ला ज्येष्ठ नागरिकको हेरचाह गर्ने, श्रमिकको बिदा र पारिश्रमिकको अधिकार सुनिश्चित गर्ने तथा सबै समुदायको सांस्कृतिक अभ्यासलाई सम्मान गर्ने कामले पर्वको सकारात्मक पक्षलाई बलियो बनाउन सक्छ ।
धर्म, पर्यटन र सांस्कृतिक सम्पदा
दशैँले नेपालको धार्मिक पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ । काठमाडौं उपत्यकाका शक्तिपीठ, ऐतिहासिक दरबार क्षेत्र र देशभरका देवी मन्दिरमा दर्शनार्थीको आवागमन बढ्छ । हनुमानढोका दरबार क्षेत्रको दशैँघर, तलेजु भवानी मन्दिर र विभिन्न शक्तिपीठमा हुने अनुष्ठानले नेपालको इतिहास, कला, वास्तुकला र धार्मिक परम्पराबारे बुझ्ने अवसर प्रदान गर्छन् ।
दशैँको अवसरमा नेपाल आउने विदेशी पर्यटक तथा विदेशमा रहेका नेपालीले समेत यहाँको सांस्कृतिक जीवनलाई नजिकबाट अनुभव गर्ने गरेका छन । स्थानीय हस्तकला, परम्परागत परिकार, सांस्कृतिक कार्यक्रम र ऐतिहासिक स्थलको अवलोकनलाई व्यवस्थित रूपमा पर्यटनसँग जोड्न सके स्थानीय समुदायले आर्थिक लाभ लिन सक्ने देखिन्छ ।
यद्यपि धार्मिक पर्यटनको विकास गर्दा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । मन्दिर तथा ऐतिहासिक क्षेत्रमा अत्यधिक भीड, फोहोर व्यवस्थापनको समस्या र अनियन्त्रित व्यावसायिक गतिविधिले सम्पदामा असर पार्न सक्छ । त्यसैले स्थानीय तह, पर्यटन व्यवसायी, सांस्कृतिक संस्थाहरू र समुदायबीच सहकार्य आवश्यक छ ।
वातावरण र बदलिँदो परम्परा
समयसँगै दशैँ मनाउने शैली पनि परिवर्तन भइरहेको छ । पहिले गाउँघरमा आफैँले उत्पादन गरेका अन्न, स्थानीय परिकार र सामूहिक श्रमको महत्व बढी देखिन्थ्यो । अहिले बजारबाट तयारी सामग्री किन्ने, डिजिटल माध्यमबाट शुभकामना पठाउने र अनलाइन किनमेल गर्ने प्रवृत्ति बढेको छ । यसले समय बचत गरे पनि कतिपय परम्परागत सीप र स्थानीय उत्पादनको प्रयोग घट्ने जोखिम बढ्दै गएको छ ।
पशुबलिसम्बन्धी परम्परामा पनि विभिन्न धारणा छन् । कतिपय समुदायले यसलाई धार्मिक आस्थाको अभिन्न हिस्सा मान्छन् भने कतिपयले अहिंसा, पशुकल्याण र वैकल्पिक पूजापद्धतिलाई प्राथमिकता दिन थालेको देखिन्छ । यस विषयमा धार्मिक स्वतन्त्रता, सांस्कृतिक विविधता र पशुकल्याण सम्बन्धी जिम्मेवारीलाई ध्यानमा राखेर संवेदनशील संवाद आवश्यक देखिन्छ ।
त्यस्तै, चाडपर्वका बेला प्लास्टिकजन्य फोहोर, खाद्यान्नको बर्बादी र अनावश्यक उपभोग घटाउनु पनि उत्तिकै महत्त्वपूर्ण छ । स्थानीय उत्पादन प्रयोग गर्ने, आवश्यकता अनुसार मात्र किनमेल गर्ने, सार्वजनिक स्थल सफा राख्ने र खाद्यान्न खेर जान नदिने अभ्यासले दशैँलाई वातावरणमैत्री बनाउन सक्छ ।
डिजिटल प्रविधिको विस्तारले विदेशमा रहेका परिवारका सदस्यसँग भिडियो कलमार्फत टीका लगाउने वा शुभकामना साट्ने अभ्यासलाई सहज बनाएको छ । यसले भौगोलिक दूरी कम गरे पनि प्रत्यक्ष भेटघाटको भावनात्मक महत्वलाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्दैन । त्यसैले आधुनिक प्रविधि र परम्परागत आत्मीयताबीच सन्तुलन कायम गर्नु आजको आवश्यकता हो ।
समृद्धिको आधार बनोस् दशैँ
बडा दशैँको वास्तविक महत्व यसको धार्मिक विधि र उत्सवमा मात्र सीमित छैन । यसले समाजलाई आपसी सद्भाव, सहयोग, क्षमा, प्रेम र जिम्मेवारीको सन्देश दिन्छ । देवी दुर्गाको विजयको कथा अन्यायविरुद्ध उभिने साहस र सत्यको पक्षमा लाग्ने प्रेरणासँग जोडिन्छ । यही सन्देशलाई सामाजिक व्यवहारमा उतार्न सकियो भने दशैँ व्यक्तिगत खुसीसँगै सामूहिक हितको पर्व पनि बन्न सक्छ ।
आर्थिक दृष्टिले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने, साना व्यवसायीलाई अवसर दिने, जिम्मेवार उपभोग बढाउने र अनावश्यक ऋणबाट बच्ने अभ्यास आवश्यक छ । सामाजिक दृष्टिले श्रमिकको अधिकार,ज्येष्ठ नागरिकको सम्मान, विपन्न परिवारलाई सहयोग र सबै समुदायको सांस्कृतिक विविधताको सम्मानलाई प्राथमिकता दिनुपर्छ ।
नेपालमा दशैँको ऐतिहासिक विकासले पनि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—संस्कृति स्थिर वस्तु होइन । यो समय, समाज, राजनीति र मानिसको जीवनशैलीसँगै परिवर्तन हुँदै अघि बढ्छ । मल्लकालीन नगर संस्कृतिदेखि शाहकालीन राजकीय परम्परा र आधुनिक लोकतान्त्रिक समाजसम्म आइपुग्दा दशैँले विभिन्न रूप धारण गरेको छ । यसको निरन्तरता नै नेपाली समाजको सांस्कृतिक जीवन्तताको प्रमाण हो ।
यस वर्षको बडा दशैँले नेपालीहरूबीच आपसी विश्वास, पारिवारिक आत्मीयता र सामाजिक सद्भाव अझ बलियो बनाओस् । पर्वको खुसी केही सीमित परिवार वा समुदायमा मात्र नरही विपन्न, श्रमिक, एक्ला ज्येष्ठ नागरिक र अवसरबाट वञ्चित मानिससम्म पुग्न सकोस् । बजारको चहलपहलसँगै स्थानीय उत्पादन र रोजगारी बढोस्, धार्मिक आस्थासँगै सांस्कृतिक विविधताको सम्मान होस् र परम्परासँगै वातावरणीय जिम्मेवारी पनि अघि बढोस् ।
अन्ततः बडा दशैँ नेपालको इतिहास, आस्था, सामाजिक सम्बन्ध र आर्थिक जीवनलाई जोड्ने साझा सांस्कृतिक सेतु हो । यसको वास्तविक सफलता कति खर्च गरियो वा कति भव्य रूपमा मनाइयो भन्नेमा होइन, यसले समाजमा कति खुसी, सद्भाव, न्याय र समृद्धि फैलाउन सक्यो भन्नेमा निहित छ ।











प्रतिक्रिया