दुर्गा भवानीको आराधनादेखि विजयको उत्सवसम्म, दशैंको धार्मिक र सांस्कृतिक महिमा

नवरात्रिका नौ दिन शक्तिस्वरूपा दुर्गाको पूजा, दशमीमा टीका–जमरा र पूर्णिमासम्म आशिर्वाद ग्रहण

188
Shares

काठमाडौं ।

हिन्दू धर्मावलम्बीको महान् पर्व बडादशैंले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक एकता र सांस्कृतिक सद्भावको सन्देश प्रवाह गरिरहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि सुरू हुने शारदीय नवरात्रि तथा दशैंको उत्सव कोजाग्रत पूर्णिमासम्म मनाइन्छ । दुर्गा भवानीको उपासना, शक्ति आराधना, मान्यजनबाट टीका–जमरा ग्रहण र परिवारका सदस्यबीचको आत्मीय भेटघाट यस पर्वका प्रमुख विशेषता हुन् ।


दशैंलाई असत्यमाथि सत्य, अन्यायमाथि न्याय र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ । धार्मिक मान्यताअनुसार देवी दुर्गाले महिषासुर नामक दानवको वध गरी देवता तथा मानवलाई अत्याचारबाट मुक्ति दिलाएको प्रसंगसँग यो पर्व जोडिएको छ । त्यस्तै, रामायण परम्परामा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको घटनालाई पनि विजयादशमीसँग सम्बन्धित मानिन्छ ।

नेपालमा दशैं धार्मिक पर्व मात्र नभई परिवार, समाज र संस्कृतिलाई जोड्ने महत्वपूर्ण अवसर पनि हो । रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरबाट टाढा रहेका मानिस गाउँघर फर्कने, आफन्तसँग भेटघाट गर्ने र ठूलाबडाबाट आशीर्वाद लिने परम्पराले यसको महत्व अझ बढाएको छ ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको पर्व

पहिलो दिन ः घटस्थापना
बिहानै सूर्योदयअघि उठेर स्नान गरी चोखो कपडा लगाएर नवरात्रिको व्रत तथा पूजाको मानसिक संकल्प गरिन्छ । दशैंको पहिलो दिन घटस्थापना गरिन्छ । यस दिन शुभ साइतमा पूजाकोठा वा दशैंघरमा कलश स्थापना गरी दुर्गा भवानीको आह्वान गरिन्छ । माटो र बालुवा राखिएको पात्रमा दशैंको जमरा राख्न परम्परागत रूपमा जौ, धान, गहुँ, मकै, तिललगायतका अन्नको प्रयोग गर्ने चलन विभिन्न स्थानमा पाइन्छ । तर, सबै ठाउँमा यी सबै अन्न प्रयोग गरिन्छ भन्ने छैन ।

पूजाको मुख्य स्थानमा चोखो माटो र गोबरको वेदी बनाएर त्यसमा तामा वा माटोको कलश स्थापना गरिन्छ । कलशमा जल, सुपारी, सिक्का, फलफूल र आँपका पात राखी माथिबाट नरिवल राखेएर दीप–कलश–गणेशको पूजा गरिन्छ ।
कलशलाई देवीको प्रतीक मानेर पूजा गरिन्छ । जमरा उमार्न राखिएको स्थानलाई सफा, पवित्र र अँध्यारोमा राख्ने चलन छ । यसै दिनदेखि नवरात्रिको नियमित पूजा, दुर्गासप्तशती वा चण्डीपाठ र दीप प्रज्वलन सुरू गरिन्छ । जमरा नयाँ जीवन, उर्वरता, समृद्धि र शुभताको प्रतीक मानिन्छ ।

पहिलो दिन ः शैलपुत्रीको पूजा
नवदुर्गाको पहिलो रूप ‘शैलपुत्री’ को आह्वानः कलश स्थापनापछि महाकाली, महालक्ष्मी र महासरस्वतीका साथै नवरात्रिकी पहिलो देवी शैलपुत्रीको मूर्ति वा चित्र स्थापना गरी आराधना गरिन्छ । हिमालयराज (पर्वत÷शैल) को घरमा पुत्रीका रूपमा जन्म लिएकाले उहाँलाई शैलपुत्री भनिएको हो । उहाँ नन्दी (बैल) मा सवार हुनुहुन्छ र दाहिने हातमा त्रिशूल तथा बायाँ हातमा कमलको फूल धारण गर्नुहुन्छ ।

दोस्रो दिन ः ब्रह्मचारिणीको पूजा
नवरात्रिको दोस्रो दिन देवी दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको पूजा गरिन्छ । ब्रह्मचारिणीलाई तपस्या, संयम, साधना र दृढ संकल्पकी प्रतीक मानिन्छ । धार्मिक विश्वासअनुसार उहाँको आराधनाले भक्तमा धैर्य, आत्मबल र आध्यात्मिक अनुशासन बढ्छ ।

यस दिन पनि घटस्थापनामा स्थापना गरिएको कलश तथा जमराको पूजा गरिन्छ । श्रद्धालुले दुर्गा भवानीको स्मरण गर्दै व्रत, ध्यान, पाठ तथा आराधना गर्ने गर्छन् । नवरात्रिका प्रत्येक दिन देवीका फरक–फरक स्वरूपको उपासना गरिने भएकाले दोस्रो दिनलाई साधना र आत्मसंयमको सन्देशसँग जोडेर हेरिन्छ ।

तेस्रो दिन ः चन्द्रघण्टाको आराधना
तेस्रो दिन देवी चन्द्रघण्टाको पूजा गरिन्छ । चन्द्रघण्टालाई साहस, पराक्रम र दुष्ट शक्तिविरुद्ध संघर्ष गर्ने शक्तिको प्रतीक मानिन्छ । उहाँको स्वरूपले भयमाथि विजय प्राप्त गर्ने र धर्मको रक्षा गर्ने प्रेरणा दिने धार्मिक विश्वास छ । यस दिन भक्तजनले दुर्गा भवानीको पूजा, आरती र पाठ गर्दै परिवारको सुख, शान्ति तथा कल्याणको कामना गर्छन् ।

चौथो दिन ः कुष्माण्डाको पूजा
नवरात्रिको चौथो दिन कुष्माण्डा देवीको आराधना गरिन्छ । धार्मिक मान्यतामा उनलाई सृष्टिको ऊर्जा र प्रकाशसँग सम्बन्धित देवीका रूपमा वर्णन गरिएको छ । कुष्माण्डाको पूजाले जीवनमा सकारात्मकता, उत्साह र समृद्धिको कामना गरिन्छ । यस दिन पनि नवरात्रिको नियमित पूजालाई निरन्तरता दिँदै कलश र जमराको हेरचाह गरिन्छ ।

पाँचौं दिन ः स्कन्दमाताको पूजा
पाँचौं दिन स्कन्दमाताको पूजा गरिन्छ । उहाँ भगवान् कार्तिकेय अर्थात् स्कन्दकी माता हुनुहुन्छ । स्कन्दमातालाई मातृत्व, करुणा, माया र सन्तानको कल्याणसँग जोडेर पूजा गरिन्छ । यस दिन भक्तजनले परिवारको सुख, सन्तानको उन्नति र घरमा शान्ति कायम रहोस् भन्ने कामना गर्छन् । यस दिन मातृशक्तिप्रतिको सम्मान र परिवारप्रतिको जिम्मेवारीको कामना गरिन्छ ।

छैटौं दिन ः कात्यायनीको आराधना
नवरात्रिको छैटौं दिन कात्यायनी देवीको पूजा गरिन्छ । उहाँलाई साहस, न्याय र अन्यायविरुद्ध उभिने शक्तिको प्रतीक मानिन्छ । धार्मिक परम्पराअनुसार कात्यायनीको आराधनाले भक्तलाई आत्मविश्वास र संकल्प प्रदान गर्ने विश्वास गरिन्छ । यस दिन दुर्गा भवानीको विशेष पूजा गर्दै जीवनमा आउने बाधा हटोस् र धर्मको मार्गमा अघि बढ्न सकियोस् भन्ने प्रार्थना गरिन्छ ।

सातौं दिन ः फूलपाती
दशैंको सातौं दिन फूलपातीका रूपमा विशेष महत्व छ । यस दिन परम्पराअनुसार नौ प्रकारका वनस्पति तथा पवित्र पात समावेश भएको फूलपाती भित्र्याइन्छ । विभिन्न समुदाय र क्षेत्रअनुसार फूलपातीका सामग्री तथा विधिमा केही भिन्नता पाइन्छ ।
काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा फूलपाती भित्र्याउने परम्पराले ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको छ । परम्परागत रूपमा गोरखाबाट ल्याइएको फूलपातीलाई दरबारमा भित्र्याउने चलनसँग नेपालको राजकीय इतिहास पनि जोडिएको छ ।
फूलपाती भित्र्याउने दिनदेखि दशैंको रौनक अझ बढ्छ । घर–घरमा पूजा, सरसफाइ, आफन्तको आगमन र पर्वको तयारी तीव्र हुन्छ ।

आठौं दिन ः महाअष्टमी
नवरात्रिको आठौं दिन महाअष्टमीका रूपमा मनाइन्छ । यस दिन दुर्गाको शक्तिशाली स्वरूप महाकालीको विशेष पूजा गरिन्छ । परम्परागत रूपमा कतिपय शक्तिपीठ तथा घरमा बलि दिने चलन पनि छ । तर, सबै समुदाय र परिवारमा एउटै विधि अपनाइँदैन; कतिपयले फलफूल, नरिवल तथा अन्य सात्त्विक सामग्री चढाएर पूजा गर्छन् ।
महाअष्टमीमा दुर्गा भवानीको आराधना गर्दै भय, रोग, शत्रुता र संकटबाट मुक्ति तथा परिवारको कल्याणको कामना गरिन्छ । शक्ति, साहस र अन्यायविरुद्ध प्रतिरोधको सन्देश यस दिनसँग जोडिएको छ ।

नवौं दिन ः महानवमी
दशैंको नवौं दिन महानवमी हो । यस दिन देवी सिद्धिदात्रीको पूजा गरिन्छ । कतिपय परम्परामा नवदुर्गाको विशेष आराधना, कन्या पूजा तथा बलि दिने चलन छ ।
नेपालमा महानवमीका दिन सवारीसाधन, औजार, हातहतियार तथा विभिन्न उपकरणको पूजा गर्ने परम्परा पनि प्रचलित छ । मानिसले आफ्नो पेसा, व्यवसाय र काममा प्रयोग हुने साधनलाई सुरक्षित र फलदायी बनाइदिन देवीसँग प्रार्थना गर्छन् । काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर यस अवसरमा विशेष पूजाका लागि खुल्ने परम्परा छ । महानवमीले शक्ति, श्रम र कर्मको सम्मान गर्ने सन्देश पनि दिन्छ।

दशौं दिन ः विजयादशमी तथा टीका–जमरा
दशैंको सबैभन्दा महत्वपूर्ण दिन विजयादशमी हो । यस दिन देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको धार्मिक मान्यताका आधारमा विजयको उत्सव मनाइन्छ । रामायण परम्पराले पनि यस दिनलाई अधर्ममाथि धर्मको विजयसँग जोड्छ ।
विजयादशमीका दिन मान्यजनबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ । टीका लगाउँदा चामल, दही र अबिरको प्रयोग गरिन्छ भने जमरा शीरमा सिउरिने वा कानमा लगाउने गरिन्छ । परिवारका ज्येष्ठ सदस्यले कनिष्ठलाई दीर्घायु, आरोग्य, सुख, समृद्धि र सफलताको कामना गर्दै आशिर्वाद दिन्छन् ।
यस दिन टाढा–टाढा रहेका आफन्त एकै ठाउँमा भेला हुने, घर–घरमा पुगेर टीका लगाउने र मीठोमसिनो खाने परम्परा छ । कतिपय समुदायमा दशमीदेखि कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन कायम छ ।

विजयादशमीपछि पूर्णिमासम्मका परम्परा

टीका र आशिर्वादको निरन्तरता
विजयादशमीपछि पनि धेरै नेपाली परिवारमा दशैंको टीका लगाउने क्रम जारी रहन्छ । एकादशी, द्वादशी तथा त्यसपछिका दिनमा टाढा रहेका आफन्तकहाँ पुगेर टीका ग्रहण गर्ने चलन छ । विशेष गरी, एउटै दिनमा सबै आफन्तकहाँ पुग्न नसक्ने परिवारका सदस्यले अनुकूल समय मिलाएर भेटघाट गर्छन् ।

यस अवधिमा परिवारको पुनर्मिलन, आपसी सद्भाव र ठूलाबडाप्रतिको सम्मानलाई प्राथमिकता दिइन्छ । टीकाको दिनमै सबैको घर पुग्नुपर्ने बाध्यता नभएकाले दशैंको उत्सव केही दिनसम्म विस्तार हुन्छ ।

विजयादशमीपछिका दिनमा पनि कतिपय ठाउँमा आफन्त भेट्ने, भोजभतेर गर्ने र गाउँघरमा रमाइलो गर्ने क्रम चलिरहन्छ । दशैंको बिदालाई उपयोग गर्दै मानिसहरू घुमफिरमा निस्कने, पिङ खेल्ने, चङ्गा उडाउने तथा पारिवारिक जमघटमा सहभागी हुने गर्छन् ।
यद्यपि यी गतिविधि सबै क्षेत्रमा समान रूपमा प्रचलित छैनन् । ठाउँ, समुदाय र परिवारको परम्पराअनुसार दशैं मनाउने तरिका फरक–फरक छ ।

पन्ध्रौं दिन ः कोजाग्रत पूर्णिमा
आश्विन शुक्ल पूर्णिमालाई कोजाग्रत पूर्णिमा भनिन्छ । यस दिनसँग दशैंको पन्ध्रदिने उत्सवको समापन जोडिएको छ । धार्मिक मान्यताअनुसार कोजाग्रत पूर्णिमाको रात लक्ष्मीको पूजा गरी धनधान्य, सुख र समृद्धिको कामना गरिन्छ । कोजाग्रत पूर्णिमासँगै दशैंको औपचारिक उत्सव समाप्त हुन्छ ।

आस्था, एकता र सद्भावको सन्देश

दशैंको धार्मिक महत्व देवी दुर्गाको आराधना र विजयको उत्सवमा सीमित छैन । यस पर्वले परिवारको एकता, पुस्ताबीचको सम्बन्ध, मान्यजनको सम्मान र सामाजिक सद्भावलाई पनि बलियो बनाउँछ । टीका र जमरा ग्रहण गर्दा दिइने आशिर्वादले नयाँ ऊर्जा, आशा र सकारात्मक सोचका साथ जीवन अघि बढाउन प्रेरित गर्छ ।

समयसँगै दशैं मनाउने शैलीमा परिवर्तन आए पनि सत्यको पक्षमा उभिनु, अन्यायको प्रतिरोध गर्नु, परिवारलाई जोड्नु र समाजमा सद्भाव कायम राख्नु आज पनि उत्तिकै सान्दर्भिक छ । धार्मिक आस्था र सांस्कृतिक विविधताको सम्मान गर्दै मनाइने दशैं नेपाली समाजको साझा सांस्कृतिक सम्पदाका रूपमा स्थापित छ ।

घटस्थापनादेखि देवी विसर्जनसम्मका शुभ समय

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको बडादशैंसँग सम्बन्धित विभिन्न धार्मिक कार्य तथा पूजाका शुभसाइत सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिले घटस्थापना, झण्डा फेर्ने, विभिन्न देवी–देवताका यात्रा, टीका तथा देवी विसर्जनलगायतका साइत निर्धारण गरेको हो ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार असोज २५ गते आइतबार बिहान ११ः४७ बजे नवरात्रारम्भ तथा घटस्थापनाको साइत रहेको छ । समितिका अनुसार उक्त दिन चित्रा नक्षत्र र वैधृति योग भएकाले आवश्यक विधि पूरा गरी घटस्थापना गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, असोज २६ गते सोमबार बिहान १०ः७ बजे झण्डा फेर्ने साइत निर्धारण गरिएको छ । असोज २९ गते बुधबार श्री पचलीभैरव यात्रा हुनेछ भने असोज ३१ गते शनिबार बिहान ७ः३० बजे फूलपाती तथा श्री तुलजाभवानी यात्रा र बिहान १०ः३९ बजे स्थिरासनको साइत तोकिएको छ । कार्तिक १ गते आइतबार महाष्टमी तथा कालरात्रि र कार्तिक ३ गते मंगलबार महानवमी परेको समितिले जनाएको छ ।

यस्तै, कार्तिक ४ गते बुधबार विजयादशमीका दिन बिहान ४ः४८ बजे देवी विसर्जनको साइत रहेको छ । सोही दिन बिहान १०ः२६ बजे टीका (पश्चिम मोहडा, टीका लगाइमाने पश्चिम फर्किने) साइत तोकिएको छ । त्यसै गरी, बिहान १०ः५१ बजे श्री तुलजाभवानी यात्रा, दिउँसो ११ः५२ बजे स्थिरासन तथा खड्गयात्राको साइतसमेत निर्धारण गरिएको छ । कार्तिक ७ गते आइतबार अखिलबलिपूर्ति तथा कोजाग्रतपूजा गर्ने दिन रहेको समितिले जनाएको छ ।

समितिले सार्वजनिक गरेको सूचनामा सामान्यतया देवीको प्रसाद लगाउन साइतको आवश्यकता नपर्ने पनि स्पष्ट गरेको छ । समितिका अनुसार स्थानीय परम्परा, कुलाचार तथा सम्बन्धित धार्मिक विधिअनुसार गरिने कार्यमा आवश्यकतानुसार सम्बन्धित पुरोहित तथा जानकारसँग परामर्श गर्न सकिनेछ ।

दशैंको अन्तर्राष्ट्रिय शुभसाइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीका लागि स्थानीय समयअनुसार विजया दशमी–२०८३ को टीका लगाउने शुभसाइत सार्वजनिक गरेको छ । समितिको २०८३ असोज २० गते बसेको बैठकको निर्णयअनुसार नेपालसहित विभिन्न देशका प्रमुख शहरमा स्थानीय मानअनुसार टीकाको साइत निर्धारण गरिएको हो ।

समितिका अनुसार काठमाडौंमा कात्तिक ४ गते बिहान १०ः२६ बजे विजयादशमीको टीका लगाउने शुभसाइत रहेको छ । भारतको दिल्लीमा बिहान ९ः११ बजे, भुटानको थिम्पुमा १०ः१४ बजे, अमेरिकाको न्युयोर्कमा १०ः११ बजे, फ्र्याङ्कफर्टमा १०ः४७ बजे, भ्यानकुभरमा ११ः४५ बजे, टेक्सासमा १०ः२७ बजे, वासिङ्टन डिसीमा १०ः२१ बजे, क्यालिफोर्नियामा ९ः५१ बजे र क्यानडाको टोरोन्टोमा १०ः४१ बजे टीका लगाउने शुभसाइत तोकिएको छ ।

यसै गरी, जापानको टोकियोमा कात्तिक ४ गते बिहान १०ः१७ बजे, अस्ट्रेलियाको सिड्नीमा ९ः२१ बजे, मेलबर्नमा ९ः३० बजे, ब्रिसबेनमा ८ः२५ बजे, एडिलेडमा ९ः१५ बजे, क्यानबेरामा ९ः०७ बजे तथा तास्मानियामा ८ः५५ बजे साइत रहेको समितिले जनाएको छ । न्युजिल्यान्डको वेलिङ्टनमा कात्तिक ४ गते बिहान ९ः२३ बजे टीकाको साइत छ ।

युरोपतर्फ लिस्बनमा ९ः४९ बजे, लन्डनमा १०ः५५ बजे, पेरिसमा ११ः३९ बजे, ओस्लोमा ११ः५० बजे तथा जेनेभामा १०ः३१ बजे साइत निर्धारण गरिएको छ । एसियातर्फ क्वालालम्पुरमा १०ः४७ बजे, अबुधाबीमा १०ः३९ बजे, दोहामा ९ः४१ बजे, बैंककमा १०ः०७ बजे, सियोलमा ११ः१३ बजे, तेलअभिभमा ११ः९३ बजे, सिंगापुरमा १०ः३९ बजे र हङकङमा १०ः३९ बजे टीका लगाउने समय तोकिएको छ ।

समितिका सदस्य–सचिव श्रीकेश कौशिकले विभिन्न देशमा रहेका सनातन धर्मावलम्बीबाट टीकाको साइतबारे जिज्ञाशा आएपछि स्थानीय समयअनुसार साइत निर्धारण गरिएको बताउनुभयो । ‘विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूबाट विजयादशमी टीकाको साइतबारे जिज्ञाशा राखिएकाले स्थानीय मानअनुसार पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको हुँदा शुभसाइत निर्धारण गरिएको हो ।’ –उहाँले भन्नुभयो ।

समितिले उक्त साइत टीकाका लागि सबैभन्दा उपयुक्त समयका रूपमा निर्धारण गरिएको स्पष्ट पार्दै सम्बन्धित देशमा रहेका नेपाली तथा सनातन धर्मावलम्बीलाई सोहीअनुसार दशैंको टीका ग्रहण गर्न अनुरोध गरेको छ ।