छ महिनाको तलबसहित प्रसूति बिदा कार्यान्वयन गर्न आह्वान

स्तनपान प्रवर्द्धनमा कार्यस्थलदेखि कानुन कार्यान्वयनसम्म जोड

0
Shares

काठमाडौं । 

नेपालमा छ महिनाभन्दा कम उमेरका १० मध्ये करिब सात शिशुले मात्र पूर्ण स्तनपान पाउने गरेको तथ्य सार्वजनिक भएको छ । नवजात शिशुलाई जन्मिएको एक घण्टाभित्र स्तनपान गराउने अभ्यास पनि अपेक्षाअनुसार हुन नसकेको भन्दै छ महिनाको तलबसहितको प्रसूति बिदा शीघ्र कार्यान्वयन गर्न, स्तनपानमैत्री कार्यस्थल बनाउन तथा आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनुचित बजारीकरण नियन्त्रण गर्न आह्वान गरिएको छ ।

नेचुरेशन फेलोसिपका विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीले नेपालमा स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगका लागि सरकार तथा सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

नेपाल बहुसूचक सर्वेक्षण (एनएmआईसिएस) २०२४–२५ अनुसार छ महिनाभन्दा कम उमेरका शिशुमध्ये १० मध्ये सात जनाले मात्र पूर्ण स्तनपान पाउने गरेका छन् । त्यस्तै, जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्ने नवजात शिशुको संख्या १० मध्ये चारभन्दा कम रहेको फेलोसिपको विश्लेषणमा उल्लेख छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनिसेफले शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान सुरु गर्न तथा जन्मेको पहिलो छ महिनासम्म पूर्ण स्तनपान गराउन सिफारिस गर्दै आएका छन् । पूर्ण स्तनपान भन्नाले आमाको दूधबाहेक पानीसमेत अन्य कुनै खाना वा पेय पदार्थ नदिई स्तनपान गराउनु हो । छ महिना पुगेपछि पौष्टिक पूरक आहार सुरु गर्दै दुई वर्ष वा सोभन्दा बढी समयसम्म स्तनपानलाई निरन्तरता दिन सिफारिस गरिएको छ ।

नेचुरेशन फेलोसिपका अनुसार आमाको दूधले शिशुलाई आवश्यक पोषक तत्व उपलब्ध गराउनुका साथै प्रतिरोधात्मक तत्वमार्फत विभिन्न रोगबाट जोगाउन र स्वस्थ शारीरिक तथा मस्तिष्क विकासमा सहयोग पु¥याउँछ । स्तनपानका फाइदा बाल्यकालपछि पनि कायम रहने र स्तनपान गरेका बालबालिकामा बढी तौल तथा मोटोपनको सम्भावना कम हुने अध्ययनहरूले देखाएका छन् । स्तनपान आमाको स्वास्थ्यसँग पनि जोडिएको भन्दै फेलोसिपले स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सरको जोखिम कम गर्न मद्दत गर्ने उल्लेख गरेको छ ।

बिदा र स्तनपानबीच प्रत्यक्ष सम्बन्ध

नेपाल सरकारले कम्तीमा छ महिनाको तलबसहितको प्रसूति बिदा र ४२ दिनको तलबसहितको पितृत्व बिदा उपलब्ध गराउने प्रस्ताव अघि बढाउनु महत्वपूर्ण कदम भएको फेलोसिपकोको धारणा छ । लामो अवधिको तलबसहितको प्रसूति बिदाले आमालाई प्रसूतिपछि स्वास्थ्यलाभ गर्न, नवजात शिशुको हेरचाह गर्न र स्तनपान स्थापित गर्न आवश्यक समय उपलब्ध गराउने भएकाले यसलाई महिला अधिकार र सम्मानसँग समेत जोडिएको छ ।

प्रस्तावित पितृत्व बिदाले भने नवजात शिशुको हेरचाहमा बुबाको सहभागिता बढाउने तथा आमाको स्वास्थ्यलाभ, स्तनपान र घरायसी जिम्मेवारीमा सहयोग गर्ने वातावरण निर्माण गर्न सक्ने फेलोसिपको भनाइ छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको पोषण शाखाका प्रमुख लिला विक्रम थापाले आमालाई छ महिनाको तलबसहितको प्रसूति बिदा उपलब्ध गराउनु महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाका अनुसार पोषण शाखा र परिवार कल्याण महाशाखाले साझेदार संस्था तथा समुदायसँगको सहकार्यमा पर्याप्त परामर्श तथा स्तनपान सहयोग सुनिश्चित गर्न काम गरिरहेको छ ।

स्तनपानको अभ्याससँगै बोतलबाट दूध खुवाउने प्रवृत्तिप्रति पनि ध्यान दिनुपर्ने देखिएको छ । एनएमआइसिएस २०२४–२५ अनुसार नेपालमा दुई वर्षभन्दा कम उमेरका बालबालिकामा बोतलबाट दूध खुवाउने दर २८ प्रतिशत रहेको छ । बागमती प्रदेशमा यस्तो दर ५१ प्रतिशत पुगेको फेलोसिपले तयार पारेको सामग्रीमा उल्लेख छ । 

नेचुरेशन फेलोसिपले यसलाई स्तनपान प्रवर्द्धनका लागि थप नीतिगत तथा व्यवहारिक हस्तक्षेप आवश्यक रहेको संकेतका रूपमा अघि सारेको छ । नेपालले पुड्कोपन सम्बन्धी लक्ष्य हासिल गरेको भए पनि रक्तअल्पता  र स्तनपानसम्बन्धी अभ्यासमा रहेका कमी अझै चुनौतीका रूपमा रहेको फेलोसिपको विश्लेषण छ ।

तीन क्षेत्रमा तत्काल काम गर्न आग्रह

नेचुरेशन फेलोसिपले स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोगका लागि सरकार तथा साझेदार संस्थासमक्ष तीन प्रमुख क्षेत्रमा काम गर्न आह्वान गरेको छ । पहिलो, प्रस्तावित छ महिनाको तलबसहितको प्रसूति बिदासम्बन्धी संशोधन शीघ्र अनुमोदन र कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ । यसले आमालाई शिशुलाई आवश्यक अवधिसम्म स्तनपान गराउन समय र सहयोग उपलब्ध गराउने फेलोसिपकोे भनाइ छ ।

दोस्रो, आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) सम्बन्धी ऐन, २०४९ को कार्यान्वयन तथा अनुगमन प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । आमाहरू तथा परिवारलाई स्तनपानका विकल्पका रूपमा प्रयोग हुने वस्तुको अनुचित प्रचार–प्रसार तथा बजारीकरणबाट जोगाउन कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको नेचुरेशन फेलोसिपको भनाइ छ । तेस्रो, औपचारिक तथा अनौपचारिक दुवै क्षेत्रमा काम गर्ने आमाका लागि स्तनपानमैत्री कार्यस्थल, उपयुक्त स्तनपान कक्ष, लचिलो कार्य व्यवस्था र समुदायमा आधारित सहयोग सुनिश्चित गर्न आग्रह गरिएको छ ।

नेपाल पेडियाट्रिक सोसाइटीको पोषण अध्यायकी अध्यक्ष डा. पवना कायस्थले प्रसूति बिदासँगै आमाले आवश्यक सहयोग पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभएको छ । उहाले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको अनुचित बजारीकरणबाट परिवारलाई सुरक्षित राख्न आमाको दूध प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण  नियन्त्रण) सम्बन्धी ऐन, २०४९ र मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम सञ्चालन निर्देशिका, २०८३ (डब्लुएचओ) को प्रभावकारी कार्यान्वयन सुदृढ गर्नुपर्नेमा जोड दिनुभएको छ । 

नेचुरेशन फेलोसिपलेकी विद्यार्थी श्वेता घिमिरेले सरकारका नीतिलाई आमाहरूले दैनिक जीवनमा अनुभव गर्ने वास्तविक सहयोगमा रूपान्तरण गर्न सबैको भूमिका हुने बताउनुभयो । उहाका अनुसार प्रत्येक अस्पताल, कार्यस्थल र समुदायमा आमाले आवश्यक सहयोग पाउने वातावरण बनाउन विद्यार्थी तथा युवाले पनि सचेतना र पैरवीमा भूमिका खेल्न सक्छन् ।

नेचुरेशन फेलोसिपको पहलमा सञ्चालित नेचुरेशन फेलोसिपले विद्यार्थी तथा युवा एवं उदीयमान पोषण तथा स्वास्थ्यकर्मीलाई सिकाइ, अनुसन्धान र पैरवीका अवसरसँग जोड्दै आएको छ । फेलोसिपलेमा नेपालभर ४०० भन्दा बढी सदस्य रहेको र तीमध्ये आधाभन्दा बढी विद्यार्थी रहेको सामग्रीमा उल्लेख छ ।

स्तनपानलाई आमाको व्यक्तिगत जिम्मेवारीका रूपमा मात्र होइन, परिवार, कार्यस्थल, स्वास्थ्य संस्था र राज्यको नीतिगत जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने अवस्था देखिएको छ ।