काठमाडौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार बुधबार बिहान १ बजेर २५ मिनेटमा चीनको जिलिन प्रान्तका जियानह्वा वाङ एक किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पदार्थसहित पक्राउ परेका हुन्।
हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौँ आएका वाङको गतिविधि शङ्कास्पद देखिएपछि प्रहरीले जाँच गरेको थियो।
जाँचका क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएका पहेँलो अर्धठोस पदार्थका चारवटा टुक्रा फेला परेका थिए। भन्सार क्षेत्र पार गरी विमानस्थलबाट बाहिरिने क्रममा उक्त पदार्थ फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ।







प्रतिक्रिया