इबोलाविरुद्धको अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी नै सङ्क्रमित, दर्जनौँको मृत्यु


कङ्गोमा इतिहासकै ठूलो र घातक प्रकोप, करिब ६ महिनामा ११ हजार सङ्क्रमित र ५ हजार ३०० भन्दा बढीको मृत्यु

कङ्गो।

प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) इतिहासकै सबैभन्दा ठूलो र घातक इबोला प्रकोपको सामना गरिरहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार प्रकोप घोषणा भएको करिब छ महिनामा झन्डै ११ हजार व्यक्ति सङ्क्रमित भएका छन् भने ५ हजार ३०० भन्दा बढीको मृत्यु भएको छ। वास्तविक सङ्क्रमण र मृतकको सङ्ख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ।

इबोला नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा मानवीय सहायता कार्यकर्तासमेत सङ्क्रमणको जोखिममा परेका छन्। उनीहरूमध्ये कतिपयले आफ्नै परिवारका सदस्य, आफन्त र सहकर्मी गुमाएका छन्। इबोला उपचार केन्द्रमा सङ्क्रमण रोकथामका कडा उपाय अपनाइए पनि प्रकोप प्रभावित समुदायमै बसोबास गर्ने स्वास्थ्यकर्मी दैनिक जीवनमा सङ्क्रमणको जोखिममा रहेको सीमाविहीन चिकित्सक (एमएसएफ) ले जनाएको छ।
शरीरबाट निस्कने तरल पदार्थमार्फत फैलिने बुन्डिबुग्यो भाइरसको अत्यन्तै थोरै सम्पर्कबाट पनि सङ्क्रमण हुन सक्ने र यसबाट हुने मृत्युदर करिब ५० प्रतिशत रहेको एमएसएफले उल्लेख गरेको छ। आधिकारिक तथ्याङ्कअनुसार देशभर सयौँ अग्रपङ्क्तिका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने दर्जनौँको मृत्यु भएको छ।

एमएसएफका अनुसार प्रकोप घोषणा भएयता संस्थाबाट परिचालित वा सहयोग प्राप्त गरेका २ हजार ९ सय जनामध्ये २९ जना सङ्क्रमित भएका छन्। उनीहरूमध्ये तीन जनाको मृत्यु भएको छ। अधिकांश स्वास्थ्यकर्मी समुदायमै सङ्क्रमित भएको अनुमान गरिएको छ।

जोखिम र चुनौतीका बाबजुद हजारौँ स्वास्थ्यकर्मी महामारी नियन्त्रण र मानिसको जीवन बचाउन खटिरहेका छन्। उनीहरूको अनुभवले उपचारमा संलग्न स्वास्थ्यकर्मी आफैँले भोग्नुपरेको भय, पीडा र सङ्घर्ष उजागर गरेको छ।

एमएसएफको इटुरी प्रान्तस्थित इलिक्या इबोला उपचार केन्द्रमा काम गरेका ३५ वर्षीय चिकित्सक डा. सिल्भेन राद्जाबु लुबाङ्गी आफैँ सङ्क्रमणबाट निको भएपछि पुनः बिरामीको उपचारमा फर्किनुभएको छ। सङ्क्रमित भएको थाहा पाउँदा आफू स्तब्ध भएको र सुरुमा धेरै मानिसको मृत्यु भइरहेकाले आफू पनि बाँच्न नसक्ने डर लागेको उहाँले बताउनुभएको छ। “बिरामीलाई हेर्दा म आफैँलाई देख्छु। उनीहरूको डर, पीडा र अनिश्चितता मैले अनुभव गरेको छु। त्यसैले उनीहरूलाई सहयोग गर्न थप संवेदनशील र प्रतिबद्ध भएको छु,” उहाँले भन्नुभएको छ।

इटुरीकै मङ्ब्वालु उपचार केन्द्रमा कार्यरत जर्मनीकी बालरोग विशेषज्ञ डा. कार्ला स्वानफेल्डरले बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिला सङ्क्रमणको उच्च जोखिममा रहेको बताउनुभएको छ। उहाँका अनुसार कतिपय बालबालिका एक दिन सामान्य अवस्थामा खाने र खेल्ने गरे पनि अर्को दिन मृत्यु हुने गरेका छन्। उपचारका क्रममा बालबालिकाले परिवारका आधाभन्दा बढी सदस्य गुमाएको देख्नु स्वास्थ्यकर्मीका लागि अत्यन्त पीडादायी हुने उहाँको अनुभव छ।

एमएसएफका स्वास्थ्य प्रवद्र्धक २९ वर्षीय डियुदोने टचुमा लोङ्गाले आफ्नै परिवारका आठ सदस्य गुमाउनुभएको छ। मृत्यु हुनेमा उहाँका बुबा र छोरा पनि छन्। बुबाको अन्त्येष्टिमा सहभागी हुँदा आफू सङ्क्रमित भएको र पछि श्रीमतीमा पनि सङ्क्रमण सारेको उहाँको अनुमान छ। दुवै जनाले दुई साताभन्दा बढी उपचार केन्द्रमा बिताएपछि स्वास्थ्यलाभ गरेका थिए। उहाँ अहिले समुदायमा घरदैलो, सामुदायिक बैठक तथा धार्मिक र सामाजिक अगुवासँगको छलफलमार्फत इबोलाबारे सचेतना फैलाउँदै आउनुभएको छ। आफ्नै अनुभव सुनाउँदा मानिसले रोगको गम्भीरता बुझ्ने गरेको उहाँले बताउनुभएको छ।

उपचार केन्द्रमा बिरामीको मानसिक स्वास्थ्यमा सहयोग गर्ने चार्लोट बोरीभका अनुसार मानिसहरू इबोला, एकान्तवास र व्यक्तिगत सुरक्षा पोसाक लगाएका स्वास्थ्यकर्मीसँग डराउने गर्छन्। बिरामीलाई उपचार केन्द्रको उद्देश्य र उपलब्ध सेवाबारे बुझाउनु आफ्नो पहिलो काम भएको उहाँको भनाइ छ। यसैगरी, नर्स एलिस एलियरुङ्गाले सुरुका तीन सातासम्म उपचार केन्द्रमा कुनै पनि बिरामी निको नभएको र करिब सय जनाको मृत्यु भएको अनुभव सुनाउनुभएको छ। पहिलो बिरामी निको हुँदा स्वास्थ्यकर्मीमा ठूलो खुसी छाएको उहाँले बताउनुभएको छ।

एमएसएफका अनुसार उपचार केन्द्रमा बुन्डिबुग्यो भाइरसविरुद्ध स्वीकृत विशिष्ट औषधि उपलब्ध नभए पनि लक्षणअनुसार उपचार गर्न सकिन्छ। जटिलता देखिनुअघि नै उपचारमा पुगेका बिरामीको निको हुने सम्भावना बढी हुन्छ। त्यसैले प्रारम्भिक लक्षण देखिएलगत्तै स्वास्थ्य संस्था पुग्न र समुदायमा विश्वास तथा सचेतना बढाउन संगठनले जोड दिएको छ। प्रकोप प्रभावित क्षेत्रमा सशस्त्र समूहको गतिविधि, असुरक्षा र समुदायमा फैलिएको अविश्वासले पनि उपचार तथा रोकथामका काममा अवरोध सिर्जना गरेको छ। एमएसएफले जीवन बचाउन समुदायको विश्वास जित्ने, स्थानीय मानिससँग सहकार्य गर्ने र संक्रमण रोकथामका उपाय प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औँल्याएको छ।