एक वर्षमै क्षयरोगले ४ लाखको मृत्यु

दक्षिण–पूर्वी एसियामा विश्वका ३४ प्रतिशत क्षयरोगी, ४४ प्रतिशत परिवार उपचार खर्चले आर्थिक संकटमा

0
Shares

–औषधी प्रतिरोधी क्षयरोगको भार पनि उच्च, करिब १ लाख ४० हजार प्रभावित

–कुपोषणबाट मात्रै वर्षेनि ४ लाख ५० हजार नयाँ सङ्क्रमित थपिने अनुमान

–विश्वको क्षयरोग भारको ३४ प्रतिशत रहेको क्षेत्रमा बजेट भने १६ प्रतिशत मात्रै

काठमाडौँ।

दक्षिण–पूर्वी एसियामा क्षयरोगको सङ्क्रमण र मृत्युदर भयावह देखिएको छ । सन् २०२५ मा यस क्षेत्रमा ३६ लाख मानिस क्षयरोगबाट सङ्क्रमित भएका छन् भने ४ लाख जनाको मृत्यु भएको छ । विश्वभरका नयाँ क्षयरोगीमध्ये ३४ प्रतिशत र कुल मृत्युमध्ये ३५ प्रतिशत यही क्षेत्रमा रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

क्षयरोगको उच्च भार र मृत्युदर घटाउन राजनीतिक प्रतिबद्धता, सरकारी लगानी तथा स्वास्थ्य क्षेत्रबाहिरका निकायबीच समन्वयात्मक प्रयास बढाउन डब्लुएचओले आह्वान गरेको छ । डब्लुएचओका अनुसार यस क्षेत्रमा औषधी प्रतिरोधी क्षयरोगको समस्या पनि गम्भीर छ । विश्वभर रिफाम्पिसिन प्रतिरोधी तथा बहुऔषधी प्रतिरोधी क्षयरोगको भारमध्ये करिब ३८ प्रतिशत दक्षिण–पूर्वी एसियामा छ । सन् २०२५ मा मात्रै करिब १ लाख ४० हजार व्यक्ति यस्ता प्रकारका क्षयरोगबाट प्रभावित भएका थिए ।

डब्लुएचओ दक्षिण–पूर्वी एसियाका प्रमुख डा. निलेश बुद्धले क्षयरोगलाई यस क्षेत्रको प्रमुख जनस्वास्थ्य तथा विकास चुनौतीका रूपमा चित्रण गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यी तथ्यांकले क्षयरोग अझै पनि यस क्षेत्रको गम्भीर जनस्वास्थ्य चुनौती रहेको देखाउँछन् । प्रत्येक तथ्यांकपछाडि रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदाय छन् । क्षयरोग रोकथाम गर्न र उपचार गर्न सकिने रोग हो ।’

क्षयरोगको भार उच्च भए पनि निदान तथा उपचार सेवामा भने सुधार देखिएको छ । सन् २०२५ मा क्षयरोग भएका ८७ प्रतिशत व्यक्तिले निदान तथा उपचार सेवा पाएका थिए, जबकि विश्वको औसत ७९ प्रतिशत छ । औषधीप्रति संवेदनशील क्षयरोगको उपचार सफलता दर ९३ प्रतिशत र रिफाम्पिसिन प्रतिरोधी क्षयरोगको ७४ प्रतिशत पुगेको छ ।

तर प्रारम्भिक पहिचानमा अझै कमजोरी छ । नयाँ तथा पुनः देखिएका क्षयरोगका बिरामीमध्ये निदानका क्रममा डब्लुएचओले सिफारिस गरेका द्रुत परीक्षण विधि प्रयोग भएकाको संख्या ४७ प्रतिशत मात्रै छ । रोग र औषधी प्रतिरोधी अवस्था समयमै पत्ता लगाउन द्रुत आणविक परीक्षणको पहुँच विस्तार गर्नुपर्ने संगठनको जोड छ ।

सन् २०१५ यता यस क्षेत्रमा क्षयरोगको सङ्क्रमण दर १८ प्रतिशत र मृत्युदर ३१ प्रतिशतले घटेको छ । तथापि, यो प्रगति क्षयरोग अन्त्य गर्ने विश्वव्यापी रणनीतिले सन् २०२५ का लागि निर्धारण गरेका लक्ष्यभन्दा कम हो ।

क्षयरोगको जोखिम बढाउन स्वास्थ्य क्षेत्रबाहिरका कारणसमेत जिम्मेवार देखिएका छन् । कुपोषणका कारण हरेक वर्ष करिब ४ लाख ५० हजार नयाँ क्षयरोगी थपिने अनुमान छ भने मधुमेहका कारण करिब ४ लाख नयाँ सङ्क्रमण हुने गरेको छ । धुम्रपान, हानिकारक मदिरा सेवन र एचआईभी सङ्क्रमण पनि प्रमुख जोखिम कारक हुन् ।

रोगको उपचार खर्चले परिवारलाई आर्थिक संकटमा समेत पारेको छ । क्षयरोगबाट प्रभावित व्यक्ति र उनीहरूका परिवारमध्ये करिब ४४ प्रतिशतले उपचारका कारण विनाशकारी आर्थिक खर्च बेहोर्नुपरेको डब्लुएचओको तथ्यांक छ । त्यसैले उपचारसँगै पोषण सहायता, आर्थिक सहयोग र सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने संगठनले औँल्याएको छ ।

सन् २०२६ सेप्टेम्बर १४ मा सम्पन्न डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय समितिको ७९औँ बैठकले सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने प्रतिबद्धता दोहो¥याउँदै प्रस्ताव पारित गरेको थियो । प्रस्तावमा जोखिममा रहेका समुदायको नियमित परीक्षण, सक्रिय बिरामी खोजी, द्रुत आणविक परीक्षण विस्तार, घरपरिवारका सम्पर्कमा रहेका व्यक्ति तथा एचआईभी सङ्क्रमितलाई निवारक उपचार र प्राथमिक स्वास्थ्य सेवामै गुणस्तरीय क्षयरोग सेवा एकीकृत गर्न जोड दिइएको छ ।

सन् २०२५ मा यस क्षेत्रमा क्षयरोग रोकथाम तथा उपचारका लागि १ अर्ब ३ करोड अमेरिकी डलर उपलब्ध भएको थियो । त्यसको ९१ प्रतिशत रकम सम्बन्धित देशकै आन्तरिक स्रोतबाट जुटाइएको थियो । तर विश्वको कुल क्षयरोग भारको ३४ प्रतिशत हिस्सा ओगट्ने यस क्षेत्रमा विश्वव्यापी क्षयरोग बजेटको करिब १६ प्रतिशत मात्रै उपलब्ध भएको डब्लुएचओले जनाएको छ ।

डा. बुद्धका अनुसार क्षयरोग अन्त्य गर्नु स्वास्थ्य क्षेत्रको मात्रै जिम्मेवारी होइन । त्यसका लागि सरकारका सबै निकायको नेतृत्व, निरन्तर लगानी, बलियो स्वास्थ्य प्रणाली र समुदायको सक्रिय सहभागिता आवश्यक छ । रोकथाम, निदान र उपचारका प्रभावकारी उपाय उपलब्ध भए पनि ती सेवा आवश्यक पर्ने सबै व्यक्तिसम्म समयमै पु¥याउनु मुख्य चुनौती रहेको डब्लुएचओले जनाएको छ । सन् २०३० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य हासिल गर्न राजनीतिक प्रतिबद्धतालाई मापनयोग्य काममा रूपान्तरण गर्नुपर्ने संगठनको निष्कर्ष छ ।