दानबहादुर कार्कीको रिटमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाइयो


काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएका दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।

सर्वोच्च अदालतले कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने सरकारको निर्णयका सम्बन्धमा कारण देखाउन विपक्षीहरूका नाममा आदेश जारी गरेको हो। साथै, अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन बोलाइएको छ।

कार्कीले आफूलाई सुनुवाइको अवसरसमेत नदिई कानुनी आधार र पर्याप्त कारणबिना प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। उनको स्थानमा सरकारले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको थियो।

सरकारको उक्त निर्णय गैरकानुनी रहेको दाबी गर्दै कार्कीले निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गरी आफूलाई प्रहरी महानिरीक्षक पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

त्यसैगरी, नवनियुक्त प्रहरी महानिरीक्षक केसीको नियुक्तिसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेशको मागसमेत रिटमा गरिएको छ।

सर्वोच्च अदालतको कारण देखाउ आदेशसँगै अब सरकार पक्षले आफ्नो निर्णयको कानुनी आधार प्रस्तुत गर्नुपर्नेछ। अन्तरिम आदेशका विषयमा दुवै पक्षको छलफलपछि अदालतले थप निर्णय गर्नेछ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।