काठमाडौं ।
हेल्थ फाउन्डेसन नेपालको अध्यक्षमा डा. श्रीधर पौडेल पुनः निर्वाचित भएका छन्। अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोरमा नोभेम्बर १३ देखि १५ सम्म भर्चुअल तथा हाइब्रिड माध्यमबाट आयोजित फाउन्डेसनको १४औँ सम्मेलनले पौडेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो।
सम्मेलनले नयाँ कार्यसमितिको कार्यकारी निर्देशकमा प्रतीक्षा खत्रीलाई चयन गरेको छ। त्यसैगरी उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थपलिया निर्वाचित भएका छन्।
महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन्।
सम्मेलनबाट २० सदस्यीय सञ्चालक समिति पनि गठन गरिएको छ। समितिमा डा. अशोक देवकोटा, डा. यशस्वी पोखरेल, नील धिताल, डा. रञ्जित सापकोटा, डा. विनिता शर्मा, डा. सुनील बोगटी, सावित्री बस्नेत, डा. अतीत तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु अर्याल र डा. पविता ढुङ्गेल रहेका छन्।
सन् २०१३ मा स्थापना भएको हेल्थ फाउन्डेसन नेपाल गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो। नेपाल र अमेरिकामा दर्ता रहेको यस संस्थाले अमेरिकामा ५०१ (सी)(३) अन्तर्गत गैरनाफामूलक संस्थाको मान्यता प्राप्त गरेको छ। काठमाडौंस्थित कार्यालयमार्फत नेपालमा विभिन्न स्वास्थ्य तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्थाले स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई लक्षित गरी काम गर्दै आएको छ।
संस्थाको मुख्य उद्देश्य समुदायमा आधारित संस्थालाई आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनु, जनस्वास्थ्यसम्बन्धी अनुसन्धान गर्नु तथा प्राथमिक स्वास्थ्य सेवामार्फत प्रत्यक्ष उपचार सेवा प्रदान गर्नु हो।
फाउन्डेसनले मानसिक स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ, पोषण, बाल तथा मातृ स्वास्थ्य, परिवार नियोजन, किशोरकिशोरीको प्रजनन स्वास्थ्य र महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ। त्यसैगरी विपद् तथा महामारीका बेला मानवीय सहायता उपलब्ध गराउँदै आएको संस्थाले आगामी दिनमा नेपालका ग्रामीण तथा सहरी क्षेत्रका स्वास्थ्य सेवाबाट वञ्चित समुदायसम्म आफ्नो सेवा विस्तार र कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।











प्रतिक्रिया