५३ करोडभन्दा बढी जरिवाना र २ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ


काठमाडौं ।

राजस्व चुहावटसम्बन्धी मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा गुल्सन श्रीवास्तव भन्ने रामचन्द्र श्रीवास्तव रहेका छन्। उनी भारतको उत्तर प्रदेशस्थित गोरखपुरका स्थायी बासिन्दा हुन्।

राजस्व अनुसन्धान विभाग, हरिहरभवन, ललितपुरको निर्देशन तथा अनुसन्धान अधिकृत प्रेम प्रसाद आचार्यसमेतको प्रतिवेदनका आधारमा दायर भएको राजस्व चुहावट मुद्दामा उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको थियो।

उक्त मुद्दामा अदालतले श्रीवास्तवलाई २ वर्ष कैद र ५३ करोड रुपैयाँभन्दा बढी जरिवानाको फैसला सुनाएको थियो।

अदालतको फैसलापछि फरार रहेका श्रीवास्तवलाई केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले पर्सा प्रहरीको सहयोगमा वीरगञ्ज महानगरपालिका–१६, नगवाबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका श्रीवास्तवलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।