महिला सशक्तीकरणका लागि ३२ पालिकामा ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सम्पन्न 


काठमाडौँ। 

नेपाली महिलाको सशक्तीकरणका मुद्दालाई विभिन्न माध्यमबाट उजागर गर्दै लैङ्गिक समानता, महिला सशक्तीकरण र समावेशी सवाललाई नीति निर्माण तहसम्म पु¥याउने उद्देश्यले ‘सशक्त महिला, समृद्ध नेपाल’ परियोजना सञ्चालनमा रहेको छ ।

नेपाल सरकार, युरोपियन युनियन र संयुक्त राष्ट्रसंघ नेपालद्वारा सञ्चालित उक्त परियोजना कर्णाली प्रदेशका १०, मधेश प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १० गरी ३२ पालिकामा सञ्चालन भइरहेको छ । परियोजनाले महिलालाई पछाडि पार्ने समाजमा विद्यमान हानिकारक अभ्यास तथा कुरीति हटाउँदै भेदभावमुक्त समाज निर्माण, महिलाको आर्थिक सशक्तीकरण तथा शासन पद्धतिको सुदृढीकरणका क्षेत्रमा काम गरिरहेको जनाइएको छ ।

परियोजनाअन्तर्गत कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशका २६ जना सञ्चारकर्मीले महिला सशक्तीकरण, भेदभावविरुद्धका अभ्यासलगायतका विषयमा दुई बर्ष अवधिमा ४५ वटा लेख प्रकाशित गरी नीति निर्माण तहका जिम्मेवार व्यक्तिको ध्यानाकर्षण गराएको जनाइएको छ । परियोजनाअन्तर्गत विगत दुई वर्षदेखि ती प्रदेशमा कार्यरत सञ्चारकर्मीले गरेका कामबारे आयोजित राष्ट्रिय समीक्षा कार्यशालामा परियोजनाबाट भएका विभिन्न कामका सकारात्मक प्रभावबारे जानकारी दिइएको थियो ।

सो अवसरमा नेपाल टेलिभिजन तथा रेडियो नेपालका कायममुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले महिलाले आफ्नो जिम्मेवारी पूरा गर्दै पेसा तथा व्यवसायलाई समेत सँगसँगै अगाडि बढाउन चुनौती भए पनि प्रयास जारी रहेको र यो क्रम बढ्दै गएको बताउनुभयो । उहाँले महिलाले काम गर्न सक्दैनन् भन्नुभन्दा पहिले उनीहरूलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड दिँदै महिलामैत्री वातावरण निर्माणसँगै महिलाका जिम्मेवारीलाई समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

युरोपियन युनियनका टिम लिडर (नेतृत्वकर्ता) ग्रीट्यू लोवागीले समानताका लागि महिलाको शिक्षा, स्वास्थ्य तथा पेसा–व्यवसायका लागि अवसर सिर्जना गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँले महिला सशक्तीकरणका लागि सञ्चालित उक्त परियोजनामा युरोपियन युनियनले सहकार्य गरेको बताउनुभयो । कार्यक्रममा विज्ञहरू अरुण कार्की, शिव भण्डारी, सन्त गाह, रमेशप्रसाद भुसाल र सोनिया अवालेलगायतले सहभागीलाई विभिन्न विषयमा प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरी सञ्चारकर्मी मधु शाहीले महिलाले आफ्नो जिम्मेवारी पूरा गर्दै पेशामा निरन्तरता दिन गर्नुपर्ने संघर्षबारे आफ्नो अनुभव सुनाउनुभएको थियो ।

नेपाल प्रेस काउन्सिलका सदस्य रविराज बरालले सञ्चारकर्मीका हितमा काउन्सिलले निर्वाह गर्दै आएको दायित्वबारे चर्चा गर्नुभएको थियो ।

परियोजनाको राष्ट्रिय समीक्षा कार्यशालामा सहभागी सञ्चारकर्मीले महिला सशक्तीकरण तथा लैङ्गिक समानताका सवालमा समाचार तथा लेखमार्फत उठाएका विषय, काम गर्दाका अनुभव र त्यसबाट देखिएका प्रभावबारे छलफल गरेका थिए । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नेपाली पत्रकारका विशिष्ट स्टोरीको अवसर

प्रशिक्षणमा नेपाली पत्रकारले आफ्नो स्थानीय अनुभव र समुदायमा आधारित विशिष्ट विषयलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म पु¥याउन सक्ने भएकाले स्टोरी आइडिया विकास, फेलोसिप तथा अन्तर्राष्ट्रिय पुरस्कारका अवसरलाई उपयोग गर्नुपर्नेमा जोड दिइयो । सोही अवसरमा पत्रकारले नियमित रिपोर्टिङसँगै आफूले देखेका र भोगेका विषयलाई गहिराइमा पुगेर अध्ययन गरी अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न सक्ने बताइयो । 

फेलोसिप र मेन्टरसिप फरक विषय भएको उल्लेख गर्दै प्रशिक्षणमा स्थापित पत्रकारले आफूले गरिरहेको स्टोरीलाई अझ बलियो बनाउन मेन्टरले मार्गदर्शन गर्न सक्ने बताइयो । स्टोरी कसरी योजना बनाउने, कुन कोणबाट हेर्ने र के–के विषयमा ध्यान दिने भन्नेमा मेन्टरले सहयोग गर्ने जनाइयो । फेलोसिपमा पत्रकारले निश्चित विषय वा थिम लिएर केही समय त्यसैमा केन्द्रित भएर अध्ययन र रिपोर्टिङ गर्ने अवसर प्राप्त गर्ने बताइएको थियो । नियमित रिपोर्टिङका क्रममा उठेका प्रश्न र जिज्ञासालाई थप गहिराइमा पुगेर अध्ययन गर्ने, नयाँ कुरा सिक्ने र सम्बन्धित विषयको बुझाइ बलियो बनाउने फेलोसिपको उद्देश्य हुने प्रशिक्षणका क्रममा उल्लेख गरिएको थियो ।

एआई प्रविधिको प्रयोग गर्दा ‘तपाईंले नेपालीमा जे रिपोर्ट गर्नुभएको छ, त्यही कुरा मात्र अनुवाद हुनुपर्छ,’ प्रशिक्षणमा भनिएको थियो, ‘आफ्नो तथ्यमा केही थप्ने, अतिरञ्जित गर्ने वा नभएको कुरा सिर्जना गर्ने काम गर्नु हुँदैन ।’ एआई पत्रकारको सहयोगी हुन सक्ने तर पत्रकारको स्थान लिन नसक्ने उल्लेख गर्दै तथ्य, प्रमाण र मूल सामग्रीमा पत्रकारकै नियन्त्रण हुनुपर्ने बताइएको थियो । दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा विभिन्न क्षेत्रीय पत्रकारिता पुरस्कार तथा फन्डिङका अवसरसमेत बढिरहेकाले आफ्नो विषयअनुसार उपयुक्त अवसर खोजिरहनुपर्नेमा प्रशिक्षणमा जोड दिइएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विभिन्न देशमा आफ्ना पत्रकार राखे पनि बाहिरबाट आउने राम्रो र विशिष्ट स्टोरीको आवश्यकता रहने बताइएको थियो । नेपालमा पत्रकारले आफ्नो समुदाय र स्थानीय अनुभवबाट प्राप्त विशिष्ट विषयलाई अन्तर्राष्ट्रिय पाठकका लागि उपयोगी हुने गरी तयार पारेर सम्बन्धित सञ्चारमाध्यममा पिच गर्न सक्ने बताइएको थियो । यसका लागि आफूले काम गर्न चाहेको सञ्चारमाध्यमका सम्बन्धित सम्पादक वा पत्रकारलाई सामाजिक सञ्जाल तथा व्यावसायिक सञ्जालमार्फत फलो गरी उनीहरूले कस्ता विषयमा काम गरिरहेका छन् भन्ने अध्ययन गर्नुपर्ने बताइएको थियो । राम्रो स्टोरी आइडिया भए छोटो र स्पष्ट पिच पठाउन सकिने उल्लेख गरिएको थियो ।

अन्तर्राष्ट्रिय सम्पादकलाई धेरै स्टोरी आउने भएकाले सबै पिचको जवाफ नआउन सक्ने भए पनि निरन्तर फलोअप र नियमित निगरानी आवश्यक हुने बताइएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग काम गर्दा रिपोर्टरले सबै काम आफैँ गर्नुपर्ने अवस्था नहुने र डेटा, म्यापिङ, सम्पादन तथा अनुसन्धानमा सम्बन्धित संस्थाको टिमले सहयोग गर्न सक्ने पनि प्रशिक्षणमा उल्लेख गरिएको थियो ।

पत्रकारको मुख्य जिम्मेवारी बलियो स्टोरी आइडिया र प्रभावकारी रिपोर्टिङ प्रस्तुत गर्नु रहेको बताउँदै आफ्नै ठाउँ, समुदाय र अनुभवबाट निस्किएका विशिष्ट विषय खोज्न पत्रकारलाई सुझाव दिइएको थियो । ‘नेपालभित्रको वास्तविकता, स्थानीय अनुभव र समुदायको आवाज तपाईंले जति राम्रोसँग बुझ्न सक्नुहुन्छ, वाहिइ पत्रकारहरूले त्यति सजिलै बुझ्न सक्दैनन्,’ प्रशिक्षणमा भनिएको थियो ।