विश्व अल्जाइमर्स दिवस: औषधि र उचित व्यवस्थापनले नियन्त्रण गर्न सकिन्छ अल्जाइमर्सलाई

0
Shares

अल्जाइमर्स मस्तिष्क सम्बन्धित रोग हो, जसमा मस्तिष्कका कोषहरू बिस्तारै मर्दै जान्छन् र सम्झने, सोच्ने र व्यवहार गर्ने क्षमता ह्रास हुँदै जान्छ। यो डिमेन्सियाको सबैभन्दा सामान्य कारण हो। उमेरसँगै मस्तिष्कका कोषहरू मर्दै जान्छन्। मस्तिष्कमा एमाइलोइड प्लाक र ताउ प्रोटिन भन्ने तत्वहरू असामान्य रूपमा जम्मा हुँदै जान्छन्, जसको फलस्वरूप स्नायु कोषिकाबीच सञ्चार बिग्रिन्छ र यो रोग उत्पन्न हुन्छ।
यो मुख्यतः वृद्धावस्थामा देखिए पनि वृद्धावस्थामा मात्र सीमित भने छैन । तुलनात्मक रूपमा दुर्लभ भए पनि यो ६५ वर्षभन्दा कम उमेरमा पनि हुन सक्छ। उमेर र जीवनशैलीले पनि केही हदसम्म अल्जाइमर्स हुनमा भूमिका खेल्छ।

प्रमुख लक्षणहरू:

अल्जाइमर्स लागेको मानिसलाई रोग लागेको छ भनेर आफैं थाहा हुँदैन, त्यसैले यो रोगको पहिचान परिवार, छिमेकी र साथीभाइले गर्छन् । बिरामीले पूराना कुरा सम्झने तर तत्कालका कुराचाहिँ बिर्सने हुन थाल्छ । व्यवहार र दैनिक जीवनयापनमै परिवर्तन आउँछ । पहिला राम्ररी गर्ने कुराहरु बिर्सँदै जाने, धारा खुला छाड्ने, फ्लस गर्न बिर्सने, पूजापाठ गर्न अप्ठेरो हुने, खाना पकाउने तरिकामा फरक आउनेजस्ता समस्या आउने हुन्छ । अनि यो रोग बढ्दै जाँदा आफन्तलाई बिर्सने, बाटो बिर्सने, सामान किन्न जाँदा अलमलिने जस्ता समस्या देखिन थाल्छन् ।

यसका प्रमुख लक्षणमाः

क. नयाँ कुरा सम्झन गाह्रो हुने र बारम्बार उही कुरा दोहोर्‍याउने ।

ख. निर्णय लिन नसक्ने। समय र स्थानबारे अन्योल हुने।

ग. व्यक्तित्व वा व्यवहारमा परिवर्तन हुनु ।

कसरी पहिचान गर्ने ?

बिरामी र परिवारसँग विस्तृत इतिहास लिने, स्मरणशक्ति, सोच्ने तथा ध्यानकेन्द्रित गर्ने क्षमता वा अवस्थाको परीक्षण ( कग्निटिभ एसेसमेन्ट) गर्ने, रगत परीक्षण, सीटी तथा एमआरआईमार्फत् मस्तिष्कका कारणहरू नभएको सुनिश्चित गर्ने जस्ता तरिकाबाट यसको पहिचान गर्न सकिन्छ । आवश्यक अवस्थामा सीएसएफ वा रगत परीक्षणबाट एमाइलोड/ताउ प्रोटिनको परीक्षण गर्न सकिन्छ।

के यो उपचारले निको हुन्छ ?

हालसम्म यस रोगलाई पूर्णरूपमा निको पार्ने औषधि उपचार उपलब्ध छैन। तर औषधि र उचित व्यवस्थापनले यस रोगको लक्षण नियन्त्रण गर्न र रोगको प्रगतिलाई केही हदसम्म ढिलो गर्न सकिन्छ।
यसैगरी नियमित व्यायाम, राम्रो निद्रा, मानसिक क्रियाकलाप, सामाजिक सक्रियता र स्वास्थ्यकर आहारले रोगको जोखिम घटाउन र रोगको प्रगति ढिलो बनाउन दुबै भूमिका खेल्छ।

अल्जाइमर्समा खानपान

अल्जाइमर्सका बिरामीलाई सन्तुलित र पौष्टिक खानपानमा जोड दिनुपर्छ। मेडिटेरेनियन डाइट मस्तिष्कको स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। जसमा हरियो सागपात र एन्टिअक्सिडेन्टयुक्त फलफूल, ओलिभ आयल, गहुँ, फापर, ड्राइफ्रुट्स तथा गेडागुडी आदि पर्छन् । धूमपान, मद्यपान, अत्याधिक नुन वा चिनीको सेवन, प्रशोधित खाना र अस्वस्थ्यकर बोसोको सेवन सकेसम्म कम गर्नु उचित हुन्छ।

अल्जाइमर्समा परिवारको भूमिका

यो रोगमा परिवारको भूमिका उपचारजत्तिकै महत्त्वपूर्ण हुन्छ। बिरामीप्रति लचिलो, सहनशील र नम्र व्यवहार गर्नुपर्छ। रिसराग र असभ्य व्यवहार नगर्ने; बिरामीसँग वादविवाद नगर्ने, उनीहरूलाई विश्वस्त पार्ने प्रयास गर्नुहुन्न ।

बिरामीको व्यवहारलाई व्यक्तिगत रूपमा लिनु हुँदैन। साथीभाइ र परिवारको सद्भाव मिल्ने सुरक्षित वातावरण बनाउने, दैनिक गतिविधिमा सहयोग गर्ने, स्मृति बढाउने खालका गतिविधिहरू बढाउनुपर्छ । बारम्बार बिर्सिएको बिषयमा बिरामीलाई दोष दिन नहुने कुरामा परिवारले ध्यान दिनुपर्छ । यसका साथै निर्णय प्रक्रियामा सम्भव भएसम्म सहभागी गराउनुपर्छ । नियमित चिकित्सकीय फलो-अप गराउनु पर्दछ र केयरगिभरले आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको ख्याल गर्नु पनि अत्यन्त आवश्यक छ।

अन्त्यमा, अल्जाइमर्स केवल बिर्सने रोग होइन, यो बिरामी र परिवार दुवैलाई असर गर्ने मस्तिष्कको रोग हो। समयमा पहिचान, उचित उपचार र पारिवारिक सहयोगले जीवनको गुणस्तर सुधार गर्न सकिन्छ।
(डा जलान नर्भिक अस्पतालका मेडिकल डाइरेक्टर तथा कन्सल्टेन्ट न्यूरोलोजिस्ट हुनुहुन्छ)