न्युयोर्क, (एजेन्सी) ।
हरेक वर्षमा हुने चार ग्रान्डस्लाममध्ये चौथो प्रतियोगिता यूएस ओपनका मुख्य उपाधि दावेदारी कार्लोस अल्काराज पराजित भएका छन् । न्युयोर्कस्थित आर्थर एश स्टेडियमको कोर्टमा भएको क्वार्टरफाइनल खेलमा स्पेनका अल्काराज ५ सेटमा पराजित भए । उक्त खेलमा अल्काराजले करिब साढे ४ घण्टा संघर्ष गरेपनि घरेलु खेलाडी बेन शेल्टनसँगको हार टार्न सकेनन् ।
अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ११ बजे सुरु भएको खेल राति ३ बजेर ३४ मिनेटमा सकिएको थियो । यति राति खेल भइरहँदा पनि स्टेडियममा दर्शकको उपस्थित बाक्लो थियो । प्रतिस्पर्धात्मक सो खेल अन्तमा आठौं वरियताका शेल्टनले ६–७, ६–१, ६–३, ६–७, ७–६ (१०–७) ले आफ्नो पक्षमा पारेका थिए ।
शेल्टनले जितपछि बताए–यो युद्ध थियो, ऐतिहासिक खेल पनि थियो । कार्लोस महान विजेतामध्ये एक हुन् । मैले करिअरमा यो जति रमाएको खेल अरु खेलेको थिएन ।
शेल्टनले पूर्व नम्बर एक खेलाडी (हाल तेस्रो नम्बर) अल्काराजलाई हराएको यो पहिलो मौका हो । यसअघिका तीन भेटमा उनी पराजित भएका थिए । यो जितपछि अमेरिकी खेलाडीले पुरुष एकलतर्फ यूएस ओपनमा जित्ने संकेत पनि देखाएका छन् ।
यदि, शेल्टनले यो उपाधि जितेमा २३ वर्षपछि पहिलो पटक अमेरिकी खेलाडी विजेता बन्नेछन् । पछिल्लो पटक २००३ मा एन्डी रोडिकले यूएस ओपनमा उपाधि जितेका थिए । यसपछि भने कोही पनि अमेरिकी पुरुष खेलाडीले यूएस ओपनको ट्रफीमा आफ्नो नाम लेखाउन सकेका छैनन् ।
तर, सेमिफाइनल खेलमा शेल्टनको सामना अमेरिकाकै फ्रान्सेस टियाफोसँग हुने भएको हुँदा २३ वर्षपछि अमेरिकी पुरुष खेलाडी फाइनल पुग्ने पक्का छ । टियाफोले क्वार्टरफाइनल खेलमा अमेरिकाकै खेलाडी एलेक्स मिकेलसेनलाई ५ सेटमा पराजित गरेका थिए ।
विश्व नम्बर तीन अल्काराज भने चार महिनाभन्दा लामो समयपछि नाडीको चोटबाट कोर्टमा फर्केका हुन् । तर, पुनरागमन सुखद नभएपनि उनले हारबाट निरास नभएको बताए । उनले बताए– ‘म मुस्कानसहित कोर्ट छाड्दैछु, यही नै मेरो लागि ठूलो कुरा हो ।’












प्रतिक्रिया