काठमाडौं।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत् क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले हराएर लुम्बिनी लायन्स फाइनलमा पुगेको छ ।
मंगलबार त्रिवि मैदानमा लुम्बिनीले सुदूरपश्चिमले दिएको १ सय ६ रनको सामान्य लक्ष्य १६.४ ओभरमा ४ विकेटको क्षतिमा भेटाएको हो । टोलीका लागि निरोशान डिकेवेल्लाले सर्वाधिक ५६ रन जोडे । टोलीलाई फाइनलमा पु¥याएका श्रीलंकन ब्याटरले ७ चौका र २ छक्का प्रहार गरे । तर, कप्तान रोहित पौडेल भने २१ रन बनाएर आउट भएका थिए ।
यो जितसँगैं साविक विजेता लुम्बिनी लगातार दोस्रोपटक फाइनलमा पुग्यो । गत संस्करणको फाइनलमा सुदूरपश्चिमलाई नै हराएर लुम्बिनीले उपाधि हासिल गरेको थियो । साथै जारी लिगमा यो लुम्बिनीको सुदूरपश्चिममाथि दोस्रो जित पनि हो । यसअघि समूह चरणमा लुम्बिनीले सुदूरपश्चिमलाई हराएको थियो ।
सुदूरपश्चिमको लागि फाइनल पुग्न अर्को एक मौका बाँकी रहेको छ । सुदूरपश्चिमले आज हुने खेलको विजेता टोलीसँग खेल्ने अवसर रहेको हो । यदि, सो खेलमा जितेमा गत संस्करणमा झै यसपटक पनि लुम्बिनी र सुदूरपश्चिमबीच उपाधिको लागि भिडन्त हुनेछ ।
पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सुरुदेखि नै विकेट गुमाउन पुग्दा ठूलो स्कोर बनाउन सकेन । टोलीले निर्धारित २० ओभर खेलेपनि ८ विकेटको क्षतिमा केवल १ सय ५ रन बनाएको थियो । कप्तान दीपेन्द्रसिंह ऐरीले टोलीका लागि सर्वाधिक ५२ रन जोडेका थिए । अन्य खेलाडीमा इशान पाण्डेले २७ रनको योगदान दिए ।
बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन नसक्दा सुदूरपश्चिमको ब्याटिङ चल्न सकेन । यसअघिको खेलमा पनि सुदूरको ब्याटिङ चलेको थिएन । तर, त्यो खेलमा १ सय २६ रन बनाएपनि टोलीले जित हासिल गरेको थियो । यसपटक भने पछिल्लो खेलमा झै भाग्यमानी बन्न सकेन ।
८ रन बन्दा नै ३ महत्वपूर्ण विकेट गुमाएपछि सुदूर दबाबमा परेको थियो । रुबेन ट्रम्पलम्यानले ओपनर जर्ज मुन्सीलाई शून्यमा र थानुका दबारेलाई ३ रनमा आउट गरेका थिए । त्यसपछि अभिशेष गौतमले ३ रन बनाएका विनोद भण्डारीको विकेट लिएपछि सुदूरपश्चिमका लागि ठूलो स्कोरमा पुग्ने लक्ष्य न्युन भएको थियो ।
इशान र दीपेन्द्रले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दा नै टोलीले एक सय रन कटाउन सकेको थियो । इशान रनआउट भएपछि दीपेन्द्रलाई कोही ब्याटरले पनि साथ दिन सकेनन् । आरिफ शेख (४ रन) र थरिन्दु रत्नायके (१ रन) को विकेट शेर मल्लले लिए । यसपछि दबाबमा पनि अर्धशतक प्रहार गरेका दीपेन्द्रले किशोर महतोलाई विकेट दिएर पभेलियन फर्के ।











प्रतिक्रिया