काठमाडौं, (नेस) ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि स्वीकृतिको सैद्धान्तिक सहमति दिएको छ । नेपाली फुटबललाई व्यावसायिक दिशातर्फ अघि बढाउने लक्ष्यसहित एनएफएलको पहिलो संस्करण आगामी फागुन १ गतेदेखि सञ्चालन हुने घोषणा भइसकेको छ ।
एनएफएलको पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको एनएफएलले जनाएको छ । हाल लिगमा काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, धनगढी एफसी र झापा एफसी छन् ।
यसबाहेक एनएफएलले तीन नयाँ क्लब थप्ने प्रक्रिया अघि बढाएको छ । लिगले विराटनगर, धरान, जनकपुर, वीरगञ्ज, हेटौंडा, भक्तपुर, नेपालगञ्ज र सुर्खेतलगायत सहरलाई आफ्नो प्रतिनिधित्व गर्ने फुटबल क्लब स्थापनाका लागि बोलपत्र पेस गर्न आह्वान गरेको थियो ।
नयाँ क्लबका लागि बोलपत्र पेस गर्ने अन्तिम मिति ३० कात्तिक २०८३ तोकिएको थियो । तर, चाडपर्वको बिदालाई मध्यनजर गर्दै इच्छुक पक्षलाई आवश्यक तयारीका लागि थप समय उपलब्ध गराउन बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ४ गतेसम्म पु¥याइएको छ ।
नयाँ क्लबका लागि आवेदन दिन इच्छुक पक्षले आफ्नो व्यावसायिक तथा वित्तीय इतिहास, आगामी १० वर्षको क्लब सञ्चालन योजना र सामाजिक विश्वसनीयतासम्बन्धी विवरण पेस गर्नुपर्नेछ । लिग रंगशालाको उपलब्धताका आधारमा प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने योजना छ । तयारी अवधिसहित एनएफएल करिब चार महिना सञ्चालन हुनेछ ।











प्रतिक्रिया