यमनमा हुथीद्वारा ६०० बन्दी रिहा, मिसाइल आक्रमणमा १७ हताहत


काठमाडौं ।

यमनको हुथी विद्रोही समूहले अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को सहयोगमा ६०० जना बन्दीलाई एकपक्षीय रूपमा रिहा गरेको छ। यसैबीच, दक्षिणी प्रान्त लहजमा विस्थापित परिवार सवार सवारीसाधनलाई लक्षित गरी गरिएको मिसाइल आक्रमणमा कम्तीमा १७ जना हताहत भएका छन्।

हुथी समूहले आइतबार राजधानी सानामा बन्दी रिहा गरेको घोषणा गरेको हो। समूहका बन्दी मामिला समितिका प्रमुख अब्दुल कादेर अल–मुर्तादाका अनुसार यो द्वन्द्व सुरु भएयताकै सबैभन्दा ठूलो एकपक्षीय बन्दी रिहाइ हो।

यता, सरकारी सैन्य स्रोतका अनुसार एडेनबाट करिब ९० किलोमिटर पश्चिममा पर्ने खोर उमाइराहको तटीय क्षेत्रमा मिसाइल आक्रमण भएको थियो। आक्रमणमा मृत्यु हुने र घाइते हुनेको यकिन संख्या भने सार्वजनिक भएको छैन।

हुथी समूहले भने विस्थापित परिवारलाई नभई साउदी अरेबियाको समर्थन प्राप्त सरकारी सेनाको जमघटलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ।

अल–मुर्तादाले बन्दी रिहाइलाई मानवीय विषयका रूपमा लिइएको बताउँदै बन्दी तथा उनीहरूका परिवारको पीडा कम गर्ने उद्देश्यले रिहाइ गरिएको उल्लेख गरेका छन्।

आईसीआरसीले पनि बन्दी रिहाइको पुष्टि गर्दै आफ्ना प्रतिनिधिहरूले प्रत्येक बन्दीसँग छुट्टाछुट्टै अन्तर्वार्ता गरी सम्मानजनक रूपमा घर फर्काउन सहयोग गरेको जनाएको छ। तर कसलाई र कति जनालाई रिहा गर्ने भन्ने निर्णयमा आफ्नो भूमिका नरहेको समितिले स्पष्ट पारेको छ।

यमनमा सन् २०१४ देखि जारी द्वन्द्वका कारण ठूलो मानवीय संकट सिर्जना भएको छ। पछिल्लो समय हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धन समर्थित सरकारी सेनाबीच विभिन्न मोर्चामा सैन्य तनाव पुनः बढ्दै गएको छ।