धनगढी।
कैलाली भन्सार कार्यालय धनगढीबाट पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको वर्चस्व कायमै रहेको छ । आर्थिक वर्ष २०८२-८३ को तथ्याङ्क अनुसार यो नाकाबाट प्रमुख २० वटा वस्तुको आयातमा २१ अर्ब रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार कार्यालयका अनुसार शीर्ष २० वस्तुहरूको कुल आयात मूल्य २१ अर्ब ३ करोड ५ लाख ४५ हजार ३७६ रुपैयाँ पुगेको छ ।
प्रमुख वस्तुहरूको आयातबाट भन्सार कार्यालयले ६ अर्ब ५७ करोड ८८ लाख १४ हजार ९०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कैलाली भन्सारबाट उठ्ने कुल राजस्वमा यी प्रमुख २० वस्तुको मात्रै ७८.३३ प्रतिशत योगदान रहेको छ । भन्सारको राजस्व सङ्कलनमा सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ।
आयातित वस्तुहरूमध्ये सबैभन्दा बढी राजस्व हाई स्पीड डिजेलबाट सङ्कलन भएको छ । ८५ हजार ५२ किलोलिटर डिजेल आयात गर्दा ११ अर्ब ८ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसबाट भन्सारले ३ अर्ब ३८ करोड ६० लाख ७ हजार ३०९ रुपैयाँ राजस्व उठाएको छ । यो कुल राजस्वको ४०.३२ प्रतिशत हो। दोस्रो स्थानमा रहेको पेट्रोल ३१ हजार ८७६ किलोलिटर भित्रिँदा १ अर्ब ६५ करोड ७० लाख ५९ हजार ६२० रुपैयाँ राजस्व प्राप्त भएको छ। त्यसैगरी, १ करोड ६४ लाख ३९ हजार किलो खाना पकाउने ग्यास (एलपीजी) आयातबाट ३४ करोड ८२ लाख ३५ हजार ६६८ रुपैयाँ र ३ हजार ६० किलोलिटर हवाई इन्धनबाट ५ करोड ५३ लाख ३२ हजार ९४० रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
पेट्रोलियम पदार्थबाहेक व्यावसायिक तथा औद्योगिक कच्चा पदार्थको आयात पनि उल्लेख्य रहेको छ । १ करोड २९ लाख ६५ हजार किलो कागज तथा पेपरबोर्ड आयातबाट ३६ करोड ९८ लाख ६१ हजार १३८ रुपैयाँ राजस्व उठेको छ । ३४ लाख ९० हजार किलो अलकत्रा (बिटुमिन) आयातबाट ८ करोड ७७ लाख ८७ हजार ५६६ रुपैयाँ, ५ हजार ५७८ वटा सवारी साधनका टायरबाट ४ करोड ४३ लाख २४ हजार १३५ रुपैयाँ, १ लाख २१ हजार वर्गमिटर सिरामिक्स टायलबाट ३ करोड ६४ लाख ४३ हजार १४६ रुपैयाँ र १८ लाख ४८ हजार किलो ग्रेनाइटबाट ३ करोड ४६ लाख ९६ हजार १८२ रुपैयाँ राजस्व असुली भएको छ।
सुदूरपश्चिम नाकाबाट दैनिक उपभोग्य खाद्यान्न तथा कृषिजन्य उपजको आयात पनि उच्च देखिएको छ । भन्सार तथ्याङ्क अनुसार १ करोड ९४ लाख ३१ हजार किलो ताजा आलु आयात गर्दा ४ करोड २८ लाख ४९ हजार ३९९ रुपैयाँ र ७० लाख ३२ हजार किलो प्याज आयात गर्दा २ करोड ५७ लाख ५४ हजार १५० रुपैयाँ राजस्व सङ्कलन भएको छ। यस्तै, ७५ लाख ५ हजार किलो चामलबाट ४ करोड १३ लाख ६ हजार ३२५ रुपैयाँ, २१ लाख १४ हजार किलो चिनीबाट ४ करोड २९ लाख ४९ हजार ७३० रुपैयाँ र ४६ लाख ५८ हजार किलो तोरीको बिउबाट ७ करोड ३९ लाख ८६ हजार २३८ रुपैयाँ राजस्व प्राप्त भएको छ।
खाद्यान्नसँगै तयारी खाजा तथा प्याक गरिएका परिकारको आयातले पनि ठूलो रकम बाहिर्याएको छ । ६ लाख २७ हजार किलो दालमोठ, पापड, भुजिया लगायतका तयारी खाजा आयातबाट १० करोड ५२ लाख ३५ हजार ९६९ रुपैयाँ राजस्व असुली भएको छ । ३० हजार ४१ किलो फूड सप्लिमेन्टबाट ९ करोड ९ लाख ६ हजार ९८५ रुपैयाँ, १ लाख ९० हजार किलो अन्य बेकरीजन्य उत्पादनबाट ५ करोड १४ लाख ८८ हजार ८८९ रुपैयाँ, ३ लाख १४ हजार किलो पास्ता तथा चाउचाउबाट २ करोड ६२ लाख ४८ हजार ७३९ रुपैयाँ र ४२ लाख ६१ हजार किलो भटमासको पिनाबाट २ करोड ९० लाख ६१ हजार ९०६ रुपैयाँ राजस्व सङ्कलन भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी प्रकाश तिमिल्सेनाले जानकारी दिनुभयो ।
देशको ठूलो धनराशि आयातमा बाहिरिएपछि यसलाई रोक्न र स्वदेशी उत्पादन बढाउन सबै क्षेत्रको समन्वयकारी भूमिका हुनुपर्नेमा नागरिक अगुवाह्ररुको जोड छ । सुदूरपश्चिमका नागरिक अगुवा प्रमोद पाठकले भन्सारको राजस्व सङ्कलन बढेको देखेर रमाउनुभन्दा आयात घटाई उत्पादन बढाउने रणनीतिमा लाग्नुपर्ने बताउनुभयो । आफ्नै उर्वर भूमि बाँझो राखेर सामान्य खाद्यान्नमा समेत अर्बौँ रुपैयाँ बाहिरिनु गम्भीर विषय भएको बताउँदै प्रमुख शिवहरी मुडभरीले स्वदेशी उत्पादनको प्रयोगका लागि अभियान चलाउनुपर्ने बताउनुभयो ।उनको भनाइ छ।
स्थानीय व्यवसायी तथा कृषक केशव कुँवरले भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा स्थानीय उपजले बजार पाउन छाडेको गुनासो गर्नुभयो । आयात प्रतिस्थापन गर्न सरकारले शीतभण्डारको निर्माण, मल तथा बिउमा अनुदान र स्थानीय उत्पादनको बजार ग्यारेन्टी गरिदिनुपर्ने उहाँको भनाई छ ।
यसका साथै, आयात रोक्न सरकारले इन्धनको खपत घटाउन विद्युतीय सवारी र चुलोको प्रयोगलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्ने देखिन्छ । अर्कोतर्फ, व्यापारीहरूले पनि अल्पकालीन नाफाका लागि विदेशी सामान आयात गर्नुको सट्टा स्थानीय किसानसँग सहकार्य गरी स्वदेशी कृषि तथा घरेलु उत्पादनको बजारीकरणमा ध्यान दिनुपर्ने र उपभोक्ताले पनि आफ्नै ठाउँमा उत्पादित वस्तु खरिद गर्ने बानी बसाल्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।











प्रतिक्रिया