नेपाल जनप्रशासन संघले बहालवाला निजामती कर्मचारीमध्येबाट वर्षभरिको उत्कृष्ट निजामती कर्मचारीलाई उत्कृष्ट राष्ट्रसेवक सम्मान प्रदान गर्ने कार्यको थालनी गरेको छ ।
२०८१ सालमा पहिलोपटक यो सम्मान देवदह नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पदमा कार्यरत कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको छ । संघका निवर्तमान अध्यक्ष एवं यसै पंक्तिकारलाई नेपाल सरकारले आ.व. २०६९÷७० मा उत्कृष्ट निजामती कर्मचारी पुरस्कारस्वरूप एक लाख रुपियाँ प्रदान गरेको थियो ।
सोही रकमलाई संघको अक्षय कोषमा बीउ पुँजीका रुपमा राखीे यो सम्मान स्थापना गरिएको हो । यस कोषमा संघका अर्का निवर्तमान अध्यक्ष एवं पूर्वमन्त्री विद्याधर मल्लिकले पनि २५ हजार रुपियाँ योगदान गर्नुभएको छ ।
नेपाल जनप्रशासन संघले निजामती सेवामा रही वर्षभरिमा उत्कृष्ट काम गर्ने राष्ट्रसेवकलाई प्रोत्साहन, सम्मान र थप उत्प्रेरित गर्ने ध्येयले यसको पहल गरिएको हो । संघले पान सिभिल सर्भेन्ट अफ दी इयर अवार्ड प्रदान गर्न विशेष कार्यविधि सार्वजनिक गरेको छ । यस कार्यविधिमा यो सम्मान प्रदान गर्ने मूलतः दुईवटा आधार निर्माण गरिएको छ ।
जसअनुसार पहिलो, सार्वजनिक सेवा, नवीन आविष्कारका क्षेत्रहरू र जनसरोकारका क्षेत्रहरूमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट योगदान पु¥याएको बहालवाला निजामती कर्मचारी हुनुपर्नेछ । दोस्रो, सार्वजनिक प्रशासनको क्षेत्रमा संगठित सुशासनका लागि सदाचारमा रही अनुभूतियोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यवस्थापन वा सुशासनका लागि उत्कृष्ट योगदान पु¥याएको बहालवाला निजामती कर्मचारी हुनुपर्नेछ ।
नेपाल जनप्रशासन संघले उत्कृष्ट वर्ष राष्ट्रसेवकको छनौट गर्न आप्mनो कार्यविधिमा एक सिफारिस समिति गठनको व्यवस्था गरेको छ । जसअनुसार, २०८१ सालको सम्मान प्रदान गर्न संघका तत्कालीन निवर्तमान अध्यक्ष (आईपीपी) अर्थात् यसै पंक्तिकार पदेन संयोजक रहेको थियो । यस समितिमा संघका अध्यक्ष एवं पूर्वसचिव तथा पूर्वराजदूत मधुरमण आचार्य पदेन सदस्य रहनुभएको थियो । कार्यविधिअनुसार संघका निवर्तमान अध्यक्षद्वय सदस्य रहनुभएको थियो । जसमा पूर्वसचिव कृष्ण ज्ञवाली र सुशासनविद् डा. हीरामणि घिमिरे हुनुहुन्थ्यो ।
यस अतिरिक्त छनौट समितिमा संघका अर्का निवर्तमान अध्यक्ष विद्याधर मल्लिक आमन्त्रित सदस्य हुनुहुन्थ्यो । संघका महासचिव डा. दिलीपराज पौडेलले छनौंट समितिको सदस्य सचिवको भूमिका निर्वाह गर्नुभएको थियो । २०८१ सालका लागि निजामती सेवाको उत्कृष्ट राष्ट्रसेवक छनौंट गर्न सिफारिस समितिले मूलतः कार्यक्षमता, सदाचारिता र जनप्रियताको मापदण्डलाई उच्च प्राथमिकतामा राखेको थियो ।
सार्वजनिकरुपमा सिफारिस पठाउन आह्वान गर्नुका साथै सम्बद्ध निकाय र पदाधिकारी एवं यस क्षेत्रका लव्ध प्रतिष्ठित व्यक्तिहरुसँग सिफारिश समितिले औपचारिक र अनौपचारिकरुपमा सुझाव हासिल गरेको थियो । नेपाल जनप्रशासन संघले प्रत्येक वर्ष उत्कृष्ट निजामती कर्मचारीलाई यो सम्मान प्रदान गर्नेछ । यसमा सम्मानित व्यक्तिमा सम्मानपत्र र दोसल्ला अर्णप गरिनेछ । यो सम्मान संघले आफ्नो वार्षिक साधारणसभामा अर्पण गर्नेछ । यसै बमोजिम २०८१ सालको सम्मान कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको हो ।
२०८१ सालको पान उत्कृष्ट राष्ट्रसेवक सम्मान प्रदान गर्न गठित सिफारिस समितिको पटक–पटक बैठक बसी मापदण्ड निर्माण र मूलतः कार्यविधिको व्यवस्थाअनुसार सम्मानका लागि सिफारिस गरिएको थियो ।
जसअनुसार, सार्वजनिक सेवा, नवीन आविष्कारका क्षेत्रहरू र जनसरोकारका क्षेत्रहरूमा कुशल संस्थागत नेतृत्व प्रदान गरी उत्कृष्ट योगदान पु¥याएको तथा सार्वजनिक प्रशासनको क्षेत्रमा संगठित सुशासनका लागि सदाचारमा रही अनुभूतियोग्य वा उदाहरणीय कार्यसम्पादन गरी सार्वजनिक प्रशासन, व्यवस्थापन वा सुशासनका लागि उत्कृष्ट योगदान पु¥याएको निजामती कर्मचारीको विभिन्न स्रोत र सूचनाको आधारमा खोजी गरिएको थियो । यसरी सिफारिसका लागि उपयुक्त पात्रको पहिचान गर्ने प्रयोजनका लागि तटस्थता र निष्पक्षताको नीति अवलम्बन गरिएको थियो ।
नेपाल जनप्रशासन संघले स्थापना गरेको निजामती सेवाको उत्कृष्ट राष्ट्रसेवक छनौंटका लागि २०८१ सालका लागि सिफारिस समितिले सम्भावित व्यक्तिहरुको नामावलीसहितको सूची निर्माण गरेको थियो । यसरी तयार गरिएको सूचीमा परेका नामावलीमाथि व्यापक छलफल गरी नेपाल सरकारका उपसचिव, हाल देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तिलोत्तमा नगरपालिकालगायत घोराही, सन्धिखर्क, मलंगवा, वाणगंगा, कीर्तिपुर र बर्दघाट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत भई निर्वाह गरेको अनुकरणीय भूमिकाका लागि यो सम्मान प्रदान गर्न सिफारिस गरिएको थियो ।
२०८१ सालको पान निजामती उत्कृष्ट राष्ट्रसेवकको सम्मान पाउने निज सापकोटाले आफ्नो झन्डै दुई दशक लामो निजामती सेवाको अधिकांश कालखण्डमा स्थानीय तहमा बसी जनताको निकट रहेर सेवाप्रवाह गर्नुभएको छ । संघीय तहमा रहँदा स्थानीय विकास, संघीय मामिला, सामान्य प्रशासन, सहकारी र प्रधानमन्त्री कार्यालयमा उहाँले सेवा गर्नुभएको थियो । यी केन्द्रका अनुभव सँगालेका सापकोटाले आफ्नो रोजाइको कार्यक्षेत्र मूलतः भुइँ तहलाई नै बनाउनुभयो ।
मुलुक संघीयतामा प्रवेश गर्नुपूर्व होस् वा गरेपश्चात्, उहाँको कार्य–अनुभव जिल्ला र स्थानीय तहकै सेरोफेरोमा रमाइरह्यो । उहाँले स्थानीय तहको प्रशासकीय नेतृत्वमा रहँदा सेवाप्रवाहका क्षेत्रमा गरेका र गर्न चाहेका राम्रा कामहरुको सुमधुर सम्झना त्यहाँका सेवाग्राही र सरोकारवालाहरुले सधैँ गरेको सुनिएको छ । केन्द्रीकृत शासकीय मनोवृत्ति र केन्द्रकेन्द्रित सुविधामुखी प्रवृत्तिलाई चिर्दै तृणमूल तहका सेवाग्राहीको सन्तुष्टिमै आफ्नो पारितोषिक फेला पार्ने सापकोटाको यो अनुकरणीय मनोबल सबै राष्ट्रसेवकका लागि उत्प्रेरक बन्नेछ भन्ने अपेक्षासहित नेपाल जनप्रशासन संघले उहाँलाई यो सम्मान दिएको कुरा प्रमाणपत्रमा मुद्रित गरिएको छ ।
यसरी, नेपाल जनप्रशासन संघले प्रत्येक वर्ष उत्कृष्ट निजामती कर्मचारीको पहिचान गर्ने अभियान आरम्भ गरेको छ । वर्तमान परिवेशमा सार्वजनिक पदमा रहेकाहरुलाई उत्प्रेरित गर्ने, उनीहरुले गरेका असल कामको प्रशंसा गर्ने र राम्रो काम गर्न हौसला प्रदान गर्ने सकारात्मक सोचका साथ यो अभियान आरम्भ गरिएको हो । निजामती सेवा नियमावलीको नियम ११६ क मा निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ ।
जसमा प्रत्येक वर्षको निजामती सेवा दिवसको अवसरमा एकजनालाई रु. २ लाखको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिनेछ । यसै गरी, १० जनालाई प्रतिव्यक्ति रु. १ लाखका दरले उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने कानुनी व्यवस्था छ । यस अतिरिक्त, ३० जनालाई प्रतिव्यक्ति रु. ५० हजारका दरले निजामती सेवा पुरस्कार दिने व्यवस्था छ । यसका लागि मुख्यसचिवको अध्यक्षतामा कानुन सचिव र एकजना तोकिएका सचिव, एकजना सेवा निवृत्त सचिव र सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य सचिव रहने गरी ५ सदस्यीय सिफारिस समिति रहने व्यवस्था छ । यसरी कानुनमै सर्वाेत्कृष्ट निजामती सेवा पुरस्कारको व्यवस्था गरिए पनि केही वर्षदेखि यो पुरस्कारको घोषणा गर्न सकिएको छैन ।
निजामती सेवा नियमावलीमा सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार पाउन केही आधारहरु तोकिएका छन् । जसमा पहिलो, सो पुरस्कार पाउने व्यक्ति निजामती सेवामा कम्तीमा १५ वर्ष सेवा अवधि पूरा गरेको हुनुपर्छ । दोस्रो, पछिल्लो पाँच वर्षमा सो कर्मचारीले कार्यसम्पादन मूल्यांकनमा शतप्रतिशत अंक हासिल गरेको हुनुपर्छ । तेस्रो, निज कर्मचारीले पछिल्लो १५ वर्षमा कुनै पनि प्रकारको विभागीय सजाय भोगेको हुनुहुँदैन ।
चौथो, यसरी पुरस्कृत हुने कर्मचारीको नाममा कुनै पनि प्रकारको बेरुजु कायम भएको हुनुहुँदैन । पाचौं, निजले नियमितरुपमा कानुनले तोकेअनुसार आप्mनो सम्पत्ति विवरण बुझाइरहेको हुनुपर्छ । छैटौं, असाधारण बिदा लिएको भए सो अवधि व्यतित गरी विगत २ वर्षदेखि सेवामा निरन्तर काम गरिरहेको हुनुपर्छ । सातौं, अघिल्लो दुई वर्ष अध्ययन बिदा नलिएको हुनुपर्छ ।
आठौं, पछिल्लो पाँच वर्षमा गयल कट्टी भएको हुनुहुँदैन । नवौं, निज कर्मचारीको नाममा प्रशासनिक बेरुजु देखिएको हुनुहुँदैन । दशौं, प्रचलित कानुनबमोजिम बरबुझारथ गरेको हुनुपर्छ । यसरी कानुनमा १० वटा आधार तोकिएका छन् । यी ठीकै छन् । तर, निजामती सेवामा अनुभव नभएकाले हेर्दा निकै कठिन सर्त वा मापदण्ड तोकिएझैँ देखिन पनि सक्छ । यथार्थमा, १५ वर्ष सेवा अवधि पुगेको हुनुपर्ने आधारबाहेक अन्य आधार सामान्यतः जुनसुकै कर्मचारीको पनि पुगेको हुन्छ । १५ वर्षको सेवा अवधि पुगेको समेत सबै १० वटा आधार पुग्ने निजामती कर्मचारी हजारौंको संख्यामा छन् । तथापि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिने कर्मचारी फेला नपर्नु स्वयंमा विडम्बनाको विषय हो ।
हरेक पेसामा रहेका मानिसको गुण र दोष हुन्छ नै । तुलनात्मकरुपमा दोष कम भएका र गुण बढी भएकालाई राम्रो पेसाविद् मान्नुपर्छ । यस अर्थमा निजामती सेवाभित्र थुप्रै इमानदार, सदाचारी, कर्तव्यनिष्ठ र परिवर्तनका बाहक कर्मचारी उपलव्ध छन् । मुलुकमा राजनीतिक तरलता विद्यमान भइरहे पनि मुलुकको राज्य प्रणाली यथावत् सञ्चालन भइरहनुमा निजामती कर्मचारीको ठूलो योगदान छ । मुलुकमा कानुन निर्माणका लागि सूचना संग्रह गर्न, विदेशीसँग वार्ता गर्न, शान्तिसुरक्षा कायम गर्न, अन्तर्राष्ट्रिय सिमानाको रक्षा गर्न, राजस्व संकलन गर्न, मुलुकभित्र पूर्वाधार निर्माण गर्न निजामती कर्मचारीले अहम् भूमिका निर्वाह गरिआएका छन् ।
मुलुकको स्थायी सरकारको पर्याय नै निजामती सेवा हो । यसो भन्दैमा मुलुकी प्रशासनभित्र रहेका सेना, प्रहरी, अदालतलगायतको सामूहिक भूमिकालाई बिर्सन सकिन्न । विधिको शासनमा निजामती सेवा परिचालित हुन्छ । यो सेवा राजनीतिकरुपमा तटस्थ हुने गर्दछ । यो सेवामा रहेका कर्मचारीले राज्यको एक प्रकारले थिंक ट्यांकको भूमिका पनि निर्वाह गर्दछन् ।
यी सबै कारण र तथ्यलाई आत्मसात् गरी निजामती सेवालाई सदैव उत्प्रेरित र उच्च मनोबलका साथ सञ्चालन गर्नुपर्छ । यसका लागि कानुनले निर्धारण गरेअनुसार बर्सेनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गर्नुपर्छ । यसै क्रममा नेपाल जनप्रशासन संघद्वारा स्थापित पान उत्कृष्ट निजामती राष्ट्रसेवक सम्मानले पनि निजामती कर्मचारीको साख उच्चो गर्न सघाउने विश्वास गरिएको छ ।
प्रतिक्रिया